जीत नै जीत छ

  प्रतिभा पौडेल

 912 पटक हेरिएको

सूर्यको ज्योति झैं बन्छ नेपाल ए         
जोसले होसले एक भै उर्लिए
क्रान्तिले देशको सान यो मिल्छ र
शान्तिका साथमा जीत नै जीत छ ।

स्वार्थको भावना राख्न छोडौं अब
देशको उन्नतीमा गरौं पौरख
बाहिरी शक्तिको राप यो मार्नु छ
राष्ट्र हाम्रो रहे जीत नै जीत छ ।

जातको धर्मको साँध मासौं यहाँ
अापसी प्रेमको फूल गाँसौं यहाँ
बोटनै फाँडिए फूल के फुल्छ र
कामना स्वच्छमा जीत नै जीत छ।

रोक अाँधी हुरी शैलले फाँटकाे
भीर पैरो झरेअाड मैदानको
द्वन्द्वकाे चालले शान्ति के मिल्छ र ?
मेलमा प्रेममा जीत नै जीत छ ।

ठालुका थालमा व्यञ्जना व्यञ्जनै
जर्जराहाटमा रुन्छ क्वै दिक्क भै
के गरि खारने भेदका टाँकुरा
न्याय सद्भावमा जीत नै जीत छ ।

विश्वको माझ नेपालको गौरव
हेर जोगाउँछौं छैन शंका अब
उच्च जो विश्वको टाँकुरा छैन र !
एकता उच्चमा जीत नै जीत छ ।

छन्द स्रग्विणी

झुल्केघाम र तृष्णा कविता सङ्ग्रहबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार