खोजे सबैले भूमि एक बन्छ

रोजे सबैले शीरमा रहन्छ
जुटेर मान्छे जब एक हुन्छ
उठेर माथि प्रगति बहन्छ
तब देश हाम्रो हिमशैल छुन्छ । -१-
स्वार्थी हुनाले देश एक टुट्छ
लुछेर खाने पशु-राज जुट्छ
बैरी पसेर घरभित्र लुट्छ
रहन्न यिनको गरिमा अनन्त
तिम्रो र मेरो जब साथ छुट्छ । -२-
जर्जर बनेको अवशेष देश
पथदर्शीबाटै लुटियो अशेष
न त प्रियभाव न छ राज्य-भेष
स्वार्थीहरूको भ्रम फैलिनाले
गर्दैछ मानौ तमले प्रवेश ।-३-
सबै मिलेर कि त यो बनाऔँ
किम् वा उजाडौँ श्मशान पारौँ
काटौँ कि साटौँ कि राखौँ कि फालौँ
न तिम्रो रहन्छ न त मेरो हुन्छ
कहिले ननिभ्ने आगो कि बालौँ ।-४-
या जोश शक्ति बल यो मिलाऔँ
निश्चेष्ट माटो सबले जिलाऔँ
उत्थान फल्ने श्रमयोग्य पारौँ
माटो यिनैको शीरमा चढाई
र हामी जम्मै यिनमै बिलाऔँ ।-५-
श्रमसीप सारा यिनमै मिसाऔँ
रगत पसीना यिनमै भिजाऔँ
र पीर जम्मै यिनमै बिसाऔँ
पृथक् हुनाको सब भाव मेटी
आकण्ठ यिनमै डुबी मोक्ष पाऔँ ।-६-