
टलक्क टल्किने गाडी ढ्याक्क रोकियो । धनेको साथी साजन कोट र टोपी मिलाउँदै गाडीबाट टक्क ओर्लियो । मुसुमुुसु हाँस्दै सबैसँग हात मिलायो । निकै परसम्म हात हल्लाएरै अभिवादन ग¥यो । उसलाई सुरक्षाकर्मीले अगाडि पछाडि राम्रै सुरक्षा दिएको देखिन्थ्यो । उसका काकाका आफन्तजनले उसलाई भब्य स्वागत गरे । खादा र माला पहि¥याईदिए । अगाडि पछाडि, दायाँ बायाँ घेरेर हार्दिकतापूर्वक घरतिर लगे । आफ्नो बाल्यकालदेखिको साथी साजनको यो सान र मानको दृश्यलाई उता धनेले चाहिँ खेतको डिलमा बसेर हेरिरह्यो । टाइ सुटमा सजिएको त्यस्तो सुकिलो मुकिलो आफ्नो साथी साजनलाई धनेले बोलाउन पनि खोज्यो । फेरि आफू जस्तो धैलोमैलो साथीले बोलाउँदा आफ्नै साथीको मानमद्र्धन पो होला कि भन्ने डरले धने काँधमा हलो हालेर गोरु धपाउँदै आफ्नै झुपडीतिर लाग्यो ।
गोरु थलामा बाँध्यो । भकारा सो¥यो । थलाभरि सोत्तर बिछ्र्याइदियो । सबै थान्कोमुन्को सकेर खुइय गर्दै सिकुवाको खाटमा पल्टियो । श्रीमतीले भात खान बोलाइ । अकबरे खोर्सानी टोक्दै मोही र फर्सीसँग सप्¥याङ सप्¥याङ भात खायो । अँग्याना छेउको मुल ओछ्र्यानमा गएर ढल्क्यो । ओछ्र्यानमा ढल्कनासाथ उसका आँखामा अघिको दृश्य झल्झली नाच्न थाल्यो । उस्तै राजनीतिक, सामाजिक, आर्थिक, र साँस्कृतिक पृष्ठभुमी भएको आफ्नै साथी साजन त्यस्तो सान र मानका साथ काका घर पस्दा आज म चाहिँ किन जहिँको तहिँ उस्तै जीवन जिउन बाध्य भएको होला ? मेरो भाग्य नै पो यस्तै हो कि ? राम्रो कर्म नै पो गर्न सकिएन कि ? पिता पूर्खाले पो केही नगरेर यस्तो हालत बेहोर्नु परेको हो कि ? नत्रभने हिजो सँगै हलो कोदालो गरेको साजनको सान र मान त्यत्रो बढ्दा म चाहिँ किन उही परम्परागत हलो र कोदालोसँगै जीवन धान्न बाध्य भएको होला ? यी र यस्ता अनेक प्रश्न धनेका मनमा उब्जन थाले । श्रीमती मस्तसँग निदाइसकेकी थिई । धनेले पनि मन बुझाएर निदाउन निकै प्रयास ग¥यो । कोल्टे फि¥यो । उत्तानो सुत्यो । घोप्टे प¥यो । निन्द्रा लागेन । उसका मनमा कति हो कति के र के अनगिन्ति कुरा खेल्न थाले । बाल्यकाल सम्झेर ल्यायो । युवाकालका अत्यन्तै उतारचढावपूर्ण जीवन कथा सम्झियो । आफ्नो वर्तमान अवस्था केलायो । हिजो सँगै हलो कोदालो गरेको साजन र उसको जीवनमा किन त्यत्रो फरक प¥यो ? उसलाई पटक्कै चित्त बुझेन । अनि उ साजन र उसका जीवनका अनेक पाटा र पक्षको तुलना गर्न थाल्यो ।
बाल्यकालको तुलना
वास्तवमा साजन र उसको बाल्यकाल धेरैहदसम्म समान नै रहेछ । साजन र उसका बुबाहरु अत्यन्तै मिल्ने साथी रहेछन् । समाजमा व्याप्त अन्याय, अत्याचार, असामानता, शोषण र दमनको बिरोध गर्ने यात्रामा उनीहरुका दुवैजना बुबाहरुले धेरै नै कष्टपूर्ण जीवन बिताएछन् । जतिसुकै कष्ट र सकस भएपनि समाज परिर्वतनको यात्रामा उनीहरु दुवैजना निरन्तर रुपमा लडि नै रहेछन् । परिवर्तनको युद्ध मैदानमा लड्दालड्दै परिवर्तन बिरोधीहरुको तातो गोली खाएर दुवैजना बुबाहरु शहीद भएछन् । धने र साजन दुवै टुहुरा भएछन् । सोकमा डुबेका आमाहरुले धने र साजनलाई कलम कापी किन्ने पैसासम्म दिन सकेनछन् । कलम कापीकै अभावमा उनीहरु स्कुल जान छाडेछन् । आफ्नै खेतबारीमा पसीना चुहाएर येनकेन जीवन गुजार्न थालेछन् । साजनका बुबा शहीद भएपछि उसका काका भुमिगत भएछन् । तेरो काका कता छ ? भन्दै साजनलाई पनि दुश्मनले अनेक दुःख दिन थालेछन् । यतिकैमा साजन र धने पनि दुश्मनका बिरुद्ध जनमत सिर्जना गर्न थालेछन् । बहुदल आएछ । साजनका काका मन्त्री भएछन् । काका काठमाण्डौ नै बस्न थालेछन् । समय बित्दै जाँदा काका गाउँ आउन छाडेछन् । साजन नै काका भेट्न काठमाण्डौ गएछ । काकाले खासै वास्ता नगरेपछि साजन निरास भएर गाउँ फर्केछ । साजन र धने मिलेर फेरि आफ्नै सुतीखेतीमा रमाउन थालेछन् ।
युवा अवस्थाको तुलना
साजन र धने खेतीपाती गर्दै जेनतेन जिन्दगी धान्दै गाउँमै बसेका रहेछन् । यतिकैमा एकदिन साजनका केही पूराना साथी साजनका काकाहरुले जनतालाई धोका दिएको भन्दै साजन र धनेका बुबाहरुको बलिदानलाई त्यसै खेर जान दिनु हुन्न । अब नयाँ सिराबाट शसस्त्र क्रान्ति गर्नुको बिकल्प नरहेको भन्दै सम्झाउँदै आएछन् । त्यस्तो क्रान्तिकारी कदमको थालनी पनि अरु कसैबाट नभएर क्रान्तिलाई नजिकबाट बुझेका स्वयं शहीद परिवारकै अगुवाइमा हुनु पर्छ भन्दै साजनलाई जुरुकजुरुक बनाएछन् । काकाको व्यवहारबाट निराश भएको साजनको रगत भुलुकभुलुक उम्लिएछ । साजनले उक्त कुरा धनेलाई पनि सम्झाएछ । दुवै जना मृत्यु वा मुक्तिको कसम खाँदै शसस्त्र क्रान्तिमा होमिएछन् । शसस्त्र संघर्ष चर्कदै जाँदा धने कि छोरी स्कुलबाटै बेपत्ता भइछ । साजनको छोरो गोली खाएर पनि बाँचेछ । शरीरमै गोली बोकेर अपाङ्ग जीवन जिउन बाध्य भएछ । साजन र धने पटक पटक मृत्युको मुखबाट बालबाल बाँचेका अनगिन्ति अविष्मरणीय क्षणहरु रहेछन् । शसस्त्र युद्ध उत्कर्षमा पुग्दै जाँदा एकाएक नेताहरुको दिल्ली दौडाहा मच्चिन थालेछ । दिल्लीमै बिभिन्न बुँदामा सम्झौता भएछ । उनीहरुले भनेजस्तै जनताले नै संविधान बनाउन पाउने गरी निर्वाचन हुने भएछ । सम्झौता बमोजिम नै निर्वाचन समेत भएछ । साजन पनि सभासद भएछ । धनेले साजनलाई सभासद बन्न सक्दो सघाएछ । साजन जनताको संविधान बनाउन कस्सिएछ । धने परम्परागत खेतीपातीमै लागेछ ।
बर्तमान अवस्थाको तुलना
दुई बर्ष भित्रमा संविधान बनाउने भनेर सभासद भएको साजनले चार बर्षसम्म पनि संविधान बनाउन नसकेपछि ऊ आगो भएर गाउँ फिरेछ । फेरि आफ्नै नेताहरु काकासँगै मिल्न गएको र काकाहरुसँग मिलेर जनतालाई अर्काे धोका दिएको भन्दै नेताहरुले गर्ने नक्कली निर्वाचन बहिस्कार गर्न साजनले धनेलाई उकासेछ । फेरि एक पटक साजन र धने निर्वाचन बहिस्कारको अभियानमा बम र बारुद बनेर पड्केछन् । त्यसपछि साजन काठमाण्डौतिरै हराएछ । धनेले आफ्नै खेतबारीमा पसीना चुहाएर जीबन धान्ने परम्परागत जीवनशैलीलाई नै निरन्तरता दिएछ । समय बित्दै जाँदा साजन र धनेका बीचमा समेत भेटघाट बन्द भएछ । धनेले एकदिन एफएम रेडियोबाट थाहा पाएछ कि साजन र उसका काका विगतका सबै कुरा विर्सेर एक भएछन् । सुखी नेपाली र सम्बृद्ध नेपालको नयाँ नारा सफल पार्न सबै एकजुट भएर लाग्नु पर्ने कुरा जोडतोडका साथ उठाउन थालेछन् । खरो बहस गर्ने लोकप्रिय पत्रकार ऋषी धमलाको नेपाली बहस मार्फत काका भतिज दुवै सम्बृद्ध नेपालको नारा देशैभरि घन्काउन थालेछन् । सम्बृद्ध नेपाल निर्माण गर्न र संविधानको कार्यान्वयन गर्न भन्दै विभिन्न चरणमा मुलुकैभरि सयौं सिंहदरबारका कयौं निर्वाचन भएछन् । साजन र साजनका काकाले धनेलाई समेत आफ्नो मत खेर नफाल्न राम्ररी नै सम्झाएछन् । धनेले फेरि अर्काे एक पटक साजनलाई भोट दिएछ । साजनले अत्याधिक मत ल्याएर निर्वाचन जितेछ । अनि आज ऊ ठूलै मान्छे भएर सानमानका साथ गाउँ आएछ । साजनलाई उसका नयाँ नयाँ साथी र उसका काकाका आफन्तजनले भब्य स्वागत गरेछन् । स्वागतको लाइनमा हिजो साजनलाई सक्दो सराप्नेहरुको पनि लामै लर्काे रहेछ । यो दृश्य देखेर धने अक्क न बक्क भएछ । धनेले उसको साथी साजनलाई बोलाउनेसम्म आँट गर्न सकेनछ । यसरी सुरक्षाकर्मी, नयाँ नयाँ कार्यकर्ता र आफन्तजनले घेरिएको साजन खादा र माला पहिरिएर सान र मानका साथ काका घरतिर लाग्दा उता धने चाहिँ काँधमा हलो हालेर आफ्नै झुपडीतिर सोझिएछ ।
धनेका दुई निश्कर्ष
बाल्यकालदेखि उस्तै जीवन जिउँदै आएको साजन र आफ्नो जीवनमा घटेका ती उतार चढाबपूर्ण घुम्ती र मोडहरु केलाइसक्दा पनि साजन र उसको जीवनमा किन त्यति गहिरो खाडल परेको होला ? भन्ने प्रश्नको छेउटुप्पोसम्म पहिल्याउन नसकेपछि धने लामो शास फेर्दै अर्कातिर पल्टिएछ । अनि उसले मनमनै सोचेछ कि, अब फेरि साजनले पनि साजनकै काकाहरुको जस्तै धोका दिएको भन्दै अर्काे कुनै पात्र धनेलाई सम्झाउँदै आउला । अर्काे क्रान्ति गर्ने उत्तेजक कुरा गर्ला । बाँचुञ्जेलसम्म यस्ता घटनाका श्रृंखला कति पटक पुनराबृत्ति होलान् ? भन्ने जस्ता अनेक प्रश्न धनेका मनमा उब्जन थालेछन् । उही पृष्ठभुमीका साजन र साजनका काकाको जीवनमा त्यति ठूलो परिवर्तन आउँदा पनि आफ्नो जीवन चाहिँ झन् कष्टपूर्ण बन्दै गएको कुराले धनेलाई निकै भावुक समेत बनाएछ । साजन र साजनका काकाहरु र आफु जस्ता जनता मध्ये नेपालमा को चाहिँ धेरै होलान् ? भनेर धनेले तुलना गरेछ । आफूजस्ता लाखौं जनता विदेशमा गएर आफूभन्दा कडा श्रम गरिरहेकाले आफू आफ्नै देशमा अल्पमतमा परेजस्तो पनि लागेछ । फेरि गम्दै लाँदा आफ्नै देशभित्र पनि आफूजस्तै जनताको अत्याधिक बहुमत रहेको पहिलो निश्कर्ष निकालेछ । सायद नेताले भनेको वर्ग संघर्ष यस्तै होला । नयाँ नयाँ वर्गको उदय र पतनको श्रृंखला यसरी नै अघि बढ्दै जाँदा कुनै दिन अत्याधिक बहुमतमा रहेका आफूजस्ता जनताको बर्ग पनि पक्कै बदलिएला वा वर्गविहिन समाजकै स्थापना होला भन्ने दोश्रो निश्कर्ष निकाल्दै धने झकाएछ ।


953 पटक हेरिएको 








