असारे बजेट खर्च रोकिएनः समिक्षा बैठक

  सरलपाटी सम्वाददाता

 280 पटक हेरिएको

इलाम।जिल्लामा वर्ष भरि गरिने विकास निर्माण र सञ्चालन हुने विभिन्न कार्यक्रमहरुको वार्षिक समिक्षा बैठक इलाममा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति इलामले आयोजना गरेको बैठकमा जिल्लास्थित पालिकाहरु, सरकारी कार्यालय तथा गैरसकारी संस्थाहरुले अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका र चालू आर्थिक वर्षमा गरिने कामको विस्तृत कार्यक्रम प्रस्तुत गरेका छन् ।

बैंठकमा सहभागीहरुले मेची राजमार्ग अन्तर्गत पर्ने हर्कटे–कन्याम–फिक्कल सडक खण्ड र माइखोला स्थित राजदुवाली गोलाखर्क भज्ञ्याङ खडक खण्डमा वर्षेनी बजेट बगिरहेको यसको दीर्घ कालिन समाधानको खाँचो रहेको आवश्यक्ता औंल्याएका छन् ।

बैठकका सहभागी जनप्रतिनिधिहरुले जहाँ सुकै पनि बजेट सक्नै पर्ने परिपाटीले गर्दा असारमा गरिएको हतार–हतारको निर्माणको काम एक महिना नबित्दै काम नलाग्ने भएको बताएका थिए । बैठकमा सहभागी सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरि लुङ्गेलीले वर्षभरि काम नगरिने र जब जेठ–असार महिना शुरु हुन्छ अनिमात्र सडकको स्तरोन्नति, कालोपत्रे जस्ता काम गर्दा वर्षाको पानीले केही दिनमै काम नलाग्ने बनाएको बताउनु भयो ।

जिसस प्रमुख जयप्रकाश राईको अध्यक्षतामा भएको बैठकमा सबै पालिका र कार्यालयहरुले आफ्नो आर्थिक प्रगति बेरुजु र फस्र्छौटका विषय समेत प्रस्तुत गरेका थिए । बैठकमा सहभागी माङ्सेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्वाङले सडक देखि हरेक पूर्वाधारका कामलाई तोकिएको भन्दा कम मुल्यमा ठेक्का लगाउनु पर्ने बाध्यताले निर्माणका सबै काममा गुणस्तर कामय हुन्छ भन्ने अवस्था नभएको बताउनु भयो । ‘तोकिएको भन्दा कम रकममा ठेक्का लगाउनु, ठेकेदारले पनि नाफामै काम गर्नुपर्नै बाध्यताले कुनै पनि निर्माणको काम गुणस्तरीय हुन्छ भन्न सकिन्न, यसकालागि नीतिनै परिवर्तन गर्न आवश्यक छ ।’ नेम्वाङले भन्नुभयो ।

बैठकमा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालले नीजि वन धेरै भएको र त्यो वन काट्न रोक लगाउन नमिल्ने कारण गाउँमा सडक, खानेपानी र पहिरोको समस्या बढी भएको बताउनु भयो । ‘गोलिया बिक्री तीब्र गतिमा छ, जंगलको गोलिया तान्न जथाभावी सडक खन्ने क्रमले पानीका मुहान सुक्ने देखि पहिरोको जोखिम धेरै भएको छ ।’ खनालले भन्नुभयो ।
बैठकमा संघीय, प्रदेश र स्थानीय तह बीच समन्वय गरेरमात्र पालिकाहरुमा योजना सञ्चालन गर्न सुझाव दिइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार