पहिला पहिला पनि
यसैगरी दशैं र तिहार आउँथे
घरवरीपरिका गोरेटा बाटाहरु
पानीका पधेँराहरु
सिनिक्क बनाईथे
दशैं तिहार आएको उमङ्गमा
नयाँ नाना, पापा र चाचामा जाने मन
दलान पिढीमा डोरी झुड्याएर
खेलिने पिङ,
अब यी सबै गाँसिएका छन्, इतिहाससँग
स्मृतिमा,
छाला जस्तो टाँसिएर बसेको
पिङ्गको तृसना छन् ज्यूका त्यू ।
मलाई मेरै बैंसले खेल्यो दोहोरी लत्ता पिङ
खै अहिले दशैं तिहारमा हुने उमङ्गले
छुन सक्दैन त्यो मन
दशैं÷तिहारको खुशीयालीमा बजाइदैंन ढोल र झ्याटाहरु
फूकिदैनन्, उत्साह र उमंगका विगुलहरु
छेउकै बाटो, पानी खाने पधेराहरु
पहिलेभन्दा फरक देखिंदैनन्
बाटाका मान्छेहरुले लुकाए घरभित्र
ओछ्यान छेउमै गाँसेका छन् धाराहरु
वरिपरी झारले जिङ्गिग परेका बाटा
पहिला जस्तो दशैं तिहारमा सफा चट बन्न छोडे
सरकार आउँछ र बनाउँछ आशामा
आफ्नै अगेनाहरु पनि पर्खिबसेका छन्
हाम्रा तिर
कमेरो र रातो माटो अब इतिहास बन्दैछन्
तेल पेल्ने कोल र चिउरा कुट्ने ढिकीहरु अब खोज्दै जानु होला
स्थानीय सरकारका म्यूजियममा
दशैं र तिहारमा दिइने आशिष परिवर्तन हुँदै छन्
र, साटिदैछन् अब पप संस्कृतिमा
बारीमा डिलमा फूल्ने मखमली र सयपत्री पनि
परिवर्तन भए छन्
रङ्ग, बासना र बान्की साटियो हाइब्रिटसँग
खै दशैं तिहारको परम्परागत सँस्कृति ?
त्यो त छोरा छोरीले लिएर गए
अमेरिकातिर, अष्ट्रेलियातिर र कोरियातिर,
बुढी आमा र बाबा
जमरा राख्छन्, छोरा/छोरी/बुहारी
नाती र नातिनालाई लगाई दिने आशामा
तर,
पाउन छोडे. त्यो उन्मुक्त वातावरण
अनि सेलाई दिन्छन् जमरा नजिकैको खोल्सीमा
अहिले पनि गाढिएका छैनन्
मुलुकमा लिङ्गाहरु
बाटिएका छैनन् बाबियाका डोरी
संघ, प्रदेश र स्थानीय सरकार पिङ्ग खेलिरहन्छन्
जनताको घरदैलोमा
आपसमा हामी जीन्दगीको पिङ मच्चाउन मस्त छौं
कति मच्चिन्छ त्यति ।