राजेशपायलका विगतकाे सम्झना

  सरलपाटी संवाददाता

 686 पटक हेरिएको

गायक राजेशपायल राईले झट्ट सम्झिने नामहरूको लामो लिस्ट आउँछ । तीमध्ये उनको मानसपटलको अग्रभागमा रहेका छन्, गायक खेमराज गुरुङ । सांगीतिक दुनियाँको जीवनमा राजेशपायल दिवंगत गायक खेमराजलाई अति विशेष मान्छन् । खेमराजसँग उनको साथीत्व मात्र होइन, कामको सम्बन्ध पनि प्रगाढ जोडिएको छ । आफ्नो जीवनकै मास्टरपिस गीतमध्ये एक ‘शिरै फूल शिरबन्दी’को जन्ममा खेमराजको दह्रो साथ पाए उनले ।

०७३ भदौ ९ गते कमलपित्तका कारण दिवंगत गायक खेमराजसँग बिताएका थुप्रै दिनरात राजेशपायलको स्मृतिमा ताजै छन् । कहिलेकाहीँ बेस्सरी बल्झिदिन्छन् पनि ती पलहरू । अनि सिरानीमा खस्छन् आँसु बनेर । खेमराज, जोसँग कति दिनहरू सँगै सकिए, त्यसको यकिन हिसाब त छैन उनलाई । तर, उनीसँगका किस्साहरू पनि कम नभएको राजेशपायल सुनाउँछन् । ‘उहाँसँग सँगै उठबस गर्दाका किस्सा पनि कम छैनन्,’ राजेशपायल बोले, ‘उनीजस्तो साथी फेरि कहाँ भेटिएला ।’

नारायणगोपाल र गोपाल योन्जनको झैँ मित्रता

एक समय रेकर्डिङको क्रममा रातभर सँगै बसे । हार्मोनियममा ट्युन हानिरहन्थे खेमराज । ‘अझै भएन, ल एक हाल्फ रक्सी मगाउनू’ भनेर खेमराज गुरुङले भने । एक हाफ रक्सी के आइपुगेको थियो, खेमले पालम पालम ट्युन गुनगुनाए । ‘ट्युन त निस्कियो,’ राजेशपाय बोले, ‘तर शब्द उहाँलाई चित्त बुझेन ।’ फेरि अर्को हाफ पनि थपियो । ‘थपेपछि लेख्ला भनेको त मान्छे पुक्लुक्कै ढल्यो,’ राजेशपायल खित्का छाडेर हाँस्छन् । भोलिपल्ट उठेर आए अनि जन्म भयो, शिरैफूल शिरबन्दी, हातमा रुमाल काँधमा गलबन्दी ।

गीत हिट भयो । एउटा पार्टीमा गायक दीप श्रेष्ठ, संगीतकार शिलाबहादुर मोक्तानले खेमराज र राजेशपायलको मित्रताको प्रशंसा गरे । ‘नारायण गोपाल र गोपाल योन्जनको मित्रता यस्तै थियो’ भनेर उदाहरण दिए । भने, ‘त्यही मित्रता भेटियो यिनीहरूमा ।’ दीप श्रेष्ठले ‘साह्रै राम्रो गीत दिइस् खेम भाइ’ भनेर भनेको कुरा राजेशपायल स्मरण गर्छन् । शिलाबहादुरले चाहिँ ‘यसले राम्रो गीत कहाँ दिनु, पेट नै काटेर दियो नि !’ भनेको कुरा अहिले पनि राजेशको आँखैअगाडि छ ।

नीर शाहले सोधे, ‘कहाँ छ बाबु रक्सी खाने ठाउँ ?’ यम बरालले भने, ‘सरकार ! राजा ! यहाँबाट अलि १० मिनेट हिँड्नुपर्छ । यहाँ त राख्न दिएनछ ।’ शाहले भने, ‘रक्सीका लागि आधा घन्टा पनि हिँड्न तयार छु ।’

खेमराजसँगको किस्साहरूले पनि ठूलो स्थान ओगटेका छन् राजेशको जीवनमा । एक समय खेमराज र राजेश पिउँदै थिए । राजेशको एसिस्टेन्ट थिए अर्जुन घिमिरे । ‘उसले गाँजा खान्थ्यो,’ राजेश सम्झन्छन्, ‘चुरोट तानातान गर्दा खेमले भुलवश गाँजा तानेछ ।’ तर, पिएको वेला होस भएन । गाँजाले हल्लाइदियो खेमलाई । गाँजाले मातेपछि खेमले भने ‘ओइ, कुर्सी ले !’ ‘किन ? बसिरा’को छ त’ भनेर राजेशले भन्दा फेरि ‘होइन, कुर्सी ल्याओस् न’ भनेर फेरि ‘कुर्सी ले कुर्सी’ भनेछन् । ‘खेमराजलाई किन कुर्सी चाहियो । कुर्सीमै बसिरहेको छ त’ भन्ने लागे पनि एसिस्टेन्ट अर्जुनले कुर्सी ल्याइदियो । ‘तर, अर्जुनलाई खेमले एक झापड हान्यो,’ हाँस्दै सुनाउँछन् राजेश । राजेशले खेमलाई भने, ‘किन पिटेको, कुर्सी ल्याइदियो त ।’ खेमराजले यस्सो टाउको हल्लाएर भने, ‘ट्याक्सी ले !’ अहिले पनि त्यो घटना सम्झँदा राजेशको हाँसोले सीमा नाघ्छ ।

हजुर, म खोटाङबाट आएको

संगीतकार नातिकाजीसँग पनि राजेशपायलको जीवनको लामो पृष्ठ किस्साले नै भरिएको छ । नातिकाजीसँगको सम्बन्ध नै किस्साबाट सुरु भएको थियो । ऊवेला रेडियो नेपालमा संगीत शाखा भन्ने थियो । राजेश नातिकाजीलाई भेट्नका लागि गए । ढोकामा एउटा एसिस्टेन्टजस्तो पाले बस्थे । चिट दिएपछि नाम बोलाउँथ्यो । अनि मात्र पस्ने अनुमति पाइने । ‘तीनपटक दिइसकेँ तिनैपटक बोलाएको छैन भन्ने,’ उनी त्यो समय याद गर्छन् । राजेश त्यहीँ नै बसिरहे । जब त्यो पाले ट्वाइलेट गयो, स्वाट्ट भित्र पसे । नातिकाजी कराए, ‘हैट ! को हो यो, कसरी पस्यो ।’
‘हजुर खोटाङबाट आएको ।’ नाम, ठेगाना सबै भनेँ ।
‘के गर्न आएको ?’
‘म तपाईंको गीत गाउन आएको । तपाईंले संगीत दिनुपर्छ ।’ हठी स्वभावका राजेश सीधा बोले । त्यो समयमा नातिकाजी सबैभन्दा चलेका संगीतकार । जोकोहीलाई संगीत दिन्थेनन् । अहिले पनि सम्झन्छन्, ‘चाँदनी शाहका गीतहरू नारायण गोपाल, तारादेवी, मीरा राणा, फत्तेमान, योगेश वैद्यलगायतलाई मात्र गाउन दिनुहुन्थ्यो । नयाँलाई त नदिने ।’ राजेशपायल बिल्कुल नयाँ मान्छे थिए । नातिकाजीले ‘गीत सुनाउनू’ भने । उनले आफ्नै ढंगले गीत सुनाए । अनि भने, ‘ल ठीक छ । भ्वाइस टेस्ट पास ग¥यौ ?’ त्यही वर्ष भ्वाइस टेस्ट पास गरेका थिए । एउटा गीत रेकर्ड पनि गराइसकेको जानकारी दिएँ । ‘तपाईंसँगको दोस्रो हो’ नातिकाजीलाई भनेँ । ‘गीत छ ?’ नातिकाजीले प्रश्न गरे । गीत त थिएन । केही समयअघि गीतकार कृष्णहरि बराललाई राजेशले भेटेका थिए । कृष्णहरिले ‘नातिकाजीलाई एउटा गीत दिएको छु’ भनेका थिए । गीत थियो:
कसरी आँखा जुध्यो, कसरी माया बस्यो
सकिन्न भन्न सबै, कसरी माया बस्यो
नातिकाजीलाई त्यो जानकारी गराएपछि फाइल पल्टाउँदै जाँदामा गीत पनि भेटियो । भन्छन्, ‘मैले त्यही गीतमा उहाँसँग काम गरेँ ।’ त्यसरी पालेलाई छक्काएर पसेको मान्छे पछि नातिकाजीको सबैभन्दा प्यारो मान्छे हुन सफल भयो । राजेश भन्छन्, ‘मेरो पुस्तामा नातिकाजीको गीतमा काम गर्ने पहिलो गायक म थिएँ ।’ त्यसपछि लगातार नातिकाजीसँग उनको सहकार्य भइरह्यो ।
फैलिए राजेश दुबोसरी

त्रिविक्रम पाण्डे । राजेशलाई सफल हुनमा सहयोग गर्ने साथीमध्ये एक हुन् । अहिले आएर राजेशलाई गीतकार पाण्डे किन पनि मनपर्छ भने ‘रेडियो नेपाल जाने–आउने त्रिविक्रमको भ्यांग्रे साइकल थियो’ (राजेशकै शब्दमा) । त्यसमा उनी अगाडि, राजेश पछाडि । एकदिन त्रिविक्रमले राजेशलाई भने, ‘म पनि गीत लेख्छु ।’ राजेश पनि नयाँ मान्छे । गीत नै खोजिरहेका । त्रिविक्रमले वाकमेनजस्तोमा सुनाए, फैलियो माया दुबोसरी । त्यो गीत म्युजिक नेपालमा रेकर्ड भइसकेको थियो, कुन्ति मोक्तानको स्वरमा । तर, मादलमा मात्रै । ‘यो गीत मलाई गाउन दिन्छ ?’ राजेशले भने । दिए आफैँ खर्च गर्ने कुरा पनि बताए ।
आफैँ खर्च गर्ने कुरा किन पनि भनेका थिए भने उनको दाइ लाउरे –राकेश । ठिक्क नेपाल आएका । रेकर्डका लागि खर्च दिन्छ भन्ने आस थियो राजेशलाई । त्यहीकारण पनि खर्च गर्छु भनेका थिए । उनले दाइसँग ३५ सय मागे । शिलाबहादुर मोक्तान र कुन्ती मोक्तान कालोपुल बस्थे । राजेशपायल शिलाबहादुर निवास कालोपुल पुगेपछि ‘नमस्ते दाइ, म यस्तो उस्तो’ सगोलमा परिचय दिए । शिलाबहादुरबाट उनले ‘ल गीत सुनाउ’ भन्ने आदेश पाए । उनले ‘फौेलियो माया दुबोसरी’ गाए । अनि भने, ‘यो गीत चाहियो मलाई । म खर्च गर्छु ।’ शिलाबहादुरले पत्नी कुन्तीलाई भने, ‘यहाँ आऊ त ! भाइको स्वर सुन्न । मान्छे त सानो छ । स्वर त ठूलो रहेछ ।’ अरू पनि थुप्रै जिज्ञासा आयो शिलाबहादुरबाट । उनले शिलाबहादुरकै संगीतका केही गीतहरू गाए । राजेशको स्वर मनपराए दुवैले । कुन्ती र आफूले एउटै ट्र्याकमा गाउने सर्तमा गीत गाउन पाउने भए राजेशले । त्यो राजेशको जीवनको तेस्रो रेकर्डिङ थियो । रेडियो नेपालमा त्यतिवेला एकै टेकमा गीत सकाउनुपर्ने । उनले सकाए । ‘उक्त गीत गाएपछि भने मैले फर्केर पछाडि हेर्नुपरेको छैन,’ राजेश कृतज्ञता प्रकट गर्छन् ।
पिउँदाका किस्सा
एकपटक राजेश बिरामी परेर थलिए । संगीतकार पारस मुकारुङले उनलाई बोकेरै स्टुडियो पु¥याए । उनलाई डाक्टरले ‘हाई नोटमा नगाउनू’ भनेका थिए । ‘तर संगीतकार महेश खड्काले हाई नोटमै गीत बनाउनुभएको रहेछ,’ हिफाजत’ फिल्मको हरे हरे नारायण नारायण बोलको गीतको प्रसंग सम्झदै राजेश भन्छन्, ‘गीत त गाएँ, तर रेखा थापाजीको छोटो कट्टुले भिलेन खेलिदियो । भिजुअलमा त्यो गीत ब्यान्ड भयो ।’ गायक यम बराल, रामकृष्ण ढकाललगायत उनका समकालीन थिए । उनीहरूसँगको पनि उस्तै किस्साका ठेली छन् राजेशका । त्यो समयमा उनको बाइक थिएन, यम बराल बाइकवाला थिए । उनी पछाडि हिँड्नुपर्ने । यमसँग मैतिदेवीमा पिउने सवालमै चिनजान भएको थियो राजेशको । त्यसपछि भने सँगै सुत्ने, खाने, पिउने कुराहरूले धेरै दिनहरू सकिए । आरिस त थियो होला नि ? भन्छन्, ‘समकालीन भए पनि त्यस्तो आरिस त थिएन । तर, लोभ भने थियो ।’ ‘वसन्ती’ फिल्मको सक्सेस पार्टी थियो कमल पोखरीमा । टन्न पिएर पनि नपुगेपछि नीर शाहले सोधे, ‘कहाँ छ बाबु रक्सी खाने ठाउँ ?’ यम बरालले भने, ‘सरकार ! राजा ! यहाँबाट अलि १० मिनेट हिँड्नुपर्छ । यहाँ त राख्न दिएनछ ।’ शाहले भनेका थिए, ‘१० मिनेट हिँड्नुपर्छ रक्सीका लागि ? आधा घन्टा पनि हिँडेर जान तयार छु ।’
एउटा पार्टीमा गायक दीप श्रेष्ठ र संगीतकार शिलाबहादुर मोक्तानले खेमराज र राजेशपायलको मित्रताको प्रशंसा गरे । ‘नारायण गोपाल र गोपाल योन्जनको मित्रता यस्तै थियो’ भनेर उदाहरण दिए । उनीहरूले भने, ‘त्यही मित्रता भेटियो तिमीहरूमा ।’
खेम एमाले, आयोजक नेविसंघ
राजेशपायलको मित्रता कसरी घनिष्ट भयो त खेमराज गुरुङसँग ? एकपटक उनी कार्यक्रमका लागि खेमराजकैै गाउँमा जाँदै थिए । राजेशलाई कल आयो । ‘ल डार्लिङ, मेरै गाउँ आउँदै हुनुहुँदो रहेछ । अब सँगै प्रस्तुति दिनुपर्छ,’ खेमराजले फोनमा भनेका थिए । तर, राजेशपायल धनकुटा पुग्दा खेमराज भने काठमाडौं अवतरण भइसकेछन् । आयोजकले खेमराजलाई गीत गाउन दिएनछन् । राजेशपायल त्यसको कारण सम्झेर हाँस्दै भन्छन्, ‘आयोजक नेविसंघ रहेछ । खेमराजजी एमाले ।’

त्यो समयमा खेमराज त्यति चलेका पनि थिएनन् । त्यसको दुई–तीन महिनापछि एउटा गीत आयो, ‘वारि जमुना, पारि जमुना’ । सँगै कार्यक्रम बन्यो बेल्टारमा । खेमराज इलामबाट बेल्टार आउनुपर्ने, राजेश काठमाडौंबाट । त्यहाँबाट दुईको असली मित्रता सुरु भयो । ‘त्यहाँ पनि रातभर नै खाइयो,’ भन्छन्, ‘त्यसपछि हामीले प्रायः रातहरू जिउँदा नै राख्यौँ ।’

खेमराजलाई भन्नुपर्‍यो भने राजेशको मुखमै छ, ‘कसैको मन नदुखोस्, कसैको विचारमाथि प्रहार नगरुँ भन्ने मान्छे ।’ ज्यादतर त्यस्तो भएर पनि हामीमाझ नरहेकोजस्तो लाग्छ उनलाई । ‘बरु आफूलाई हानि होस्, तर अरूको खुसीका लागि पनि बाँच्ने मान्छे थियो ऊ,’ उनले अझै थपे, ‘अनि लोकगीतको त ऊ पाठशाला नै थियो ।’ ऊबाट राष्ट्रले धेरै लोकगीत पाउन सक्ने थियो, तर ऊ बीचमै गयो ।’ साथी खेमराजको निधनको पीडा राजेशको मुहारमा प्रस्टै छचल्कियो । नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार