घरि पसिनाले निथ्रुक्क भिज्नु
घरि हिउँमा चिसिएर लुगलुग काम्नु
कुल्चिएर बिहानको अल्छिलाई
मेसिनसङग म्याराथुन दौडाउनु
भनेको आमालाई सम्झिनु हो
र त ओकल्छ यी ओठले
थाकेको बेला, दुखेको बेला
ऐए्या आमा !
कति बगे बगे नियाग्राफल भएर
निधारबाट आमाको पसिना
भिज्यो चौबन्दी चोली
सुकाएर संघर्षकै घाममा बनिन् सुकिली मुकिली
फुर्सद थियो कि थिएन सास फेर्न आमालाई
धन्न हावाले अक्सिजन फालिरहन्थ्यो
भोकाएर खुकुलो भएको पटुकीको बाँध
झन् कसिदिँदा
उक्सिएर आएको हो ग्यास्टाईटिक हिरो
तेसपछि पो बल्ल देखिन्थ्यो
बारीभरि हरियो मकैरकोदो
खेतभरि लहलह सुनका बाला
अनि हामी सहकालका लालाबाला
लाग्थ्यो,
घरको कचिया, कोदालो
आमाका नीजि सम्पती हुन्
जस्ले जन्मदै बोकेर आईन् दाईजोको रुपमा
आमालाई देखेर रमाउने गोठ, गाई
कराउने सिगारी बाख्रा
डुँड उधिन्ने माउ सुँगुर
र चिल्लिली कराउने कुखुराका चल्लाहरु
सबै सबै आमाका व्यक्तिगत जिम्मेवारी हुन्
जोहरुको भोकतिर्खा ठिकठिक समयमा
आमाले हेर्नुपर्छ
जसरी हस्पिटलमा नर्सले बिरामीलाई औषधि दिलाउँछिन्
हामी सन्तानहरु मात्रै बाबाको भयौँ
सन्तान लालनपालन र हुर्काउने काम
सब आमाको भयो
तेतिबेला नदेखेको आमाको दुखरसंघर्ष
अहिले प्रत्यक्ष अनुभुत गरिरहेको छु
जहाँ म आज
अठार घण्टा काम
र छ घण्टा आरामको जीवन बाँचिरहेको छु ।
शकुन आँसु
खोटाङ , हाल दक्षिण कोरिया ।