बलेँसी खस्तैछन् तपतप भदौरे समयमा
सितारा भर्दैछन् मधुर पिरतीले हृदयमा ।
पहाडी धर्तीको सरलपनको जीवन अहो !
मलाई ता लाग्यो रहर त्यसमै भिज्न किन हो ।
छ अागोको भुङ्रो पटपट मकै पड्किरहँदा
चल्यो वास्ना मीठो मगमग दहीको पनि उता
छ तामाको सब्जी सरस चटनी त्यो करकलो
सबैभन्दा लाग्यो मृदु हृदयको स्वाद रसिलो ।
चिसो वर्षा पानी अलिअलि रुझेको छ तन त्यो
न ता बाढी वर्षा न छ डर कतै सर्पसँगको ।
भए छाप्रा टाढा पनि नजिक छन् ती हृदयका
परी अाए जुट्छन् रतिभर नराखेर कटुता ।।
धरा घुम्टो अोढी गगनतिर हेर्छिन् शरमले
झरी बन्दै बर्स्यो प्रणयजल संयोगवसले ।
अहो कस्तो माया अटल, धरणी अौ सगरको
सधैं हुन्छन् टाढा तर नजिक छन् नित्य दिलको ।


944 पटक हेरिएको 









