मानिस कतिसम्म अविवेकी र निकृष्ट हुनसक्छ भन्ने तथ्य खोज्न सामाजिक सञ्जालका भित्ता हेरे पुग्छ । डाक्टर केसीमाथि अपशब्द बर्साउनेहरुको मनोदशा देखेर आँखा चिम्लिनुको विकल्प छैन । तर यसको अर्थ डा. केसीको पक्षमा रहेजसोगरी सरकार र प्रधानमन्त्रीमाथि बर्साएका अपशब्दहरु चाहिँ सही हुन् भन्ने कदापि होइन । नेपाली भाषा त्यति दरिद्र छैन, कसैको आलोचना गर्न परिवारबीचमा उच्चारण गर्न नसकिने फोहोरी शब्द सापट लिनु परोस् । हिर्काउन पत्थर नै चाहिन्छ भन्ने छैन, पूmलको थुँगाले पनि प्रहार गर्न सकिन्छ ।
पछिल्लो उदाहरण एउटा नमुना छ । अघिल्लो पटक प्रधानमन्त्री बन्दा ओलीले तुइनलाई तत्काल झोलुङ्गे पुलले विस्थापन गर्ने आप्mनो संकल्प नागरिकलाई सुनाएका थिए । बाचा पूरा गर्न सकेनन् बरु त्यसैको चर्चा गर्दै अर्को गुड्डी हाँके तुइनका ठाउँमा पुल नभए केबल कार बन्छ । ओलीको छली कुरा आनीलाई मन परेन तर उनले ओलीलाई गाली गरिनन् । त्यसको सट्टा तुइन हटाउने कार्यका लागि भनेर आप्mनोतर्पmबाट प्रधानमन्त्री ओलीलाई एक करोड रुपियाँको चेत थमाइन् । सरकार प्रमुखलाई योभन्दा गतिलो थप्पड के हुन सक्छ ?
ढाँट कुरा गरेर जनतालाई भुस्ल्याउन सिपालु ओलीले सुमधुर मुस्कानसाथ आनीले दिएको चेक ग्रहण गरे । उनले भन्न सक्नु पथ्र्यो, धन्यवाद आनी । तर तुइन हटाउने मेरो संकल्प छ । म अहिले मुलुकको कार्यकारी प्रमुख हूँ । तुइन हटाउन राज्यकोषमा चाहेजति पैसा छ । तपाईं यो रकमलाई यस्तै सत् कार्यमा कतै लगाउनुस् । बरु त्यस काममा मेरो अर्थात् सरकारको सहयोग आवश्यक भयो भने मलाई भन्नु होला ।
आनी सन्याशीन हुन् । उनको कुनै खेतीकमाइ छैन न त जागीर वा व्यापार नै छ । प्रकृतिले उनलाई उत्कृष्ट मन र सुमधुर स्वर दिएको छ । अभ्यासले त्यसलाई थप सुरिलो पारेकी छन् । उनी भजन गाउँछिन्, मानिसका मनछुने गीत गाउँछिन् । सायद त्यो एक करोड उनका तिनै गीत र भजनबाट प्राप्त रोयल्टीको रकम हो कि ! सिर्जनाको पसिनाबाट आर्जित रकम नै हुनुपर्छ त्यो । र, त्यस थैलीले उनले ओलीको चेतलाई झकझक्याएकी छन् । ओलीको लाचारीलाई उनले मानवीय उपचार गरेकी छन् । ओलीले पैसा नभएर तुइन हटाउन नसकेका त होइनन् नि । उनमा त्यसो गर्ने आन्तरिक इच्छा नै छैन । उनी लहडी हुन्, एक दिन लहडमा भनिदिए, सबै तुइन हट्छन् र ती ठाउँमा पुल बन्छन् । अब आनीको पैसा समाएपछि त उनलाई कर लाग्ला नि आप्mना वचन पूरा गर्न ।
तुइनको कुरा छाडौं, तिनलाई हटाउन र तिनका ठाउँमा पुल बनाउन स्रोत, साधन र समय लाग्छ । उनले चुनावताका ताप्लेजुङ पुगेर विशाल जनभेलामा भने, तपाईंहरु योगेश भट्टराईलाई भोट दिएर सांसद बनाउनु होस् म उनलाई थपक्कै मन्त्री बनाउँछु । योगेशलाई मन्त्री बनाउन ओलीलाई स्रोत, साधन र समय केही चाहिँदैन थियो, मन भए पुग्थ्यो तर पनि उनले त्यसो गरेनन् । बाँचीरहे र प्रधानमन्त्रीमै कायम रहेभने अर्को निर्वाचनको दुई चार महिना पहिले टिप्न सक्छन् योगेशलाई । तर त्यसको पनि टुङ्गो त छैन, बरु अर्को पटक नजालान् ताप्लेजुङ ।
भनिन्छ ओलीले उच्चस्तरको औपचारिक शिक्षा लिएका छैनन् । त्यसलाई लिएर मानिसहरु व्यङ्ग्य गर्दछन् । तर त्यो व्यङ्ग्य कस्नु पर्ने बिषय होइन । औपचारिक शिक्षा लिने अवसर उनले पाएनन् । सामान्यतः शिक्षा आर्जन गर्ने जीवनको प्रारम्भिक कालबाटै उनी पञ्चायती अधिनायकवादको बिरुद्धमा संघर्षमा उत्रिए । भूमिगत हुनु प¥यो, कारावासमा रहनु प¥यो । कारावासमै रहेर पनि धेरैले उच्च शिक्षा ग्रहण गरेका छन् । ओलीले पनि स्वअध्ययन गरे होलान् अन्यथा राम्रो अंग्रेजी बोल्न सक्दैन थिए । तर औपचारिक प्रमाण पत्र लिनेतिर लागेनन् । उनको आस्थाले पनि बुर्जुवा शिक्षा वहिष्कारलाई नै प्राथमिकतामा राख्यो होला ।
तर पढेका र नपढेकामा फरक हुने रहेछ । बुर्जुवा शिक्षा पढेर नै सही आपूmले लिएको शिक्षालाई ‘बुर्जुवा शिक्षा’ को संज्ञा दिने क्षमता त पाए । पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो । पढ्ने कुरा पुस्तकसँग जोडिन्छ । तर पुस्तक पढ्दैमा ज्ञान बढ्छ भन्ने छैन । सूचना, जानकारी र ज्ञानमा अन्तर छ । प्राप्त सूचना र जानकारीलाई चिन्तन, मनन र अनुभवको मदानीले मथेर ज्ञान निकालिन्छ । ज्ञानले अहंकारलाई अलग राख्न सिकाउँछ । ओलीका सद्गुणहरु धेरै होलान् तर उनमा अहंकार उग्ररुपमा रहेको उनका अभिव्यक्तिहरुमा देखिन्छ । चलनचल्तिको भाषामा भन्दा उनी साह्रै मैमत्त देखिन्छन् । गल्ति मानवीय हो, मानिसबाट गल्ति कमजोरी हुन सक्छन् तर त्यसलाई स्वीकार्नु पर्दछ । ओलीबाट धेरै गल्ति कम्जोरी भएका छन् तर उनले ‘सरी’ भनेको कतै सुनिएको छैन ।
तर, जे भए पनि उनी हाम्रा प्रधानमन्त्री हुन्, जननिर्वाचित प्रधानमन्त्री । प्रजातन्त्रमा विश्वास राख्ने सबैले उनलाई आप्mनो प्रधानमन्त्रीका रुपमा स्वीकार्नै पर्दछ । त्यसैले उनका बारेमा टिकाटिप्पणी गर्दा शिष्ठ भाषा प्रयोग गर्नै पर्दछ । यो दुःखद हो ओली स्वयं बेलाबखत मर्यादित भाषा प्रयोग गर्न चुक्दछन् । तर उनले त्यसो गरे भनेर तपाईं हामीले पनि उनको सिको गर्नु किमार्थ सभ्य अभ्यास होइन । सभ्यता एक दिनको अभ्यासबाट आउने होइन तर असल अभ्यासको निरन्तरताले नै सभ्यता विकसित हुने हो ।
पंक्तिकारको बुझाइ गलत नभए यति बेला ओली बडो संकटमा छन् । उनका निकट सहयोगी समेत आजित भइसकेका छन् । उनका सहयोगीहरुमा अन्यथा स्वार्थ भएकाहरु पनि होलान् तर संगसंगै राजनीति गर्ने महत्वाकांक्षा भएका पनि छन् । ती राजनीतिक करियर बनाइरहेकाहरु ओलीको सती जान पक्कै तयार हुने छैनन् । डा. केसीको सत्याग्रहबाट ओलीले प्रधानमन्त्रीय आप्mनो आशन हल्लिएको अनुभव गरिरहेका छन् । उनले डा. केसीलाई नभन्ने कुरा भनिसके । अब आप्mना सहकर्मीले पनि त्यसै भनिदिउन् भन्ने इच्छा ओलीको छ । तर राजनीतिमा उदीयमान नेताहरु सार्वजनिकरुपमा केसीका माग गलत हुन् भन्न सक्दैनन् । समाचारमा आएको सही हो भने त नेकपाका अर्का सहअध्यक्ष पुष्पकमल दाहालले समेत केसीका माग जायज हुन् भनिसके ।
जुम्ला घटनाको जिम्मेवारी आप्mनो काँधमा लिन उनका कुनै सहयोगी उनको अगाडि उभिने छैनन् । त्यसले कस्तो मोड लिने हो टुङ्गो भइसकेको छैन तापनि त्यसका योजनाकार ओलीको सर्वत्र निन्दा भएको छ । सामान्यतः यस्ता घटना हुँदा गृहमन्त्रीलाई दोषिन्छ तर जानकारहरु कसैले पनि त्यसो नगरेर प्रधानमन्त्री ओलीतिरै औंलो ठड्याएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरुले बोल्न बाँकी नै छ । त्यसका अतिरिक्त डा. केसीको सत्याग्रहको अवतरण अजङ्ग भएर उपस्थित छँदैछ ।
डा. केसीको सत्याग्रहको शैलीलाई नरुचाउनेहरु समेतलाई उनका मागमा खोट लगाउने ठाउँ छैन । डा. केसीका मागको अपनत्व माथेमा आयोगको प्रतिवेदनले लिइसकेको छ । त्यो प्रतिवेदनका कुनै शब्दमाथि अहिलेसम्म कसैले नकारात्मक टिप्पणी गर्ने धृष्टता समेत गरेको छैन । बरु सामाजिक सञ्जालमा एक सज्जनले लेखे, डा. केसीले चिकित्सा शिक्षाको मात्रै कुरा उठाएका होइनन् तत्कालिन अख्तियार प्रमुखमाथि लोकमान कार्कीलाई लल्कार्ने पनि केसी नै हुन् । उनले त्यति नगरिदिएको भए र लोकमान थप केही समय अख्तियारमै रहेका भए हुनसक्छ यस बेला ओली कुनै कारागृहमा हुने थिए ।
ती सज्जनको टिप्पणीमा दम छ किनभने लोकमानले आप्mना पञ्जा राजनीतिक दलका शीर्ष नेताका कठालातिर बढाउँदैछन् भन्ने हल्ला चल्न थालेपछि मात्रै नेताहरुको ध्यान लोकमानतर्पm तेर्सिएको थियो । गोपाल पराजुलीलाई ठेगान लगाउने पनि केसी नै हुन् । चिकित्सा शिक्षामा भइरहेको लुटतन्त्रको आम जनतामाझ पर्दाफास पनि डा. केसीले नै गरेका हुन् । ओलीका सहयोगी कसैले पनि डा. केसीका मागलाई गलत भन्न सकेका छैनन् । त्यसैले उनीहरु संसदको सर्वोच्चता जस्ता कुरा गरेर उम्किन खोज्छन् । यस्तो क्षण नआउला भन्न सकिन्न ज्ञानेन्द्रलाई उनका आसेपासेले छाडेजसरी ओलीका दरबारिया पनि अलग ढलग हुन् ।
पंक्तिकारलाई सबैभन्दा बढी आश्चर्य नेकपाका ती कार्यकतासँग लागेको छ जो पंक्तिकारसँग भन्ने गर्छन्– डा. केसीका माग जायज छन् तर हिजो आपूm सत्तामा हुँदा कांग्रेसले किन केही गरेन ? भन्न खोजेको के ? हिजो कांग्रेसले गरेन, त्यसकारण हामीले गर्नु पर्दैन भनेको हो ? अथवा आज कांग्रेस डा. केसीको पक्षमा उभिएको छ र उनका माग पूरा गर्दा कांग्रेसले आप्mनो जीत भएको ठान्छ भनेर हो ?
साँच्चै भन्दा डा. केसीका मागको बिरुद्धमा उभिँदा नेकपाले आपूmलाई कम्युनिस्ट पार्टी भन्ने नैतिक आधार गुमाइरहेको छ । केसीका माग पूरा गर्दा कम्युनिस्ट नभए पनि जनपक्षीय भएको प्रमाण पत्र नेकपाको हात लाग्छ ।
म सोचिरहेको छु अहिले कांग्रेसको रिसले डा. केसीलाई दुत्कार्नेहरु पनि भोलि बिरामी पर्न सक्छन् र त्यस बेला ओलीले जेटमा उडाएर तिनलाई बैंकक लाने छैनन् । तिनले देशकै कुनै अस्पतालमा उपचार गराउनु पर्ने छ । तिनलाई हेर्ने चिकित्सक अदक्ष परेछ भने के होला ?
यी साथीभाइका छोरा छोरी बढ्दैछन् । उनीहरुमध्ये कसैले भोलि डाक्टर पढ्ने इच्छा राख्लान् तर जति नै जेहेन्दार भए पनि पैसाको अभावमा तिनले मेडिकल शिक्षा पढ्न पाउने छैनन् । त्यस बेला कति पछुताउलान् यी साथीहरु ।
भोलिका दिनमा जेहेन्दार आप्mनो सन्तानले पैसा अभावमा मेडिकल शिक्षा लिन नपाएर निराश भई आत्महत्या ग¥यो भने कस्तो होला यी मित्रहरुको छाति ?
भगवानसँग प्रार्थना गरौं, त्यस्ता दिन नआउन् ।
त्यसका लागि पनि त केसीका मागलाई सम्बोधन गर्न सरकारलाई लगाउनुपर्छ नि, होइन र ?


578 पटक हेरिएको 








