लिपेर शरीर भरि
हरियो बैँस
तिमीले मलाई
आफ्नो आयु मान्यौ
टाँसेर सौभाग्य निधारमा
मेरै आरोग्यको भिक्षा माग्यौ,
केही दिन सकिन मैले
लाग्दो साउनको शुरूवातमा
मन भरि उर्लिएको
मायाको साउने भेल बगाइदिएको छु
खुल्ला राख्नु मन
भरिदिनु मुटु मायाको भेलले
र सुर्केनोले बाँधिदिनु
सक्छौ भने,
बगाइदिनु तिमीले पनि उस्तै माया
साउनको कमेरे पानीमै भए पनि,
म नदीको सीमान्त कीनारमा उभिएर
तिम्रै प्रेमको
चुलवुले माछा पक्रिन बसेको छु ।।


568 पटक हेरिएको 









