फिरफिरे, कर्णाली ब्लुज, बुद्धिसागरका कविता जस्ता कृतिका रचनाकार, साहित्यकार बुद्धिसागरले पहिलो पटक आफ्नो पुस्तक प्रकाशन गर्ने लेखकहरुलाई यस्ता सुझाव दिएका छन् ।
१— किताव छाप्न कति पैसा लाग्छ ?
— त्यो त पुस्तकको पृष्ठ हेरेर थाहा हुन्छ । कस्तो कागज, कस्तो गाता र कस्तो प्रेसमा छाप्नुहुन्छ, त्यसले मूल्य फरक परिरहन्छ ।
तर, अहिले नेपालमा धेरै नै प्रकाशन गृह छन् । त्यसैले कुनै पनि प्रकाशन गृहसंग सम्पर्क गर्नुभयो र तपाईको सृजना प्रकाशनसंस्थालाई चित्त बुझ्यो भने पैसा लाग्दैन । झन्, पुस्तक बिक्री मार्फत तपाईले रोयल्टी पाउँनुहुन्छ ।
२— रोयल्टी कति आउँछ?
— रोयल्टी, प्रकाशक र लेखक बिच गोप्य सम्झौता हुने कुरा हो, त्यसैले यति उति त भन्न सकिदैन तर नेपालमा हरेक पुस्तकबाट १० प्रतिशतदेखि २० प्रतिशतसम्म दिने चलन छ ! सुरुवातमा थोरै रोयल्टी पाएपनि तपाईंको कृतिको माग भयो र बजारमा प्रभाव जमायो भने रोयल्टी बढ्दै पनि जानसक्छ ।
३— प्रकाशकसित कसरी सम्पर्क गर्ने ?
— तपाईकै र्याकहरुमा थरीथरी प्रकाशनसंस्थाले प्रकाशन गरेका पुस्तकहरु होलान् । त्यसैमा सम्पर्क ठेगाना हुन्छ । तपाई त्यहाँबाट सम्पर्क गर्न सक्नुहुन्छ । र, प्रायः प्रकाशनसंस्थाका ब्यक्तिहरु फेसबुकमा पनि हुनुहुन्छ, म्यासेजबाट पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
४— प्रकाशकसित कसरी कुरा गर्ने?
— अनेक भाषा घुमाएर कुरा गर्न थाल्नु भयो भने प्रकाशहरुलाई दिक्क लाग्न सक्छ । त्यसैले आफ्नो पुस्तकको कथासार बनाउँनुस् । हजार शब्दजतिको । अनि, आफूलाई सबैभन्दा राम्रो लागेको एक अध्याय, दुई देखि तिन हजार शब्दसम्मको, पनि नथ्थी गर्नुस् । र, प्रकाशकनसंस्थाको इमेलमा पठाईदिनुस् । तर, तारान्तार सम्पर्क गरेर झिँजो नलगाईदिनुस् । यदि प्रकाशकलाई तपाई पुस्तक मन पर्र्यो भने आँफै सम्पर्क गर्छन् ।
५— पहिलो पुस्तक हो र म खासै चर्चित पनि छैन । के छाप्लान् ?
— राम्रो पुस्तकको कमी सधैँ हुन्छ । त्यसैले छाप्छन् तर आँफैले बिमोचनको मितीसम्म सोचेर सम्पर्क नगर्नुस् । पाइप लाइनमा धेरै पुस्तक हुन्छन् । समयको मार्जिन अलिधेरै नै राख्नुस् । यदि तपाईको पुस्तक गजवै लाग्यो भने झन् समय लगाउँन सक्छन् । किनभने, पुस्तकको प्रमोसनलाई उनीहरुले धेरै आइडिया सोच्नु पर्ने हुन्छ ।
६— मेरो पहिलो पुस्तक हो, पाठकले सजिलै पढ्लान् ?
— यदि तपाईँका रचना फुटकर रुपमा पनि प्रकाशित भएका छैनन् भने पुस्तक पाठकहरुबिच फैलिन अलिकति लामो समय लाग्छ । त्यसैले फुटकर रुपमा बिभिन्न पत्रपत्रिकामा पठाउँन सक्नुहुन्छ । सोँझै पुस्तकतिर लाग्नु भन्दा पनि पहिला केही रचना फुटकर रुपमा प्रकाशन गर्नु लाभदायी हुन्छ । जस्ले तपाईको पाठकहरु निर्माण गर्न सक्छन् । र, तपाईको पुस्तक प्रकाशन भएपछि, पढिदिने पनि उनै हुन्छन् ।
७— फेसबुकमा मेरा रचना चर्चित हुन्छन् !
— फेसबुकलाई धेरै बिवश्वास नगर्नुस् । एक त फेसबुकमा साथीहरु धेरै हुन्छन् । तपाईलाई खुशी बनाउँन पनि वाह् वाह् गरिदिन सक्छन् । र, प्रायः साथीहरुलाई तपाई मन पर्नुहुन्छ, त्यसैले रचना पनि मनपर्न सक्छ । तर, पुस्तक त साथीहरुले मात्र पढिदिएर हुँदैन । पत्रपत्रिका अथवा अनलाइनहरुमा रचना प्रकाशन गर्नुभयो भने तपाईलाई चिन्दै नचिन्नेले पनि पढ्छन् । र, उनीहरुलाई राम्रो र नराम्रो भन्न गाह्रो पनि हुँदैन । केही समय फुटकर रचना प्रकाशित गर्ने । आएका सुझावहरुलाई मनन गरेर लेखन सुधार्ने हो भने तपाईको रचनामा पनि शान पनि लाग्नेछ, पाठक पनि पाउँनुहुनेछ ।
८— पत्रपत्रिकाले छापिदिएनन् भने के गर्ने ?
— राम्रो छ भने कुनै पनि भनसुन गर्नु पर्देन। सजिलै छापिन्छ । र, छापिएको रचनाको राम्रै पारिश्रमिक पनि पाउँनुहुन्छ । दुई तिनहजार शब्दको रचनाको सामान्यता दुईतिनहजार सजिलै पाउँनुहुन्छ ।
तर, रचना पठाईसकेपछि, धेरै गनगन गर्नू र कहिले छापिन्छ भनेर सोधिरहनू पनि हुँदैन । त्यसको सट्टा रचना अस्विकृत भए, किन भयो भनेर सोध्न सक्नुहुन्छ । जस्ले तपाईलाई सुधार गर्न सहयोग पुग्नेछ । एउटाले अस्विकृत गरेको रचना अर्को अर्कोतिर दगुराउँनुभन्दा नयाँ रचना पठाईदिनु बेश हुन्छ ।
९— म हातले लेख्छु, के पुस्तक टाइप नै गरेको हुनुपर्छ ?
— पर्देन । नेपालका केही चिर्चित लेखक हातले नै लेख्छन् । तर, पनि आफूले लेखेको कुरा अरु मार्फत टाइप गराएर तयार गर्नुभयो भने सहज हुन्छ । अझँ प्रिती फन्टमा गर्नु भयो भने झन् राम्रो । किनभने, यो फन्ट अरु धेरै फन्टमा परिवर्तन गर्दा शब्दहरु बिर्गने समस्या हुँदैन ।
१०— पुस्तक त तयार छ । तर, डर लागिरहेको छ भयो कि भएन भनेर मैले पढेका अरु पुस्तकजस्तो त छैन ।
— अरुका पुस्तकजस्तो नहुनु नै तपाईको आफ्नो शैली हुनु हो । तपाईले पठाएको पुस्तक अक्षरसः त्यहि छापिन्छ भन्ने पनि हुँदैन । सम्पादन पनि हुन्छ । पुस्तक सम्पादन हुनु भनेको तपाईले लेखेभन्दा बेग्लै हुनु होइन । तपाईले थाहा नपाएका, तपाईले गर्न सक्ने धेरै कुरा सुझावको रुपमा पाउँनुहुन्छ । सुधार्ने आँफैले हो, चित्त बुझेका कुरामा । सम्पादकका सुझाव चित्त बुझेनन् भने तपाई परिवर्तन नगर्न पनि सक्नुहुन्छ ।
समान्यता सम्पादकले तपाईलाई परिवर्तन गर्न विश्वस्त पार्छन् । विश्वस्त हुनु भएन भने तपाईले सम्पादकलाई विश्वस्त पार्नू पर्ने हुन्छ, किन परिवर्तन नगर्ने भनेर । हेर्दा अप्ठ्यारो देखिएपनि सम्पादनको यात्रा रोचक हुन्छ ।