भुवन सुब्बा खरेल र सेती नदि

  प्रतिभा पौडेल

 937 पटक हेरिएको


वि.सं.२०१५ साल कात्तिक ११गते माता कलावती सुब्बा र पिता नारायणध्वज सुब्बाबाट मेम्यो बर्मामा जन्मेकी हुन् र बर्माबाट खेदिनेहरूको हुलमा बाल्यावस्थामा नेपाल छिरेकी भुवन सुब्बा झापाको काँकरभिट्टा निवासी कमल खरेलसँग वैवाहिक सम्वन्ध गाँसेर सोहि ठाउँमा स्थाई बसोबास गर्दैआएकी स्रस्टा हुन् । वि.सं. २०४७ सालदेखि बिभिन्न पत्रपत्रिकामा रचनाहरू प्रकाशन गरेर साहित्यिक यात्रा शुरुवात गर्ने उनी शिक्षण पेशामा संलग्न हुनुका साथै सुसेली साहित्यिक परिवार मेचीनगर ,नेपाल स्काउट झापा, नेपाल भारत सहयोगमञ्च झापा लगायत संघसंस्थाहरूमा समेत आवद्ध छन् ।
साहित्यको विशेषगरी कथा विधामा कलम चलाउने भुवन कविता, निबन्ध र समालोचनाका क्षेत्रमा पनि फुटकर रचनाहरू प्रकाशित भएका छन् । सेती नदी ः– ‘सेती नदी’ कथासंग्रह २०६७ सालमा प्रकाशित कृति हो । यसभित्र ९ वटा कथाहरू समावेश भएका छन् । ती कथाहरूमा विशेष गरी गरिबीले ल्याएको समस्या ,व्यङ््ग्य विद्रोह आदि कुराहरूलाई मार्मिक रुपले व्यक्त गरिएको छ ।
आधा आकाश —यो यस संग्रहको प्रथम कथा हो । यो कथा नारीमुक्तिका नाममा विभिन्न संघसंस्था र अधिकार कर्मीहरूले विदेशी संघ सँस्थाहरूबाट सहयोगको रूपमा प्राप्त हुने रकमको दुरुपयोग गरेको प्रति मुख्य व्यङ््ग्य गरिएको छ । यता वास्तविक ग्रामीण नारीहरूको अवस्था भने ज्युँका त्युँ रहेको र ती मजदुरी गरेर जीविका चलाइरहेका नारीहरूलाई के हो महिला अधिकार भन्ने सम्म पनि थाहा नभएको तीतो यथार्थ यहाँ व्यक्त भएको छ ।
दोस्रो कथा ‘दिलबहादुर अरब गयो’ मा हजारौं नेपालीहरूले रोजगारीको सिलसिलामा विदेशिनु परेको तीतो यथार्थ दिलबहादुरको माध्यमले व्यक्त भएको छ । बल,सीप,जोस जँगरको स्वदेशमा उपयोग गर्न नपाउनु र त्यो अमूल्य पसिना र परिश्रम विदेशी भूमिमा पोख्नु पर्ने बाध्यात्मक परिस्थिति झल्किएको छ । तेस्रो कथा ‘मनकुमारी’ मा समाजमा नारीहरूले जँड्याहा श्रीमान पाँउदा कस्तो पीडा भोग्नु पर्छ जँड्याहा बाबुका कारण छोराछोरीले समेत कस्तो दु ःख पाउँछन् र यति हँुदाहुदै फेरि पितृसतात्मक सोच भएको हाम्रो नेपाली समाजको एक दृष्य यहाँ प्रस्तुत भएको पाइन्छ । यस संग्रहको चौथो कथा ‘अलख निरन्जन’हो । यस कथामा कुनै किशोर अवस्थामा रहेका मान्छेको मनोविज्ञान कसरी परिवर्तन हुन्छ , कस्ता कुराले ती उमेरका युवाहरूमा बढी प्रभाव पार्छ भन्ने कुराको मनोवैज्ञानिक अवलोकन यहाँ गरिएको छ ।
यस्ता उमेरका युवाहरूमा संगतले पनि कस्तो प्रभाव पार्छ भन्ने कुराको पनि अनुमान लगाइएको कथा हो यो । मान्छेको मनभित्रका इच्छा र चाहनाहरू बाहिर देखिने रूपमा भन्दा अलग हुने गर्छन् जो समय सँगै बद््लिएर विपरित दिशातर्फ पनि जान सक्छन् आशा निराशामा र निराशा आशामा पनि परिणत हुन सक्छन् भन्ने कुराको चित्रण यस कथाले गरेको छ । एउटा गृहस्थ युवामन बद््लिएर जोगी बन्छ र एउटा जोगीको भेषमा हिडिरहेको मान्छे फेरि गृहस्थ जीवनमा फर्कन्छ ।
यसरी युवा अवस्थाको मानसिक उथलपुथलका कुराहरू यस कथाले बताएको पाइन्छ । यस संग्रहको अर्को कथा ‘जीवन एउटा बोझ’ हो । विशेषगरी तराई क्षेत्रका आदिबासीहरूको प्रतिनिधिमुलक कथा हो यो । यसमा तराई क्षेत्रका सम्पन्न बर्गका अदिवासीहरू पहिले विद्यालय, मन्दिर आदिलाई जग्गा समेत दान गर्न सक्ने अवस्थाका थिए तर आज तिनै सम्पन्न आदिवासीहरूले परिस्थिति अनुशार आफुलाई चलाउन नसक्दा र समय अनुशार परिवर्तन हुन नसक्दा आर्थिक बिपन्नतामा झर्नुपरेको प्रसंग यहाँ उल्लेख भएको छ ।
अर्कातिर गरिबी र अभावका कारण घर झगडा र असन्तुष्टि अनि त्यहि असन्तुष्टिको तुवाँलोले जीवनलाई ढाकेको तीतो सत्य कथामा पाइन्छ । साथै मानिस अति गहिरो अभावमा फसेपछि उस्ले जीवन भन्दा पनि पैसाको महत्व बढी देख्तोरहेछ भन्ने आसय यस कथाको यो भनाइबाट प्रस्ट हुन्छ, हेरौं यस कथाको एक अंश —
‘ हतारोको वास्तै नगरी माइली भन्छे’दुर्गा दिदी एउटा कुरा सोधूँ ?‘माइलीको अनुहार भावविहीन छ, मृत मानिसको जस्तै । उसका आँखाले एकोहोरो सँग धारामा बगिरहेको पानी हेरिरहेछन् । दुर्गा दिदीलाई अनौठो लग्छ , उत्सुक्ता पूर्वक उनी भन्छिन्‘के कुरा ! भनन ?’ शून्य दृष्टि लिएर ऊ बोल्छे —‘खुट्टामात्र किचिनुको साटो माइला एक्सिडेन्टमा मरेको भए एक लाखसम्म त पाइन्थ्यो होला नि !’विस्फारित नेत्र लिएकी दुर्गा्दिदीको हातबाट थाल चिप्लिएर भुईँमा बजारिन्छ झननननन !’
एक्सिडेन्टबाट घाइते भएको आफ्नो श्रीमान भन्दा पनि पैसा बढी महत्वपूर्ण भएको माइलीको यो भनाइबाट, अभावले मान्छेलाई कहाँसम्म पुर्याउँछ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । अभावको पराकाष्टामा मानिस चेतनासुन्य पनि बनिदिन्छ । उस्ले केवल सम्पत्ति वा पैसा मात्र सबै भन्दा महत्वपूर्ण देख्न थाल्छ भन्ने आसय यस कथाले व्यक्त गरेको छ । यस सँग्रहको छैटौं कथा ‘सेती नदी’ हो ।
यो कथाको शीर्षकबाट नै कथासँग्रहको नामाकरण पनि गरिएको छ । सामाजीक अन्धविस्वास र कुरीतिका पछि लाग्ने खाल्को मानसिकताले एउटा जीवनमा ठूलो प्रभाव पार्छ भन्ने कुरा यस कथामा व्यक्त भएको छ । एउटा सुन्दर शान्त पारिवारिक जीवन बाँचिरहेको परिवार कमजोर मानसिकता र पितृसतात्मक सोचका कारण आउने धमिलोपनले ग्रसित बनाएपछि समस्या उत्पन्न भएकोकुरा कथामा यसरी व्यक्त भएको छ —‘राधा तिमीसँग एउटा सल्लाह गर्नु छ !’‘कस्तो सल्लाह ? घर आएर गर्दा हुन्न ? भोली कति बजे आउने ? काठमाण्डौंमा जग्गा किन्ने भन्दै हुन्ुहुन्थ्यो, शायद …….मलाई त्यस्तै लाग्यो ।’
‘तिमी नरिसाऊ है, म बिहे गदैछु । एउटा छोरो त चाहियो नि !’
‘म छाँगाबाट खसेँ । म छु कि छुइन जस्तो भयो । हात खुट्टा कामे, मुटुको धड््कन बढ््यो । मलाई सगरले थिचे जस्तो भयो । मेरो मुखबाट कुनै शब्द फुटेन, कतिखेर आँखाबाट आँशु बनेर पीडा बग्न थालेछ ! मैले फोन राखिदिएँ । जिन्दगीको सङ््घर्षमा हामी दुईले बराबरीको काँध हालेर कसरी यो सम्बन्धलाई प्रगाढ बनाएका थियौं ? आज एउटा जर्जर, बर्बर साँस्कृतिक मूल्य र मान्यताको अघि एउटा नैसर्गिक सम्बन्धको अवमूल्यन गर्ने अधिकार कस्ले कस्लाई दियो ?’ (पेज २८÷२९)
एउटा सुन्दर प्रेमिल पारिवारिक जीवन भोगिरहेकी राधा दुईवटी छोरीका साथ घर सम्हालेर बसिरहेकी र उस्को श्रीमानले बैदेशिक रोजगारिबाट घरखर्च धानिरहेको त्यो शान्त परिवेशमा छोरो पाउनै पर्ने संकुचित सोचका कारण विदेशबाटै अर्को बिहे गर्ने सोच बनाएर अचानक काठमाण्डौं आएको श्रीमानको फोनबाट राधा मर्मा्हित बनेको यो प्रसंगले वंश चलाउने पितृसतात्मक सोचको मुकुण्डो भिरेको लोग्ने सामु एउटी नारीले कस्तो आघात खप्न पुग्छे र उस्को शान्त हृदयमा कसरि पहिरो उर्लन्छ भन्ने कुराको चित्रण यस कथाले गरेको छ । पहिला पहिला त छोरी नै भए भैगयो नि किन चहियो र छोरा भन्ने मान्छेले अचानक सोच बदलिएर छोरा पाउने अभिलासाले अर्को बिहे गर्ने निर्णय सुनाएपछि पीडाले आक्रान्त बनेकी राधा पितृसतात्मक सोच र कुसँस्कारको जालोले जकडेको समाजभित्र आफूलाई समेत उठ््नै नसक्नेगरी जेलेको महसुुस गर्न पुग्छे ।
झिल्को ः— झिल्को एउटा ग्रामीण जीवनमा बनीगरेर निर्वाह चलाइरहेका नारीहरूको यथार्थ चित्रण हो । जहाँ स्कूल पढदै गरेका अबोध बालबालिकाले पनि अभावको प्रत्यक्ष पीडा महसुुस गर्नु परेको छ । स्कूल पढ््दै गरेकी सानुलाई स्कूल बन्दका बेलामा आमाको काममा सहयोग गर्नु पर्ने बाध्यता छ । आमाले भन्सार छलेर ल्याएका सामानहरू स्कूल बन्द भएका बेला वल्लो पल्लो बजारमा पुर्याउन सघाउनु पर्ने उस्को काम हो । दुईछाक टार्नका लागि लुकिचोरी यस्ता शारिरिक एवं मानसिक कष्टपूर्ण रूपमा गरिने व्यापारका सामानहरू पनि गस्तीले भेटेर लुटिदिँदाको पीडा सानुको मनमा विद्रोहको झिल्को बनेर सल्किन पुग्छ । कलिलै उमेरमा सानुलाई उस्को परिस्थितिले विद्रोही बनााइदिएको प्रसंग यस कथाले व्यक्त गरेको छ । परिणति ः— गरिवी र अभावले विरोलेको नेपाली ग्रामीण जनजीवन जस्लाई महंगीले पारेको नकारात्मक प्रभाव तीतो सत्यका रुपमा व्यक्त गरेको कथा नै परिणति हो ।
अर्थात अभावले उत्पन्न द्धन्द्ध,र द्वन्द्वबाट उत्पन्न रीस पोख्न आफूभन्दा निरीह प्राणीमाथि प्रहार गर्न पुग्छ म पात्रले । एउटा साधारण कर्मचारीको तलब कहिल्यै बढ््दैन तर किन्ने सर सामानको मूल्य आकाशिएर माथि पुग्छ अनि एकातिर घर खर्च टार्न मुस्किल छ भने अर्का्तिर बिरामी परेर अपर्झट अस्पताल जानुप¥यो भने एकहजार सम्म पनि पैसा साथमा नहुनुको पीडा हाम्रो नेपाली जनजीवनको वास्तविक परिणतिलाई यहाँ बढो मर्मस्पर्शी रुपमा देखाइएको छ । यस कथा संग्रहको नवौं तथा अन्तिम कथा ‘सरकारी खर्च’ हो । दिनहूँ बनीगरेर खाने गरिब परिवारको कथा हो यो । जीते र धनीकी एउटीमात्र छोरी जो सानैमा रोगी हुन्छे । उपचार गर्ने खर्च जुटाउन नसकिरहेको बेला सरकारबाट स्कूलमा छोरीलाई छात्रावृत्ति दिइने खबरले जीते र धनी फुरुङ्ग बन्दछन् र छात्रावृत्तिबाट आउने रकमले छोरीको उपचार गर्ने, कापी र पेन्सिल किन्ने, साथै छोरीलाई खुहाउने फलफूल किन्ने लगायत थुप्रै काल्पनिक योजनामा डुबिसकेका हुन्छन्् । तर बिडम्बना स्कूलबाट पाएको पैसाले छोरीको उपचार र औषधी त कता हो कता जाँचाउन लाग्ने फी सम्म नपुग्ने भएपछि जीते हस्रक्क पर्छ । र त्यही पैसाले रक्सी खाइदिन्छ ।
यसरी एकातिर सरकारबाट छात्रावृतिका नाममा दिईने न्युन रकमप्रति र अर्कातिर महंगीप्रति पनि व्यङ््ग्य गर्न खोजिएको छ । त्यस्तै गरी अहिलेका उपचार पद्धति पनि सेवाभन्दा पेशातिर बढी आकर्षित भएको प्रसंग कथाले बोलेको छ । गरिबका लागि जति गरेपनि समस्या जहाँको तहिँ हुन्छ । कसैको दयाले थोरै सहयोग दिएपनि आवश्यकता असंख्य हुनाले कुनै पनि समस्या छेउ नलाग्ने वास्तविकता यस कथाले व्यक्त गरेको छ ।समग्रमा ९ वटा कथाहरू समेटिएको भुवन सुब्बा खरेलको कथा संग्रह सेती नदी विशेषगरी नेपाली ग्रामीण जनजीवनको यथार्थ चित्रण हो भने पितृसतात्मक सोचबाट पीडित नारीहरूका समस्यालाई कथाकारले अघि सारेको पाइन्छ । प्रथम कृति भएपनि भुवन सुब्बाको यो कृति निकै अब्बल देखिन्छ । भाषिक शुद्धतामा समेत निकै ध्यान दिइएको यस कृतिमा सामाजिक जनजीवनको विशेषत ः चित्रण पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार