गजल

नेपाल रुन्छ माटो खोज्दै निद्रा छैन आजभोलि
हिमाल रुन्छ बाटो खोज्दै निद्रा छैन आजभोलि,

बाँसुरीको मृदुल धुनले मन बुझाउँदा उता भने
मादल रुन्छ साटो खोज्दै निद्रा छैन आजभोलि,

गरिबी र अभावमा पिल्सिएको छ जिन्दगी यो
तनमन रून्छ आँटो खोज्दै निद्रा छैन आजभोलि,

गाँस, बास, खै त भनी बिन्ती मलाई नसोधिदेउ
कोट्याइदियौ खाटो खोज्दै निद्रा छैन आजभोलि,

अभागी यी जनता रुवाई नेता जति विदेश देख्दा
मनको हजार पाटो रुन्छ निद्रा छैन आजभोलि ।

प्रेम श्रेष्ठ ‘विवश’
खोटाङ, हाल धरान सुनसरी ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार