गुणस्तरीय शिक्षा, शिक्षक र विद्यार्थी

   अरुण नेपाल

 1314 पटक हेरिएको


नेपालको शिक्षा गुणस्तरीय भएन । ज्ञान सीपयुक्त जनशक्ति उत्पादन हुन सकेन । प्रमाणपत्रधारी युवा आफ्ना प्रमाणपत्र रद्यीको टोकरीमा मिल्काउँदै विदेशिन बाध्य भए । विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना जस्ता भए । अनुसन्धान केन्द्रित शैक्षिक संस्थाको सर्वथा अभाव रहयो । थोरै मात्रामा भए गरेका अनुसन्धान गुणस्तरीय हुन सकेनन् । केही अनुसन्धान कार्य गुणस्तरीय नै भए पनि दराजमा थन्केर बसे । लक्षित समुहसम्म पुग्न सकेनन् । अनुसन्धान जस्तो गहन विषय व्यापार व्यवसायको चरम शिकार भयो । अनुसन्धान प्रतिवेदन किनबेच गरेर प्रमाणपत्र हात पार्ने खेती फस्टाउँदै गयो । शिक्षा राज्यको दायित्वभित्र पर्न सकेन । सरकारी शिक्षण संस्थाको हालत त झन् धेरै खराव भयो । प्राविधिक, बहुप्राविधिक, व्यावसायिक, बैज्ञानिक र व्यावहारिक शिक्षाको सर्वथा अभाव रह्यो । शिक्षाले श्रमको सम्मान भन्दा पनि घृणा गर्न सिकायो । अल्छि, ढोँगी र गफाडीको जमात मात्र जन्मायो । दास मनोवृत्तिले ग्रसित लोभी, पापी, पदलोलुप, चाकडीबाज, केवल जागिरे मानसिकतामा सीमित स्वार्थी समुह मात्र उत्पादन भए । उच्च नैतिकवान चिन्तक र प्राज्ञिक व्यत्तित्वको अपेक्षित विकास हुन सकेन । वर्तमान शिक्षा प्रणालीले विद्यार्थीवर्गलाई सिर्जनशील, चिन्तनशील र आलोचनात्मक बनाउनै सकेन । गुणस्तरीय शिक्षा सम्बन्धि यी र यस्ता अनेक टीकाटिप्पणी सुन्नु सुनाउनु शिक्षा सम्बन्धि चिन्ता गर्ने हरेक जसो व्यक्तिको जीवनशैली नै जस्तो भइसक्यो ।
शिक्षक
शिक्षकका सम्बन्धमा पनि अनेक टीकाटिप्पणी सुन्ने गरिएका छन् । शिक्षकले मन लगाएर पढाएनन् । उनीहरु पेशाकर्मी बन्नै सकेनन् । अमुक अमुक राजनीतिक दल र गुटका झोले भए । चाकडी चाप्लुसीमै लिप्त भए । पद र पैसालाई मात्र अर्जुनदृष्टि बनाए । हेलमेट शिक्षक भए । नीजि ट्युसन सेन्टरमै बढि रमाए । अध्ययन, अध्यापन, र अनुसन्धान जस्ता प्राज्ञिक कार्यलाई गौण बनाए । अर्कालाई खुइल्याउन र होच्याउनमै महत्वपूर्ण समय खेर फाले । पाठ्यक्रममा उल्लेख भएका उद्येश्य बमोजिम पठन पाठन गरेनन् । पाठ्यपुस्तकको सीमा भन्दा वरपर सोच्दै सोचेनन् । पाठ्यक्रममा उल्लेख भएको घण्टी बमोजिम पढाएनन् । पाठ्यक्रममै उल्लेख भएका धेरै विद्यार्थी केन्द्रित शिक्षण विधिलाई वेवास्ता गर्दै व्याख्यान विधि जस्ता केही शिक्षक केन्द्रित विधिमा मात्र सीमित भए । परीक्षामा आउन सक्ने केही कुरालाई घोक्न उत्पे्ररित गर्न मात्र माहिर भए । कक्षाकोठामा आधुनिक प्रविधि भित्र्याउन अनिच्छुक देखिए । शैक्षिक संस्थामा स्वच्छ र स्वस्थ शैक्षिक वातावरण सिर्जना गर्न असफलप्रायः भए । औपचारिक वा अनौपचारिक रुपमा हुन सक्ने प्राज्ञिक र बौद्धिक बहसप्रति पूरै उदासिन भए । प्रा.डा. विद्यानाथ कोइरालाका शब्दमा शिक्षक शिक्षण नगर्ने हराम, बेइमान, कर्तव्यच्युत, अमुक दलका झोले मात्र भए । हरेक जसो शैक्षिक संस्थाको शैक्षिक नेतृत्व समेत उस्तै फित्तलो भयो । अमुक राजनीतिक दलको इच्छामा चल्यो । कुशल व्यवस्थापकको भुमिका निर्वाह गर्न सकेन । पूर्वाग्रही भयो । चाकडी र चाप्लुसीको संस्कारलाई बढावा दियो । प्राज्ञिक स्वतन्त्रताको बाधक भयो । दण्ड र पुरस्कारलाई निश्पक्ष र न्यायपूर्ण ढंगले लागु गर्न सकेन । आदि, इत्यादि ।
विद्यार्थी
विद्यार्थीका बारेमा समेत यस्तै अनेक टिप्पणी हुने गरेका छन् । पहिलो कुरा त धेरै विद्यार्थी कक्षा कोठामा पाइलै राख्दैनन् । कति पर्यटक जस्तो कहिलेकहिँ झुल्कन्छन् । कति नियमित उपस्थित भए पनि परीक्षा बाहेक बाँकी समयमा खासै मन लगाएर पढ्दैनन् । पाठ्यक्रमको उद्येश्य अनुसार पढ्ने कार्यमा त झन् उनीहरु अभ्यस्त नै छैनन् । जसरी हुन्छ परीक्षामा येनकेन पास गर्ने कुरा नै उनीहरुका लागि प्राथमिकताको विषय हो । केवल परीक्षा पास गर्न कक्षा कोठामा नगए पनि हुन्छ भन्ने कुराले दरै जरा गाडे जस्तो महशुस हुन्छ । परीक्षाकेन्द्रित कक्षा बजारका ट्युसन सेन्टरमा लिदाको मज्जा, आनन्द र सान नै बेग्लै देखिन्छ । ट्युसनमा छुटेका बाँकी कुरा पूरा गर्न बजारमा सहजै प्राप्त हुने पूराना नोट, गाइड र गेसपेपर नै काफी छन् । त्यसकारण पाठ्यक्रममा उल्लेख भएका आधिकारिक र महँगा पुस्तक किनेर पैसाको नास गर्ने कुरा नै बेठिक भएको हो कि भने जस्तो छ । परीक्षामा सोधिने प्रश्नका तयारी उत्तर भएका सहजै प्राप्त हुन सक्ने नोट, गाइड र गेसपेपर पढ्न छाडेर आधिकारिक पुस्तक पर्गेलेर पढ्ने झन्झट गर्नु पनि त त्यति उचित नहोला भन्ने तर्कले काम गरे जस्तो लाग्छ । एक दुई महिना ट्युसन सेन्टर धाएर वा बजारमा सहजै उपलब्ध नोट, गाइड र गेसपेपर पढेर तिन चार घण्टे परीक्षा पास गरिहालिन्छ भने बर्षभरि कक्षाकोठासम्म धाउने कुरा त्यति बैज्ञानिक र व्यावहारिक पनि त नहोला भने जस्तो पनि देखिन्छ । कतिपय कक्षामा त शिक्षकले नियमित पढ्न, लेख्न, अभ्यास गर्न, कक्षा कार्य गर्न, गृहकार्य गर्न, प्रस्तुतीकरण गर्न, समुह कार्य गर्न, अन्तरक्रिया गर्न, छलफल गर्न, चिन्तनमनन गर्न, विद्यार्थीभित्र अन्तरनिहित क्षमता प्रस्फुटन गर्न, वा यस्तै अनेक विद्यार्थी केन्द्रित विधिमा व्यस्त बनाएर हैरान समेत लगाउँछन भने त्यस्तो हैरानी बेहोर्न किन मरिहत्ते गरेर कक्षाकोठामै जाने होला भन्ने तर्क पनि सायद कम बैज्ञानिक तर्क होइन होला । विद्यार्थीका सम्बन्धमा हुने गरेका यस्ता अनेक टीका टिप्पणी ठीक बेठीक के हुन् भन्ने कुरा त विद्यार्थीवर्गले नै खुट्याउन् । तर विद्यार्थीका सम्बन्धमा यी र यस्ता धरै टीका टिप्पणी बारम्बार हुँदै आएको कुरा चाहिँ सोरै आना सत्य हो । हुन त सत्य निकै तितो हुन्छ भन्ने भनाइ पनि प्रख्यात नै छ । युवा विद्यार्थीवर्गलाई यस्ता तिता कुरा कति मन पर्ने हो भन्ने कुरा त समयले नै बताउला । तर गुणस्तरीय शिक्षाको केन्द्रबिन्दुमा रहेका बिद्यार्थीवर्ग जुरुक्कै नजागुञ्जेल गुणस्तरीय शिक्षाको नारा चाहिँ आकासको फल आँखा तरि मर जस्तै हुने कुरा अर्काे तितो सत्य हो । विद्यार्थीवर्गले हजारपटक सोचेर उचित कदम चाल्न कति पनि ढिला नगरुन् ।
टिप्पणीको चिरफार
गुणस्तरीय शिक्षा, शैक्षिक नेतृत्व, शिक्षक र विद्यार्थीका सम्बन्धमा हुने गरेका यहाँ उल्लेख भए जस्ता टिप्पणी त्यसै चाहिँ पक्कै पनि भएका होइनन् होला । यस सम्बन्धमा नीति निर्माता, शैक्षिक नेतृत्व, शिक्षक र विद्यार्थीले त्यस्ता केही गम्भीर विषयका बारेमा अलिक निधार खुम्च्याएरै सोच्न निकै ढिला नै भइसकेकै छ । जस्तै ः प्राविधिक, बहुप्राविधिक, व्यावसायिक, बैज्ञानिक र व्यावहारिक शिक्षाको अभावमै लाखौं शिक्षित युवा वर्ग रोजगारको खोजीमा विदेशिन बाध्य भएका हुन् भन्ने निश्कर्ष हो भने अब ती होनाहार युवावर्गलाई स्वदेशमै रोक्न सक्ने शैक्षिक नीति निर्माण गरी सफल कार्यान्वयन गर्न नीति निर्माता र शैक्षिक नेतृत्वलाई केले छेकेको छ ? विदेशी भुमीमा अकल्पनीय मानसिक र शारीरिक श्रम गर्न तयार युवावर्गलाई स्वदेशी श्रममै रमाउन केले रोकेको छ ? शिक्षकवर्गलाई शिक्षण पेशाप्रति प्रतिबद्ध बन्ने कुराको प्रमुख बाधक भनेकै उनीहरुको राजनीतिक आबद्धता नै हो भने यस्तो बाधा हटाउन सम्बृद्ध नेपाल निर्माणका अभियन्ता किन पछि हट्ने ? यदि शिक्षक र विद्यार्थी कक्षाकोठामा भेटै हुनु नपर्ने हो भने कक्षा कोठामा पढाउनकै लागि भनेर शिक्षकको व्यवस्था नै किन गर्नु प¥यो होला र ? बडेबडे शैक्षिक भवन र कक्षाकोठाहरुको व्यवस्थै पो किन गर्नु प¥यो होला र ? कक्षाकोठामै नजाने विद्यार्थीका लागि निकै ठूलो लगानी गरेर पुस्तकालयको व्यवस्था नै किन गर्नु प¥यो होला र ? कतिपय शिक्षक र विद्यार्थी नेताकै सक्रियतामा खोलिएका ट्युसन सेन्टरमा विद्यार्थी र शिक्षक दुवैको हक हित संरक्षण हुन्छ भने शैक्षिक संस्थाको स्थापना गर्ने झन्झट नै किन गर्नु प¥यो होला र ? पूराना नोट, गाइड, गेसपेपर, आदिले नै सबैको आवश्यकता पूर्ति हुन्छ भने पाठ्यक्रममा आधिकारिक किताबको सुची बनाउने झन्झट नै पो किन गरिराख्नु प¥यो होला र ? यस्ता निकै पेचिला प्रश्नको सामना गरिरहेको समग्र शैक्षिक क्षेत्रको मेजर अप्रेसन गर्न खुट्टा कमाउने डरपोकहरुले बरु गुणस्तरीय शिक्षाको गीत नै नगाए पो कानलाई केही शान्ति मिल्थ्यो कि ?
टिप्पणीको टुङ्गयाउनी
जे जति बहस र छलफल गरे पनि गुणस्तरीय शिक्षा मापन गर्ने प्रमुख (वा एउटै मात्र भन्दा पनि खासै फरक नपर्ला) आधार भनेकै परीक्षामा उत्तीर्ण गर्ने विद्यार्थीका टाउका नै रहेछन् । यो कुरा हरेकजसो शिक्षण संस्थाले पास वा फेल हुने विद्यार्थी संख्याकै आधारमा आफ्नो सफलता वा असफलता मापन गरेबाट स्पष्ट हुँदै नै आइरहेको छ । यदि यहि कुरा नै साँच्चै सत्य हो भने परीक्षा पास गर्न गराउन अब्बल ठहरिएका नीजि ट्युसन सेन्टर र नोट, गाइड तथा गेसपेपर उत्पादन गर्न सफल उद्योगहरुमै राज्यको लगानी गरेर शिक्षाको गुणस्तर उकास्ने अभियान पो छेड्नु पर्ने समय आएको हो कि ? यदि त्यसो होइन भने, शैक्षिक नीति निर्माता, शैक्षिक नेतृत्व, शिक्षक र विद्यार्थी आ आफ्ना समुहभित्र वा सबै एकै ठाउँमा बसी सामुहिक रुपमै महान् बहस छेडेर समग्र शिक्षा क्षेत्रमा पटक पटक उठ्ने यस्ता नकारात्मक टीकाटिप्पणीको मुहान नै सङ्ल्याउनतिर एक पटक जुरमुराउने पो हो कि ? शिक्षक विद्यार्थीलाई भ¥याङ्ग बनाएर राजनीतिक शिखर चुम्दै आएका राजनीतिक दलले पनि परिवर्तित अवस्थालाई ध्यान दिदै शिक्षक विद्यार्थीलाई मनैदेखि प्राज्ञिक गतिविधितिरै हेलेर मात्र सम्बृद्ध नेपाल निर्माणको सपना साकार हुन सक्ने सत्यलाई व्यवहारमा उतार्न कुनै कसर बाँकी नराख्ने हो कि ? सम्बन्धित सबै शैक्षिक नीति निर्माता, शैक्षिक नेतृत्व, शिक्षक, विद्यार्थी, राजनीतिक दल, सबै तहका सरकार, अभिभावकवर्ग, नागरिक समाज लगायत गुणस्तरीय शिक्षाका पक्षधर सम्पूर्ण सरोकारवालाको गम्भीर ध्यानाकर्षण होस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार