
इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पहिलो दिन गण्डकी प्रदेश, आर्मी र एपिएफ विजयी भएका छन् । बुधबार इलामको इलाम सदरमुकाम स्थित ठूलो टुडिखेलमा भएको प्रतियोगीतामा त्रिभुवन आर्मी क्लव, ससस्त्र प्रहरी बल र गण्डकी प्रदेश विजयी भएका हुन् ।
पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले विमान ट्रेडर्स विर्तामोडलाई २५–१७, १८–२५, २५–१८, २१–२५ र १५ – ८ ले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच त्रिभूवन आर्मीका मान बहादुर श्रेष्ठ घोषित भए ।
यस्तै दोस्रो खेलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लवलाई पराजित गरेको छ । जसमा सशस्त्र प्रहरी बलले २६–२४, २५–२२, १८–२५, १६–२५ र १५–१० ले नेपाल पुलिसलाई हराएको हो ।
दोस्रो खेलको म्यान अफ दी म्याच शसस्त्र प्रहरी बलका लोकेन्द्र गिरी भएको आयोजकले जनाएको छ । त्यस्तै तेस्रो खेलमा गण्डकी प्रदेशले सोझो सेटमा गौरादह नगर खेलकुद विकास समितिलाई पराजित गरेको छ ।
गण्डकी प्रदेशले २६–२४, २५–२१ र २५–२१ ले सोझो सेटमै पराजित गरेको हो । तेस्रो खेलको म्यान अफ दी म्याच गण्डकी प्रदेशका घनश्याम चौधरी भएका छन् । जिल्ला भलिबल संघ इलामको आयोजनामा भएको भलिबल प्रतियोगितामा सात टिमले सहभागिता जनाएका छन् ।
सहभागी हुनेहरुमा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मि क्लव, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड र दमक नगर भलिवल क्लव रहेका छन् ।
प्रतियोगिताका सहभागीलाई प्रथम पुरस्कार दुई लाख एक हजार र द्धितिय पुरस्कार एक लाख एक हजार रुपैँया साथै ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिने जिल्ला भलिवल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिए ।
बाँकी अन्य विभिन्न सात विधामा भने ४५ हजार रुपैँया बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा खेल हुनेछन् ।


587 पटक हेरिएको 






