पुस्तकालयमा लगानी बढाऊ

  सम्पादकीय

 428 पटक हेरिएको

शिक्षाले नै मुलुकका लागि दक्ष जनशक्ति निर्माण गर्दछ । विकासका लागि दक्ष जशक्ति र चेतनशील नागरिक आवश्यक पर्दछ । यसका पठन संस्कृति विकास हुनु अनिवार्य छ । पठन संस्कृति विकासका लागि पुस्तकालयहरुको महत्वपूर्ण भूमिका रहन्छ । तर, चेतनशील समाज निर्माण गर्ने पुस्तकालयप्रति राज्य भने उदासिन देखिन्छ । पुस्तकालय स्थापना र सञ्चालनमा राज्यको लगानी अत्यन्तै कम मात्र छ । लगानी गर्दा पनि पहुँच र प्रभावको भरमा मात्र लगानी गर्दै आएको छ । सरकारी भन्दा निजीस्तरबाट खोलिएका पुस्तकालयहरु नेपालमा बढी छन् । रीड नेपाल, रुप टु रिड नामक संस्थाहरु र समुदायका अगुवा व्यक्तिहरुले आफ्नै पहल प्रयासमा पुस्तकालयहरु स्थापना गरेका छन् । मुलुकमा १२ सयको हारारहारीमा सामुदायिक पुस्तकालहरु रहेका छन् । तर, पुस्तकालयप्रति सरकारी उदासिनताका कारण केही पुस्तकालयहरु बाहेक सबैको अवस्था अत्यन्तै दयनीय छ ।
पछिल्लो समयमा पठन संस्कृति हराउँदै गएको छ । पठक संस्कृतिको विकास गर्दै ज्ञानमा आधाररित सभ्य र सुसंस्कृत समाज निर्माणमा भूमिका खेल्ने पुस्तकालयलाई राज्यले प्राथमिकता दिनु पर्दछ । गुणस्तरीय शिक्षाका लागि पुस्तकालय अपरिहार्य छ । पुस्तकालय शैक्षिक संस्थाहरुको आधारशिला हो । यसलाई मनन गरेर सरकारले ढिलै भएपनि विद्यालयहरुमा पुस्तकालय स्थापना गर्ने कार्य शुरु गरेको छ । तर, पुस्तकालय बुझेको जनशक्तिको अभावमा भएका विद्यालयका थोरै पुस्तकालयहरु पनि राम्ररी सञ्चालनमा आउन सकेका छैनन् । समाजको वृहत्तर विकासमा योगदान पु¥याउने पुस्तकालको सञ्चालन र व्यवस्थापनमा अब स्थानीय सरकारले चासो दिन आवश्यक छ । नागरिक शिक्षित र चेतनशील नबनेसम्म कुनै पनि विकासका कामहरु औचित्यपूर्ण हुन सक्दैनन् ।
नेपालको संविधानले पनि स्थानीय तहले पुस्तकालय सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । यसको मर्म भनेको स्थानीय तहले पुस्तकालय स्थापना र सञ्चालन गर्नु पर्छ भन्ने हो । यसैले आफ्नो वार्षिक बजेटको केही अंश पुस्तकालयमा पनि विनियोजन गरेर पुस्तकालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक छ । इलाम नगरपालिकाले यो कार्यको थालनी गरिसकेको छ । यसरी नै अन्य स्थानीय तहहरुले पनि पुस्तकालय स्थापना र सञ्चालनलाई महत्व दिन सकियो भने समुदायको स्तर उकास्नका लागि पुस्तकालयले ठूलो भूमिका खेल्न सक्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार