टुँडिखेलमा सर्वसाधारणलाई सहज पहुँच देऊ

नियन्त्रण नगर


सदरमुकामको एउटै मात्र खेलमैदान भनेको ठूलो टुँडिखेल हो । वर्षौंदेखि सर्वसाधारणले खेलमैदानको रुपमा प्रयोग गर्दै आएकामा पछिल्लो समय नेपाली सेनाले ठूलो टुँडिखेललाई नियन्त्रणमा लिएर खेल अभ्यास गर्न नदिएको गुनासो व्यापक रुपमा उठेको छ । नेपाली सेनाको स्वामित्वमा रहे पनि अहिलेसम्म इलामे नागरिकले कहिल्यै टुँडिखेल कसैको स्वामित्व या नियन्त्रणमा रहेको अनुभूति गरेका थिएनन् । यसपाली भने नेपाली सेनाले आफ्नो जवाननै खटाएर टुँडिखेलमा खेल अभ्यास लगायतका कार्यमा खेलाडी र सर्वसाधारणलाई रोकेको गुनासो आएको छ । जिल्लाको ठूला र प्रतिष्ठित खेलकुद प्रतियोगितासँगै कार्यक्रमहरु हुने स्थल मात्र होइन, खेलाडी जन्माउने सदरमुकामको एक मात्र खेलमैदान पनि हो, टुँडिखेल । इलामको खेलकुदको पर्याय जस्तै बनेको टुँडिखेलमा सर्वसाधारणको सहज पहुँच गुमेपछि खेलाडी मात्र होइन, जिल्लाबासी सबै चिन्तित देखिएका छन् । नेपाली सेनाको पशुपतिप्रसाद गण आएपछि टुँडिखेलमा आवश्यकताभन्दा बढी नियन्त्रणमा राख्न खोजेको जिल्लाबासीको गुनासो छ । यसै कारणले मेची पहाडकै प्रतिष्ठित फुटबल प्रतियोगितासमेत आयोजना गर्न समस्या हुने आयोजकहरुले बताइरहेका छन् । माइभ्याली गोल्ड कपलाई गौरव र शानको प्रतियोगिता संझिरहेको बेला प्रतियोगितानै हुन सकेन भने यो पक्कै पनि इलामबासी लागि दुःखको कुरा हुनेछ । एक सय वर्षभन्दा लामो इतिहास बोकेको टुँडिखेल इलामको एकताको प्रतिकको रुपमा पनि रहँदै आएको थियो । सबै जातजाति, धर्म, सँस्कृतिकाहरु एकै ठाउँ भेला भएर सद्भाव बाड्ने थलो पनि हो, टुँडिखेल । समग्र जिल्लाबासीको ढुकढुकी जोडिएको टुँडिखेललाई विवादित बनाइनु हुन्न । नेपाली सेना पनि हामी नेपालीहरुको र नेपालीहरुकै लागि हो । यसैले उसैको स्वामित्वमा टुँडिखेल रहनु अनौठो विषय होइन । तर, स्मामित्वकै आधारमा दशकौं वर्षअघिदेखिको ट्रेडलाई परिवर्तन गर्दा असहजताहरु आउनु स्वभाविकै हो । यसैले नेपाली सेनाले पनि टुँडिखेललाई संरक्षण गर्नुलाई अनर्थ मान्नु हुन्न । तर, सर्वसाधारणलाई पहुँच नदिँदा सिङ्गो संस्था माथिनै नागरिकमा वितृष्णा उत्पन्न हुन सक्छ । यसैले सकिन्छ भने नेपाली सेनाकै स्वामित्वमा रहेपनि साँझा रुपमा यसको संरक्षण गर्दै विगतकै जसरी यसको प्रयोगलाई खुल्ला गर्न जरुरी देखिन्छ । सदरमुकाममा टुँडिखेलको विकल्प पनि देखिन्न यसैले नेपाली सेनालाई उपयुक्त मुआब्जा दिएर भएपनि टुँडिखेललाई साँझा र सर्वसाधारणले असल कार्यका लागि निर्वाध रुपमा प्रयोग गर्न पाउने वातावरण बनाउका लागि सरकारको ध्यान जान जरुरी देखिन्छ । टुँडिखेललाई सर्वसाधारणको पहुँचमा नराख्ने हो भने सदरमुकाममा ठूला कार्यक्रमहरु गर्न संभव छैन । र, खेलकुदको विकासको गति पनि ठप्प हुनेछ । यसैले सरोकारवाला सबैले उचित निकासका लागि पहल गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार