
इलाम । साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले सुरुवाती दुबै सेटमा सहज जित निकालेको थियो । तर तेस्रो सेटमा गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ २५–२१ ले हराएको थियो । चौथो सेटमा गण्डकी २५–१९ ले पराजित हुन पुग्यो । आर्मी समूह ‘ए’ बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । आर्मी ३ खेलमा ३ मा जितसहित ७ अंकका साथ सेटको आधारमा शीर्ष स्थानमा रह्यो ।
शुक्रबारै भएको दोस्रो खेलमा गौरादह नगर खेलकुद विकास समितिले विमान ट्रेडर्स विमार्तामोडलाई वाक ओभर दिएसँगै सेमिफाइनलको समिकरण पूरा भएको छ । योसँगै विमान ट्रेडर्स विर्तामोड समूह ‘ए’ को उप विजेता बनेको छ । विमान ३ खेलमा २ मा जित र १ मा हार सहित ७ अंकका दोस्रो स्थानमा रह्यो । ३ खेलमा नै विजयी भएको आर्मी समान ७ अंक जोडेर शीर्षस्थानमा रह्यो गण्डकी ३ अंकका साथ तेस्रो स्थानमा रहदै बाहिरियो ।
गौरादह १ अंकका साथ बाहिरिएको छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो भने दमक अंक विहिन हुन पुगेको छ । शनिबार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता आर्मी र समूह बी को उप विजेता पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेता बिमान ट्रेडर्स बीच प्रतिस्पर्धा हुनेछ ।
चैत्र ८ गते सम्पन्न हुने प्रतियोगितामा ७ टोलीको सहभागिता रहेको थियो । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले दुई लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले एक लाख एकहजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।


455 पटक हेरिएको 






