कविता : आज तिमीसँग म “म” फिर्ता माग्छु


तिम्रो हाँसोमा मात्र रमाउने म
तिमी रूँदा मात्र आँशु झार्ने
खै कहाँ छन् मेरा आफ्ना हाँसो खुसी ?
तिम्रो मृत्युमा ज्यूँदै जलाएँ आफूलाई
नग्न सती बनेर चितामा
मेरो मृत्यु के भयो
भित्र्यायौ अर्की तिमीले

 

कति विलाशी छ तिम्रो मनको आगो।
जिउँदै सतीमा गएँ म दिनैदिन
तिम्री पाउकी अर्धाङ्गिनी बनेर
तिम्रो पैतालाको धूलो बनेर
सपनालाई जलाएँ मैले हरेक रात
तिम्रो बैशको तापमा मैनबत्ती बनेर
मैले “मलाई” हेर्न नै कहाँ पाएँ र र ?
घरकी लक्ष्मीको हकमा

 

तिम्री पत्नी हुनुको दावामा।
सती गएँ हरेक दिन म
आँशुका बलिद्र धारासँगै
अँफू “आँफू” नहुनुको पीडा
वर्षातमा खोलामा भेल नथामिएजस्तो
घामको तापमा फूल ओइलाएजस्तो
रातसँग जून भागेजस्तो
बिहानीमा घाम नउदाएजस्तो

 

त्यसैले त सती गएँ मँ मँ नहुनाले।
तिम्रो लासमा पोलिनुपर्ने
संस्कार दियो समाजले मलाई
तिम्रो लाससँगै सपनालाई चितामा जलाउने
अर्कीसँग रमाउने संस्कार दियो तिमीलाई
मलाई हिनता देखायो समाजले
कोर्नु छ मलाई अब इतिहासको पानामा
जुन पाना तिमीले ममाथि लेख्दै
कर्मको दोषमा थप्दै गयौ।

 

अब पुग्यो मलाई
तिम्रो नामको खास्टो ओढ्न
मञ्जुर छैन मलाई
तिम्रो लासमा आत्मा जलाउन
लड्नेछु म यो समाजसँग
तिमीसँग म” म” फिर्ता माग्छु
मलाई”म”सँग भेट्नु छ
कोर्नु छ अस्तित्वको बेग्ल‌ै इतिहास।

भावना लुइटेल
इलाम नगरपालिका ४,इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार