विवाह सम्बन्धी व्यवस्था र विवाह सम्बन्धी कसूर

स्तम्भ

  टीका पाैडेल (भारद्वाज)

 1391 पटक हेरिएको

आम नागरिकसँग सम्बन्धित विवाह पारिवारिक जीवन प्रारम्भ र सञ्चालन गर्ने महत्वपूर्ण आधार हो ।
विवाहपछि विवाहित महिलाका हक, अधिकार, कर्तव्य,दायित्व सवै विवाहित घर परिवार तर्फ निश्चित हुने हुनाले पनि विवाहको महत्व धेरै छ । कानुनको दायरामा रहेर विवाह गर्नु पर्नेमा सो नगरी र कानुनको अज्ञानताले समेत कतिपय मानिसहरू वाल विवाह,वहु विवाह,वदर हुने विवाह जस्ता समस्यामा परिरहेको अवस्था छ । समाजमा उमेर नपुगी हुने गरेका वाल विवाह र त्यसवाट उत्पन्न कानुनी जटिलताहरु तुलनात्मकरूपमा धेरै देखिन्छन् । त्यस्ता समस्यामा नपर्नका लागि कानुनमा रहेका विवाह सम्वन्धी व्यवस्था र विवाह सम्वन्धी कसूरहरु वुझ्न जरुरी छ ।
विवाह सम्वन्धी व्यवस्था ः
वर्तमान कानुनमा कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह,औपचारिक वा अन्य कुनै कार्यवाट एक अर्कालाई पति पत्नीको रूपमा स्वीकार गरेमा विवाह भएको मानिने छ ।
विवाह गर्ने महिला र पुरुषबीच एक अर्कालाई पतिपत्नीको रूपमा स्वीकार गर्न मञ्जुर हुनुपर्ने, परम्परा अनुसार चली आएको वाहेक हाडानाता करणीमा सजाय हुने नाताको हुनुनहुने, दुवैको अन्य व्यक्तिसँग वैवाहिक सम्बन्ध कायम रहेको हुनु नहुने र विवाह गर्ने दुवैको उमेर बीस वर्ष पूरा भएको हुनु पर्ने व्यवस्था छ ।
प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने,परिवार कायम गर्ने तथा पारिवारिक जीवनयापन गर्ने स्वतन्त्रता हुने, वैवाहिक सम्बन्ध अन्त्य नभएसम्म विवाहलाई स्थायी,अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी वन्धन मानेको छ ।
जुनसुकै किसिमवाट भएको विवाह पनि सार्वजनिक गर्नु गराउनु पर्ने, पति तथा पत्नीले नेपाल सरकारले तोकेको अधिकारी समक्ष निवेदन दिई आफ्नो विवाह दर्ता गराउनु पर्ने व्यवस्था छ ।
कुनै महिला र पुरुषले दर्ताद्वारा विवाह गर्न चाहेमा कानुन वमोजिम सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएर दर्ता विवाह (कोर्ट म्यारीज) गर्न सक्ने व्यवस्था पनि छ ।
कानुनमा झुक्याइ विवाह गर्न गराउन नहुने सम्वन्धमा शरीरमा एच.आई.भी.वा हेपाटाइटिस वी रहेको वा त्यस्तै प्रकृतिको निको नहुने कडा रोग लागेको,नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणित भइसकेको,पूर्ण रुपमा वोल्न वा सुन्न नसक्ने, पूर्ण रूपमा दृष्टिविहीन वा कुष्ठ रोगी भएको, होस ठेगानमा नरहेको, विवाह भइसकेको, गर्भवती भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरी अदालतवाट सजाय पाएको पुरुष वा महिलालाई झुक्याइ विवाह गरे गराएकोमा त्यस्तो पुरुष वा महिलाले सो विवाहलाई मन्जुर नगरेमा मर्का पर्नेले विवाह वदर गराउन र क्षतिपूूर्ति दावी गर्न सक्ने व्यवस्था छ ।
विवाह वदर सम्वन्धमा पुरुष वा महिलाको मञ्जुरी नभई भएको विवाह ,हाडनाता करणीमा सजाय हुने नाताका व्यक्तिहरु वीच भएको विवाह ,उमेर नपुगी भएको विवाह र अंश नहुँदै वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा गरेको अर्को विवाह स्वतः वदर हुने व्यवस्था छ ।
विवाहित महिलाको थर प्रयोग सम्वन्धमा विवाहित महिलाले विवाहपछि वावु वा आमाले प्रयोग गरेको थर वा निजको पतिको थर वा दुवै थर प्रयोग गर्न सक्ने व्यवस्था छ । पतिको थर प्रयोग गरेकी महिलाको सम्वन्ध विच्छेद भएमा निजले चाहेमा निजको वावु वा आमाले प्रयोग गरेको थर प्रयोग गर्न सक्ने व्यवस्था छ ।
पतिपत्नीको वैवाहिक सम्वन्ध अन्त्य सम्वन्धमा विवाह वदर भएमा , कानुन वमोजिम पति पत्नीको सम्वन्धविच्छेद भएमा र पत्नीले कानुन वमोजिम सम्वन्ध विच्छेद नहुँदै अर्को विवाह गरेमा पति पत्नीको वैवाहिक सम्वन्ध अन्त्य भएको मानिने छ । पति पत्नीको वैवाहिक सम्वन्ध अन्त्य भएमा, पति वा पत्नीको मृत्यु भएमा र पति वा पत्नीले कानुन वमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुन विवाह गर्न सक्ने व्यवस्था छ ।
विवाहको परिणाम सम्वन्धमा पति पत्नी बीच आपसी प्रेम र सद्भाव हुनु पर्ने,एक अर्कोलाई सहयोग,संरक्षण र सम्मान गर्नु पर्ने, आपसी सहमतिमा घर व्यवहार चलाउनु पर्ने लगायत पति पत्नी एक अर्काको प्रतिनिधि मानिने व्यवस्था छ । पति पत्नीले आपसी समझदारीमा छुट्टै वासस्थान निर्धारण गरे वाहेक पत्नीको वासस्थान पतिको घरमा कायम भएको मानिनेछ । पति वा पत्नी वा परिवारका कुनै सदस्यले एक अर्कालाई सीप,योग्यता वा क्षमता अनुसार पेशा व्यवसाय वा काम गर्न रोक्न नहुँने व्यवस्था छ ।
विवाह सम्वन्धी कसूर ः
विवाह गर्ने व्यक्तिहरूको मन्जुरी विना विवाह गर्ने र गराउनेलाई दुई वर्षसम्म कैंद र वीसहजार रुपैंयासम्म जरिवाना हुने र त्यस्तो विवाह वदर हुने व्यवस्था छ ।
परम्परा अनुसार चली आएको अवस्थामा वाहेक हाडनाता करणीमा सजाय हुने नातामा विवाह गर्ने वा गराउनेलाई थाहा नपाई विवाह भएको रहेछ भने विवाह वदर हुने, जानी जानी विवाह भएको रहेछ भने हाडनाताको कसूरमा हुने सजाय र तीन महिनासम्म कैंद वा तीन हजार रुपैंयासम्म जरिवाना वा दुवै सजाय हुने र त्यस्तो विवाह स्वतः वदर हुने व्यवस्था छ ।
विवाह गर्ने व्यक्तिको उमेर वीसवर्ष नपुगी वाल विवाहको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैंद र तीसहजार रुपैंयासम्म जरिवाना हुने त्यसरी भएको वाल विवाह स्वतः वदर हुने व्यवस्था छ ।
विवाहमा लेनदेन गर्न नहुने सम्वन्धमा आप्mनो परम्परादेखि चली आएको सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहना वाहेक विवाह गर्ने दुलाहा वा दुलहीको तर्फवाट कुनै चल, अचल,दाईजो वा कुनै सम्पत्ति माग गरी वा लेनदेन सर्त राखि विवाह गर्ने वा गराउनेलाई तीन वर्षसम्म कैंद तीसहजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने उल्लेख छ । त्यसरी नै कसैले विवाह गरी सकेपछि चल अचल सम्पत्ति वा दाइजो माग गर्न वा त्यस्तो सम्पत्ति वा दाईजो नदिएको कारण दुलही वा निजका नातेदारलाई कुनै किसिमले हैरान पार्न, सताउन वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैंद वा पचासहजार रुपैंयासम्म जरिबाना वा दुवै सजाय हुने र सम्पत्ति लिएकोमा त्यस्तो सम्पत्ति सम्वन्धित व्यक्तिलाई फिर्ता हुने व्यवस्था छ ।
वहुविवाह गर्न नहुने सम्वन्धमा वैवाहिक सम्वन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्ने पुरुष र कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग विवाह गर्ने महिलालाई एक वर्षदेखि पाँचवर्षसम्म कैंद र दशहजार रुपैंया देखि पचासहजार रुपैंयासम्म जरिवाना हुने र त्यस्तो विवाह स्तहः वदर हुने व्यवस्था छ ।
वर्तमान मुलुकी देवानी (संहिता) २०७४ मा उल्लेख भएको विवाह सम्वन्धी व्यवस्था र मुलुकी अपराध (संहिता) २०७४को विवाह सम्वन्धी कसूर सवैले वुझ्न र वुझाउन सकेमा विवाह सम्वन्धी हुने गरेका धेरै समस्या र कसूरहरुको न्युनिकरण हुने आशा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार