लुटको ई–बसमा सरकार सरर

  धर्म गौतम

 799 पटक हेरिएको

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्योपचारका लागि थाइल्याण्ड जाने समाचार नागरिक दैनिकको पूर्वेलीमा तीन चार दिनअघि पढेपछि मन कसो कसो खिन्न भयो । हुन त मुख्यमन्त्री राई आप्mनै खर्चमा त्यता जान लागेको पनि समाचारमा उल्लेख नभएको होइन । स्वास्थ्य जोसुकैका लागि पनि मुख्य प्राथमिकताको बिषय हो । त्यसैले मुख्यमन्त्री राईको सो निर्णयमा टिप्पणी गर्नु उति राम्रो पक्कै होइन । तथापि धेरैले आश गरेका युवा मुख्यमन्त्रीका बारेमा त्यस्तो समाचार पढ्दा असहज नलागिसकेन ।
उल्लिखित समाचारमा राईलाई के समस्या छ, उनलाई उपचार गराउन विदेशै जाने सल्लाह कुन चिकित्सकले दियो जस्ता कुरा समाचारमा खुलाइएको थिएन । त्यसैले यस बिषयमा केही खस खस लागेको हो । राईलाई नेपालमा उपचार हुन नसक्ने किसिमको रोग लागेको छ र चिकित्सककै सल्लाहमा उपचार गर्न विदेश जान लागेका हुन् भने भन्नु केही छैन तर त्यसो होइन भने यो बिषय आम नेपालीको चासोमा आउने नै भयो ।
मुख्यमन्त्री राई आप्mनै खर्चमा उपचार गर्न विदेश जानु उनको अधिकारको कुरा हो । तर उनी सार्वजनिक पदधारी व्यक्ति भएकाले उनका हरेक क्रियाकलापमा जन चासो जोडिनु पनि अस्वाभाविक होइन । हाम्रा नेता रुघामर्की लाग्दा पनि सरकारी खर्चमा विदेश जान्छन् भन्ने किसिमको मनोविज्ञान आम मानिसको बनेको छ । त्यसमा युवा मुख्यमन्त्री समेत थपिए यद्यपि उनको खर्च राज्यले व्यहोर्ने होइन । जे भए पनि उनलाई शीघ्र स्वास्थ्य लाभ होस्, शुभकामना दिनु पर्छ ।
नेपालमा स्वास्थ्य परीक्षण गराउँदा उनमा गम्भीर समस्या देखिएको र त्यसको उपचार नेपालमा सहज नभएको पनि हुनसक्छ । त्यसो भएको भए त्यही प्रकृतिको विज्ञप्ति उनका तर्पmबाट जारी भएको भए मानिसमा आशंका र भ्रम हुने थिएन । हुनत यस्तो विवरण आएको पनि होला, त्यो सबै यस पंक्तिकारले नभेटेको पनि हुनसक्छ । त्यसैले यो टिप्पणी दुराशययुक्त अवश्य होइन ।
लामो समय नेपाली जनताले परिवर्तनका लागि, समाजको रुपान्तरणका लागि संघर्ष गरे । त्यो संघर्षमा एक थोपा पसिना थप्ने सुयोग यस पंक्तिकारलाई पनि मिलेको हो । अब आप्mनो जीवनको उत्तरार्धमा मुलुक परिवर्तनको दिशातिर गइरहेको अनुभूतिको अपेक्षा राख्नुलाई अन्यथा नठानिएला । त्यस सन्दर्भमा गरिएको यस्तो चर्चा कुनै पूर्वाग्रह वा कुण्ठाको अभिव्यक्ति अवश्य होइन ।
नेपालीमा एउटा उखान छ– देशगुनाको भेष, कपालगुनाको केश । यस सन्दर्भमा एउटा सानो प्रसङ्ग जोड्नु उपयुक्त लाग्यो बिषयलाई प्रस्ट्याउन । निकै अघिको कुरा हो । नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व सूर्यविक्रम ज्ञवाली त्यस बेला दार्जिलिङ्गमा जिल्ला शिक्षा इन्पेक्टर थिए । एक दिन उनका एक मित्र खरसाङको ट्याक्सी स्टेण्डमा गाडि कुर्दैथिए, छेउमा आएर एउटा सरकारी जीप रोकियो, त्यसमा ज्ञवाली सवार थिए । अभिवादन साटासाटपछि ज्ञवालीले ती मित्रलाई कतै जान लाग्या हो कि भनेर सोधे । उनले कालिम्पोङ जान गाडी कुरेको भनेपछि ज्ञवालीले आपूm पनि त्यतै हिँडेकाले आप्mनो गाडीमा चड्न उनलाई भने ।
