गाईजात्राको भावनात्मक सम्बन्ध, सँस्कार र संस्कृति

  विनोद श्रेष्ठ

 610 पटक हेरिएको


सँस्कारबाट विकसित जीवन पद्धतिको नाउँ संस्कृति हो । जीवनका चिन्तन दर्शन, धर्म, परम्परा र आनुवांशिक क्रियाकलापमा सँस्कार जीवित रहन्छ । समय र मान्यताअनुसार थोर वहुत संस्कृतिमा परिवर्तन पनि देखिन सक्छ तर यसको खास तत्वमा भने त्यस्तो फेरबदल आउँदैन । सँस्कारको पृष्ठभूमिमा संस्कृतिले जन्म लिने गर्दछ । संस्कृतिलाई पहिचानमा ल्याउने काम चाडपर्व मनाउने तरिका, परम्परागत नाचगान, जीवनका पद्धति तथा शैली र रीतिरिवाज आदिले प्रत्यक्ष प्रभाव पार्दछ । हरेक देशका बासिन्दाहरुको जीवनशैलीमा त्यस देशकै संस्कृतिको झलक पाइन्छ । देश भित्र अनेक जात जाति हुन्छन् परम्परा र विश्वास हुन्छन् । एउटै समाजमा रहेर पनि तिनले आफनो संस्कृति जोगाएर राख्छन् । तिनको साझा रुप संस्कृति बन्छ । तिनै संस्कृति अनि जात्रा हो गाईजात्रा ।
यही भदौ ११ गते सोमवारका दिन धेरै जसो भागमा यो जात्रा मनाउन गइरहेको छ । इलाममा पनि नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा हुन गइरहेको छ । हरेक बर्ष आफ्ना दिवङ्गगत परिवारजनको सम्झना र श्रद्धाका साथै तिनका आत्मालाई शान्ति प्राप्त होस् भनी गाईजात्रा पर्व मनाइने परम्परा चलिआएको छ । नेवारी समुदायका विभिन्न जाति र स्थानमा यो पर्व मनाउने प्रचलनमा केही भिन्नता रहेको पाइन्छ । जे जसरी मनाइए पनि गाईजात्रा पर्वमा स्वर्गीय आत्माको शान्तिका लागि प्रार्थना गरी विशेषत बर्ष दिनभित्र दिवंगत भएका प्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्ने गरिन्छ । सार्वजनिक कार्यक्रमको साथ गरिने यो परम्परालाई नेवारीमा सायात(सपारु) भनिन्छ । नेवारी समाजको यो एउटा महत्वपूर्ण र लोकप्रिय पर्व हो । यस पर्वलाई एक प्रकारले मृत्यु गणना संस्कार वा मृत्यु गणना जात्राको साँस्कृतिक पर्वका रुपमा पनि लिन सकिन्छ । जस्ले बर्ष दिन भरिमा कुन ठाँऊका को मान्छे कति मरे भन्ने जानकारी पनि यसले दिन्छ । इलाम नगरपालिका भित्र पनि नेवार समाजका धेरै जनाको मृत्यु भएको छ भने १ दर्जनघरपरिवारबाट जात्रा निकालिने भएको छ ।
नेवार समुदायमा यस बर्ष मृत्यु भएका पितृको सम्झनामा परिवारका सदस्यले गाईको मुकुटमा मृतकको तस्बिर राखेर लगाएर, जोगीको भेषभुषामाधार्मिक परम्परा अनुसार माईस्थानमा भेला भई बाजा गाजा सहित इलाम बजार परिक्रमा गराउने चलन छ । गाई र जोगीलाई पनि नेवार समुदाय तथा अन्य जातिबाट पनि पुजाआजा गरि फलफूल अनि दक्षिणा दिने चलन छ । जुन जात्रामा आम मानिसमा भावनात्मक सम्बन्ध स्थापित गर्न पनि यो जात्राले वातावरण सृजना गर्दछ । यसलाई काठमाण्डौका नेवार लगायत उपत्यकाभन्दा बाहिरका नेवारहरुले पनि यिनै साँस्कृतिक मुल्य मान्यतापूर्वक नै मनाउने गर्दछन् । यो जात्रा श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा देखि भाद्ध कृष्ण अष्टमी अथवा कृष्णाष्टमीका दिनसम्म मनाउने गरिन्छ । तर उपत्यकादेखि वाहिर भने एक दिन मात्र मनाउने चलन छ ।
यो जात्राका शुरुवात मल्लकालीन समयदेखि प्रचलनमा आएको मानिने यो जात्राको प्रसङ्ग गोपाल राजंवशावलीमा उल्लेख छ । जुन प्रसङ्गलाई यस प्रकार चर्चा गर्न सकिन्छ । भक्तपुरका राजा जयस्थिति मल्लका छोराको मृत्यु भयो । छोराको मृत्युशोकमा रानी साहै चिन्तित् भइन् । चिन्ताग्रस्त रानीको चित्त बुझाउन राजाको केही सीप लागेन । आखिर राजाले एउटा उपाय निकाले बर्षदिनभरिमा क–कसका छोराछोरीको मृत्यु भएको छ । तिनका परिवारले घरबार गाई निकाली राजदरबार परिक्रमा गराउने । यस किसिमको प्रचलनबाट आफनो छोरामात्र होइन अरु धेरैका छोराछोरीको पनि मृत्यु भएको रानीले प्रत्यक्ष देखिन् र राजाको उपायको कारण आफनो छोराको मात्र मृत्यु भएको रहनेछ भनी रानीको शोक शान्त भएको थियो । यसपछि हरेक बर्ष यस्तै किसिमको जात्रा निकाल्ने चलन शुरु भएको पाइन्छ ।
अर्को किवदन्ती अनुसार कान्तिपुरका राजा प्रताप मल्लको छोराको मृत्यु हुदा रानीले धेरै सुर्ता गरिन् । राजाको सम्झाई बुझाइले रानीलाई सान्त्वनासम्म मिल्न सकेन । त्यसपछि राजाले हाम्रो मात्र होइन अरुका छोराछोरी पनि मरेका छन् भनी रानीलाई सान्त्वना दिलाउन गाईजात्रा पर्व राजदरबारको प्राङ्गण भएर जानुपर्ने चलन चलाए । यस सम्बन्धमा प्रचलित कथनअनुसार विफरका कारण त्यस समयमा राजपुत्र मात्र होइन अरु धेरैको ज्यान अकालमै गएको थियो । त्यसैले राजाले मृतक परिवारका प्रत्येक घरबाट गाईजात्रा निकाली राजकुमारको शोकमा विह्वल बनेकी रानीको चिन्ता हटाउने चेष्टा गरे तर रानीलाई यसले पनि शान्ति दिलाउन सकेन । त्यसपछि राजाले फेरि जनतामाझ अर्को झयाली पिटाए । जसअनुसार जसले विभिन्न किसिमका प्रर्दशन, अभिनय र हास्यव्यङ्ग प्रस्तुत गरी रानीको शोक हरण गर्न सक्छ उसलाई दरबारबाट इनाम र सम्मान प्रदान गरिनेछ । यस कार्यका लागि जनतालाई आफूखुशी लगाउन र बोल्न पनि छुट दिइने छ । ”
सो उर्दी बमोजिम प्रत्येक टोलबाट अनेक थरीका हाउभाउका साथ हास्यव्यङ्ग गर्दै बेरुपका मान्छे दरबार क्षेत्रको बाटो भएर हिँडन् थाले । उनीहरुले विसङ्गतिमाथि व्यङ्ग गर्दै अरुलाई हसाउन थुप्रै उपायको उपयोग गरे । असामान्य हसिमजाकका यी दृश्य देखेर रानीका आँखाबाट आँसु हट्यो अनि हाँसो छायो । यसबाट बल्ल राजालाई पनि आत्मसन्तोष मिल्यो । त्यसपछि नै राजाले अव प्रत्येक बर्षको भाद्धकृष्ण प्रतिपदाका दिन दिवङ्गत आत्माका नाममा झाँकी र कुनै बन्देजबिना हास्यव्यङ्गको प्रर्दशन कायम भएको घोषणा गरे । यही घोषणाले आजसम्म पनि एउटा परम्परागत प्रचलनकै मान्यता पाइआएको छ ।
त्यस समयका शासकहरुले आफनो राज्यकालमा के भएको छ र जनता के चाहन्छन् तथा समाजमा के भईरहेको छ भन्ने जस्ता कुराहरु बुझनका लागि जनतालाई बोल्न र लेख्न स्वतन्त्रता दिएका थिए । सरकार र समाजका विकृतिहरु हास्यव्यङ्ग प्रस्तुतिका माध्यममा सार्वजनिक गरिने परम्परा पनि यसै जात्रासंगै गाँसिएर आफूलाई सुधार्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिन यसलाई महत्वपूर्ण पर्वको मान्यता दिदै आए । तसर्थ अहिलेसम्म पनि यो निरन्तर चलिरहेको छ ।
यी जात्रा उपत्यकाबासी नेवार लगायत उपत्यकाभन्दा बाहिर पनि विभिन्न किसिमले जात्रा निकाल्ने गरिएको पाइन्छ । भक्तपुर, ललितपुर र किर्तिपुरको जात्रा निकालिने शैलीमा केही फरक रहेको आभास पाइन्छ । इलाम नगरपालिका लगायत, फिक्कल, दानाबारी, मंगलबारे गोदक, फिक्कल र अन्य केही क्षेत्रमा पनि गाईजात्रा निकाल्ने चलन शुरु भएको छ । भने अन्य ठाउँहरुबाट पनि प्रयास भइरहेको छ ।
यस जात्रामा घैटेलाई विभिन्न रुपमा सिंगारिन्छ । उसलाई डोकोबाहिर विभिन्न सामाग्री राखेर अघिल्लो लाइनमा राखिन्छ भने त्यसपछि एक ठाँऊमा गाईको रुपमा सिङ्गारिएको केटा र अर्को भागमा जोगीको भेषमा राखिएको केटाहरुलाई लाइनमा मिलाएर राखिन्छ । जसलाई गाजल, लाली टिका, माला आदिले सिङ्गारिन्छ । उसको कम्मरमा पटुका बाँधी, त्यसलाई दायाँबायाँबाट भूई छुने गरी लत्राइन्छ । गाई बनेको केटाको माथिल्लो भागमा गाईको चित्र र टाउको छेउमा मृतकको तस्विर राखिन्छ र अन्य विभिन्न फूल माला कपडाले सिङ्गारिन्छ र मृतक परिवारको घरबाट माईस्थान प्रस्थान गर्नुअघि घरको मूल ढोका सामुन्ने मृतकको नाममा पुजा गरि माईस्थानमा लगिन्छ ।
सबै घरपरिवारका मृतकका आफन्त र गाईजोगी भेला भईसकेपछि माईस्थानमा पुजाआजा गरि बाजागाजाको (प्यानो, दमाहा, झयाम्टा) साथ माईस्थानबाट मालापथ, भिमसेनस्थान मन्दिर, नविनचोक, टुडिखेल, चोकबजार, प्रकाशपथ र नारायणस्थान मन्दिर सम्म परिक्रमा गराइन्छ । परिक्रमा गराइएको स्थानमा आफन्त र दर्शनार्थीहरुले सहभागीहरुलाई टिकालगाई दिई प्रसाद स्वरुप फलफूल, मिठाई, चकलेट, सर्वतको रुपमा सगुन दिने गर्दछन् ।
अन्त्यमा सबै स्थानमा परिक्रमा गरे पश्चात स्वर्गीय आत्माले शान्ति पाओस भनि कामना गर्दै नारायणस्थान मन्दिरमा पुरयाएर पुजा गरि मुकुट सेलाउने गरिन्छ । नुवाई धुवाई पश्चातमात्र मृतकका आफन्तहरुले भोजन ग्रहण गर्ने गर्दछन् ।
(इलाम, हाल चाहविल काठमाण्डौ)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार