मलाई अति नै छटपटि भइरहेको थियो । घरि यता कोल्टो पर्थेँ भने घरि उता फर्किन्थेँ । निष्पट रात थियो, सबैतिर चकमन्न तथा सुनसान । प्रतिकूल मौसमका कारण बत्तीको लाइन काटिएको थियो । केहि पढ्ने त कुरै छोडौँ; केहि देख्न सक्ने गरी उज्यालो छर्ने साधन थिएन ।
तर म भने एउटा छुट्टै प्रकारको वियोगमा थिएँ । मेरी चौबीस घण्टे साथी, ‘मोबाइल’ त्यो रात साँझैबाट हराइरहेको थियो । ‘मोबाइल’, चाहे अत्यन्तै व्यस्तताको दिन होस् वा अत्यन्तै फुर्सदको दिन, प्रत्येक दिनको सहयात्री , प्रायजसो हातमा खेलाइरहन अनि सुम्सुम्याइरहन मिलिरहन्थ्यो ।सँगै हुँदा त त्यति वास्ता नहुने तर नभएको दिन त मन असाध्यै भुट्भुटिँदो रहेछ । त्यसदिन मात्र थाहा भयो कि ‘मोबाइलवियोग’ त मृत्युवियोग भन्दा पनि पिडादायीहुँदो रहेछ ।
जतिजति रात छिप्पिँदै थियो, उतिउति म ‘मोबाइलवियोग’ ले आक्रान्त हँुदै थिएँ । मोबाइलसँग बिताएका दिनहरु मेरा आँखामा झल्झली नाच्न थाले । अझै त्यो दिन मेरो मानसपटलमा ताजै थियो त्यो दिन; जुनदिन मेरो घरमा नवबधुझैँ मोबाइल भित्रिएको थियो। त्यो क्षण रातभरि एउटा दिग्विजयी भावका साथ उसलाइ खेलाएको थिएँ असीम स्नेहका साथ सुम्सुम्याएको थिएँ । त्यसपछिका दिनहरुमाउ एकदम भरपर्दो तवरले मलाई साथ दिँदै आइरहेको थियो ।
अहँ ! त्यो रात त मलाई पटक्कै निन्द्रा परेन । एक त चकमन्न रात, उमाथि मोबाइल नहुँदाको पीडा । म फेरि पनि स्मरण गर्न थालेँ मोबाइलका योगदानहरु । म सपनाका चाङहरु बोकेर घरबाट कोशौँ दूरको यात्रामा एक्लै जीवन बिताइरहेको थिएँ । मेरा लागि घर परिवार साथीभाई सबैसँग सम्बन्ध गसाउँदै उबेला एक्लोपनको आभास हुन पटक्कै दिएको थिएन । एउटा सेतुको काम गरिराखेको थियो ।
‘उफ् कसरी बाँच्ने होला ऊ बिना… !’ म ओच्छ्यानभरि मडारिइरहेको थिएँ । सुतुँ पटक्कै निन्द्रा थिएन, उठुँ बत्ती थिएन । निन्द्रा पनि कसरी लागोस् मोबाइलै हराइराखेको थियो । मोबाइलमार्फत नै मैले फेसबुकका फोटाहरुमा सयाँै लाइकहरु पाएको थिएँ । सर्पलाइ गोलीहरु ख्वाएर करिव दशहजार अङ्कहरु बटुलेको थिएँ भने कार रेसिङमा म सबैभन्दा अगाडि थिएँ । टिकटकमा मेरो छुट्टै ‘स्टारडम’ थियो । सबैभन्दा मुख्य कुरो त कुशलतापूर्वक आफ्ना कथित ‘दुश्मन’ हरुलाई बन्दुकको निशाना बनाउँदै ‘राष्ट्रिय पब्जी अवार्ड’ जित्ने योजनामा म थिएँ ।मोबाइल मार्पmत नै मैले अनेकन सम्बन्ध गाँसेको थिएँ । अपरिचितलाई ‘मिसकल’ दिन्थेँ र जवाफी कलमा उल्टै नानाथरि कुरा गर्दै रनभुल्ल पार्थेँ । कसैलाई ‘म्यासेज’ मार्पmत कताकता दौडाइदिन्थेँ अनि त्यसको रोमान्स लिने गर्थेँ । फेसबुकमा पनि अपरिचतहरुलाईनै बढि ‘फ्रेण्ड रिक्वेस्ट’ जान्थ्यो । साँच्चै भन्नुपर्दा मोबाइलको योगदान मेरालागि धेरै नै थियो ।
मनमा यिनै कुराहरु खेलाउँदै गर्दा मलाइ रात बितेको पत्तै भएनछ । ‘टिनिनिनिन टिनिनिनिन…………’ झिस्मिसेमा बजेका यिनै आवाजले मलाई अर्को दिनको बिहानीमा झसङ्ग बनायो । आवाज परिचितनै थियो । यसो टाउको उठाएर हेरेको त मेरै हराइरहेको साथी ‘मोबाइल’ को ‘अलार्मको’ पो रहेछ जुन मैले हरदिन बिहान पाँच बजेको लागि सेट गरेको थिएँ । बिचरा अघिल्लो दिनको अँध्यारोमा बेडमुनि लड्दै रातभरिको चिसोमा कठ्याङग्रिए ता पनि इमान्दारिताका साथ चिच्याउँदै मलाई सबेरै उठाउने आफ्नो कर्तव्य पुरा गर्दै रहेछ ।
बिचरोलाई मैले सरक्क उठाएँ र एकपल्ट असीम हर्षालु स्नेहका साथ चुम्मन गरेँ । अनि त्यसपछि कहिल्यै आफुबाट नछुटाउने बाचा गर्दै खल्तीभित्र उसलाई राख्दै म आफ्नो नित्यकर्ममा लीन भएँ ।