दुई भाइ गाडीमै गफिँदै अगाडि बढे । एकसरो भलाकुसारी सकिएपछि ती मित्रले ज्ञवालीलाई भने, ‘अलिक अघि गुरुमालाई पनि गाडिमा देखेको थिएँ ।’
‘हो, भोलि आइतबार छुट्टिको दिन यसो घुमघाम गरौं भनेर उनीहरुलाई पनि उतै पठाएको ।’
ज्ञवालीको कुरा सुनेर उनका मित्रले भने, ‘यो गाडी त खालि नै छ, अनि उहाँलाई किन अर्को गाडीमा पठाएको ?’
ज्ञवालीको उत्तर थियो, ‘हेर्नोस् मित्र, यहाँ काम राम्रो गरेर मात्रै पुग्दैन, राम्रो गर्दैछु भनेर देखाउनु पनि पर्छ । तपाईंले भनेजस्तै उनीहरुलाई पनि यसैमा लिएर गएको भए हुने थियो तर देख्नेले भन्न सक्छन्– हेर त मोज गरेको, सरकारी गाडीमा स्वास्नी लिएर घुम्न जान्छ । त्यसैले उनीहरुलाई ट्याक्सीमा पठाएर म यसमा जाँदैछु । तपाईंलाई देखेर त त्यस्तो टिप्पणी आउँदैन, त्यसैले तपाईंलाई साथ लिएको ।’
हो हाम्रो अहिलेको अवस्था पनि उस बेलाको दार्जिलिङकै जस्तो छ । त्यसैले जिम्मेवारीका पदमा बसेकाहरुले राम्ररी काम गरिदिउन्, तिनका कामकारवाहीलाई देखेर मानिसमा निराशा होइन हौसला बढोस् । यहाँ त हाम्रा मानिस यसरी काम गर्छन् जनताको मन नै कुँडिन पुग्छ । पछिल्लो चर्चित, आलोचित उदाहरण शीतल निवासको टीका प्रकरण यथेष्ठ छ ।
राजनीतिक रुपले नेपाली जनताले काम फत्ते गरिसके । मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको छ । त्यो पनि संघीय स्वरुपको । गाउँ गाउँमा सिंहदरबार भनेर नारै घन्किएका थिए एक डेढ बर्ष अघि तर अब मानिस भन्न थालेका छन्– दरबार उतै छुटेछ, गाउँमा त सिंहमात्रै आयो, जनतालाई आतङ्कित पारिरहेको छ । राजनीतिकरुपले सचेत एउटा नागरिकले आम जनताको त्यस्तो कुरा सुन्नु पर्दा त्यो प्रितिकर अवश्य लाग्दैन, लाग्नु पनि हुँदैन ।
यो सरकारका लाउकेहरु जनतालाई कसरी भ्रममा राख्ने प्रयास गर्दछन् भन्ने अर्को एउटा रमाइलो प्रसङ्ग
छ । केही अघि काठमाडौंमा विद्युतीय बस (ई–बस) सञ्चालनमा आएको समाचार पढ्न पाइयो । त्यो बसको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए, कोनि कुन ठाउँदेखि चढेर सिंहदरबारसम्म पुगेका थिए ओली त्यस दिन । काठमाडौंका लागि त्यो समाचार साँच्चै खासाको थियो । काठमाडौंलाईं संसारका अति प्रदुषित शहरमध्ये तेस्रो स्थान प्राप्त छ रे । अति प्रदुषित भनेको मानिसका लागि बस्न लायक नभएको । यसरी प्रदुषित हुने एउटा कारण हो गाडीले फाल्ने धुवाँ । ई–बस चलेपछि त आनन्द भयो नि । त्यसैकारण त्यो समाचार खासाको लागेको थियो ।
तर हालसालै सेतोपाटीमा अर्को एउटा समाचार आयो । त्यो समाचार अनुसार त्यो बस त लुटको पो रहेछ अर्थात् लुम्बिनीका लागि दाताले दिएको बसलाई जबरजस्ति काठमाडौं लगिएको रहेछ । चोरीको बसको उद्घाटन प्रधानमन्त्री आपैmले त गर्न चाहेनन् होला । कुन कमरेडले फँसायो त उनलाई ? यो तथ्य थाहा पाएका दिन ओलीजीले टाउकामा हात राखेर फेरि एक पटक भन्लान्– म चारैतिरबाट घेरावन्दीमा पारिएको छु ।
सेतोपाटीको समाचारका मुख्य अंश जस्ताको तस्तै– सरकारी चाहना पूरा नभए पनि एसियाली विकास बैंक मातहतको एसियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा पर्यटक लक्षित ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने निर्णय गर्यो ।
सोहि निर्णय अनुसार एडिबीले लुम्बिनीका लागि पहिलो चरणमा २ वटा बस पठायो । लुम्बिनीमा केही भए पनि प्रदुषण कम गर्ने र यहाँ आउने पर्यटकलाई स्तरीय वातानुकुलित सुविधा दिने उद्देश्यले एडिबीले बस दिएको थियो । तर, लुम्बिनी ल्याउनुको सट्टा बेलहियादेखि ट्रकमा राखेर काठमाडौं लगिएपछि चौतर्फी विरोध सुरू भएको
छ । लुम्बिनीका लागि करिब दुई करोड मूल्य बराबरका दाताले दिएका बस काठमाडौं पु¥याएर साझा यातायातमार्फत् सञ्चालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित भएका हुन् ।
लुम्बिनीको लागि भनेर दाताले दिएको बस समेत काठमाडौं लैजानुले सरकार लुम्बिनीप्रति जिम्मेवार नरहेको पुष्टि भएको पर्यटन व्यवसायी लिलामणि शर्माले बताए । उनले सरकारले तत्काल ती बस लुम्बिनीमै फिर्ता गर्नुपर्ने बताए ।
लुम्बिनीका स्थानीय शत्रुधन तिवारीले सरकारले ती बस फिर्ता नपठाए आन्दोलनमा उत्रिने चेतावनी दिए । दिनप्रतिदिन बढ्दै गएको धूलोधूँवाको कारण लुम्बिनीमा प्रदुषण बढिरहेको बेला सरकार आफैंले पर्यटकहरूका लागि सुविधा सम्पन्न बस सञ्चालन गर्नुपर्नेमा दाताले दिएका बस समेत लैजानु अत्यन्त लाजमर्दो कार्य भएको उनले बताए ।
एडिबीले लुम्बिनी विकास कोषसँग ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता गरेको थियो । लुम्बिनीका लागि ल्याइएको विद्युतीय बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । एकाएक काठमाडौं पु¥याएर बस उद्घाटन गरिए पनि बस चार्जिङको लागि स्टेशन भने लुम्बिनीमै निर्माण भइरहेको छ । लुम्बिनीको संग्रहालय नजिकै करिब १२ करोडको लागतमा बस चार्जिङका लागि स्टेशन बनिरहेको
छ । जापानस्थित ईशाका कम्पनीले चालू वर्षको अन्तिमसम्म काम सम्पन्न गर्नेगरी ३ महिना अगाडि बस चार्जिङ स्टेशन निर्माणको लागि ठेक्का पाएको थियो । चाइनाको बिआइबी कम्पनीले निर्माण गरेको २० सिट रहेका बस एकपटक चार्ज गरेपछि ४ सय किलोमिटरसम्म गुड्न सक्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार