पृथ्वीनारायणको नाम लेखेर थुक्ने ‘आङकाजी अभियान’ नाजायज

  राजन मुकारुङ

 391 पटक हेरिएको

पृथ्बीनारायण शाहको जन्मजयन्तीको सन्दर्भमा सामाजिक सञ्जाल वा मिडिया जगतमा गरिएका टिकाटिप्पणीहरूले निकै गजबका साथ दिमाग रन्थनाएको छ । ज्ञानमनि नेपालले कान्तिपुर दैनिकमा लेख्नुभएको “पृथ्बीनारायणलाई सम्मान किन ?” शीर्षकको लेखको अन्तिम अंशले झनै रिनिन्न बनाएको हो र बहसका लागि केही विद्वान् महोदयहरूलाई आफ्नो फेसबुकको वालमै निम्ता नि गरेको थिएँ । उहाँहरू बहसमा आउनुभएन, सन्जोग जुरेन नै भनौं । लेखको अन्त्यमा लेखकको आशयले रमेश ढुंगेल हुँदै बैरागी काइँलासम्मलाई दुस्प्रचारबाजी भन्ने किटान गर्छ ।

सत्य हो, हिजोका इतिहासका तर्कहरूले शासकहरूकै गुनगान र महिमा गाउँछन् । यसै अर्थमा पृथ्बीनारायण शाहलाई पनि “राष्ट्र-निर्माता”को महिमागान स्वरूप सम्मान गरियो । यो एक तत्कालीन शक्तिपूजा वा बाध्यता नै थियो भनौं ।

पृथ्बीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरे, यसमा दुई मत रहँदैन । यसैका लागि उनलाई “राष्ट्र-निर्माता”को पदवी दिइयो । यो पनि मान्यौं । तर, “राष्ट्र” बन्नका लागि पहिलो सर्त त “जनता” नै हो । तब प्रश्न र बहस सुरू भयो- “के पृथ्बीनारायणले जनताको भावनात्मक एकीकरण गरे त ?” अहँ गरेनन् । आजसम्मका तिक्तता वा उनीप्रतिका रोष-प्रकटहरूले प्रस्टै भन्न सकिन्छ- गर्दै गरेनन्, बरू कज्याएका रहेछन् ।

अब प्रश्न पृथ्बीनारायणसँग होइन, रहँदैन । प्रश्न त “राष्ट्र-निर्माता” नामको खेतीमा पदवी भजाएर सत्तालाई सधैं आफूअनुकुल व्याख्या गर्ने सीमित र स्वघोषित राष्ट्र-निर्मातावादी अड्डीवालाहरूसित हो खासमा ।

किनभने- “हामी नेपाली हौं । नेपाल हाम्रो पनि हो । तर, यही नेपालमा हाम्रो भाषा मासियो, हाम्रो संस्कृति र सभ्यता नासियो । हाम्रो ईतिहास नामेट पारियो । हामीलाई हाम्रो पहिचान देऊ !” यति मागदाबी हो । हिजो इतिहासदेखि नै यो आन्दोलन निरन्तर चलिरहेको छ ।

तर, उता सत्ताभोगी वर्गचाहिँ ? ज्ञानमनि नेपालहरूकै अड्डीवाला वौध्दिकताको फेरो समाएर ती आन्दोलनहरूलाई निस्तेज पारिरहने मेसोमा लागिरहेको छ । यो नै रोषको चुरो कुरो हो ।

युध्द क्रूरताले नै भरिएको हुन्छ । आक्रमण, प्रतिरोध र प्रतिशोध सौहार्द हुन्छ भन्नु हावादारी तर्क हो । “पृथ्बीनारायण त महान् थिए, उनले कसैको नाककान काटेनन् । हड्सनहरूले पो हावादारी कुरा लाएर भड्काएका हुन्” भन्ने काट्टोमोही गफ पत्याउने कुरै रहँदैन । किनभने- खस नेपाली भाषा त नबुझ्ने हाम्रा जिजु-बराजुहरूले हड्सनको अंग्रेजी बुझे र हामीलाई पृथ्बीनारायणको खुनी व्यवहारका बारे सुनाउँदै आए भनेर मान्ने आधार नै छैन । न त हाम्रा पुर्खाहरूले हामीलाई आज आइपुग्दा “बहुला” होऊन् भनेर नै यस्ता कथ्य कथेका थिए भनेर स्वीकारौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार