करफोक खेलमैदानको स्तरोन्नति शुरू

  सरलपाटी संवाददाता

 823 पटक हेरिएको


जिल्लामा खेलमैदानको अभाव भएपछि सूर्योदय नगरपालिकास्थित करफोक खेलमैदानको स्तरोन्नतिको काम शुरू गरिएको छ । अखिल नेपाल फूटबल संघ एन्फाले यसवर्ष इलामका लागि छुट्याएको दश लाख रूपैयाँ बजेटबाट स्तरोन्नत्तिको काम शुरू गरिएको हो । खेलमैदानको उत्तरपट्टिको भागलाई कटान गरेर फूटबलका लागि ‘लेभेन साइड’ को मैदान तयार गर्न थालिएको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले बताए ।
‘जिल्लामा खेलमैदानको आवश्यकता बढी भएकाले करफोक खेलमैदानको स्तरोन्नति सँगै यस मैदानलाई तालिम केन्द्रका रूपम ावकास गर्न एन्फा र फिफासँग कुरा भइरहेको छ’ खड्गीले भने ‘सूर्योदय नगरपालिका र करफोक विद्यामन्दिर सँग पनि २० वर्षका लागि जिल्ला फूटबल सँग र एन्फालाई खेलमैदान लिजमा दिने विषयमा छलफल भइरहेको छ, नगरपालिका र विद्यालय दुवै यो विषयमा सकारातमक छन् ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूलाई सहभागी गराउन अभ्यासका लागि यो मैदान विकास गरिने केन्द्रीय सदस्य खड्गी बताउँछन् ।
जिल्लामा रहेको एकमात्र ठूलो खेलमैदान सदरमुकामस्थित ठूलो टुडीखेलमाथि नेपाली सेनाको स्वामित्त भएपछि जिल्लामा खेलाडीलाई अभ्यास गर्न र राम्रा खेलाडी उत्पादन गर्न समस्या भइरहेको खड्गीको भनाइ छ । ‘यो पटक २०१९ मा इलामलाई फिफाले ५० हजार डलर उपलब्ध गराउँने भएको छ । सोही रकमबाट करफोक खेलमैदानलाई विकास गर्ने योजना छ,’ खड्गी भन्छन् ‘सूर्योदय नगरपालिका र प्रदेश सरकार मार्फत पनि बजेट छुट्टिएको छ ।’
उक्त खेलमैदानका लागि प्रदेशसभा सदस्य काजीमान कागतेको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत दश लाख रूपैयाँ छुट्याइएको छ । यस्तै सूर्योदय नगरपालिकाले पनि मैदानको स्तरोन्नतिका निम्ति दशलाख रूपैयाँ खर्च गर्ने भएको जनाइएको छ । करफोक खेलमैदानमा गतवर्ष देखि नगरपालिकाले मेयर कप फूटबल प्रतियोगिता आयोजना गर्न थालेको थियो । नगरपालिकाले करफोक सँगै अर्को पनि खेलमैदान निर्माणको प्रक्रिया शुरू गरेको छ ।
नगरपालिका– ८ कजेनीमा दाताहरूबाट प्राप्त २० रोपनी जमिनमा रङ्गशाला समेत रहने गरि खेलमैदानको सम्भाव्यता अध्ययन थालेको नगरका आर्थिक समिति संयोजक देवेन्द्र आचार्यले जानकारी दिए । उनले भने ‘करफोकको खेलमैदान पछि कजेनीमा पनि सम्भाव्यता अध्यययन शुरू गरिएको छ । यसबाहेक खेल क्षेत्रको विकासका लागि नगरपालिकाले अन्तर्राष्ट्रिय क्रिकेट खेलमैदानको अवधारणा अघि सारेको छ ।’
यता करफोक खेलमैदानलाई भने विकास गर्न सक्दा चिसो स्थानमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास गराइने राम्रो मैदान हुने एन्फा केन्द्रीय सदस्य खड्गी बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार