तिनघरे साखेजुङ गोल्डकपको फाइनलमा

खेल

  सरलपाटी सम्वाददाता

 807 पटक हेरिएको

इलाम । सूर्योदय नगरपालिकाको तिनघरे युवा क्लब (टिवाइसी) यहाँ जारी साखेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा इलामकै फुङ्वा युवा क्लब (पिवाइसी)लाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै तिनघरे फाइनल प्रवेश गरेको हो ।निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी गरेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

खेलमा पिवाइसीका खमिर गिल्सन कन्दङ्वाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा टिवाइसीका लेकल याल्मूले गोल गर्दै उत्कृष्ट पुनरागमन गराउँदै बराबरी गर्न पुगे ।निर्णयका लागि लिइएको टाइब्रेकरमा पिवाइसीको पहिलो प्रहारमा बासुदेव राई असफल भए । त्यसपछि विवेक मगर, स्वस्तिक राई र युवराज बागदासको प्रहार गोलमा परिणत भए पनि जीतका लागि सम्भव भएन ।

फाइनल प्रवेश गरेको टिवाइसीका लागि कप्तान रविन राई, सौभाग्य लिम्बू, अभिषेक खड्का, शेखर राई र प्रज्वल राईको प्रहार गोलमा परिणत भएको थियो । खेलमा कम व्याक गराएका लेकल याल्मू म्यान अफ दी म्याच घोषितहुँदै नगद पुरस्कार पाउन सफल भए । बुधबार रेडहर्ष एफसी इलामले बिब्ल्याँटेको हेलिबोथ एफसीसँग अन्तिम सेमिफाइनल खेल्नेछ । साखेजुङ फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार १११ पाउँदा उपविजेताले नगद ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक इलाम नगरपालिका १ नम्बर वडा कार्यालय रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार