घाइते मुस्कान

  विमल वैद्य

 670 पटक हेरिएको

मैले देख्ने जति आकाश
हेर्छु भन्या मात्र हो
हुन्न भन्छौ भने
भो नहेरौला,

तिमीले टेक्ने जति माटो
मैले पनि टेक्छु भन्या मात्र हो
इन्कार गर्छौ भने
भो,त्यो पनि नटेकौला,

म त पीडाको पीरामिडमा
समाधिस्त मान्छे
तिम्रै खुशी देखेर
युगौ सम्म रमाइदिन सक्छु,
खुशीहरू पोल्छन् भत्भति
दुख्ने क्षणहरू दुख्न छोडेका छन्
खुशी उमार्ने अवयवहरू
छिया/छिया परेका छन्
म घाइते मुस्कान बोकेर सधै
हरेक साँझ गोधुली बाट
मुस्कान सहितको चन्द्रमा उदाउने
कल्पनामा डुब्ने गर्छु
त्यो सायद तिमी नै हौ कि!
मैले त हाम्रो अस्तित्वलाई
आकार दिन खोजेको मात्रै हो
मान्दैनौ भने भै गो
म निराकार बाँचेर
तिम्रो अस्तित्वमा रमाइ दिन सक्छु ।

वैद्यकाे कविता कृति अक्षर सम्पफाेनीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार