
अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)को तेस्रो सम्मेलनमा भाग लिने उद्देश्यले २०७४ चैत्र ९ गतेको दिन इलामबाट बिहान ५ः३० बजे नै म निस्किएँ । सल्लाह बम्मोजिम ठीक ९ बजे म र झापाकी मीरा दिदी काँकरभिट्टा पुग्यौं । तर त्यहाँ अरु कोही आउनुभएको थिएन । राधेश्याम दाई हामीलाई नेतृत्व गर्ने व्यक्ति हुनु भएकोले वहाँलाई फोन गर्दा फोन स्वीचअफ भएकोले हामी अलमल्ल पर्यौं । किन फोन स्वीचअफ ! केमा व्यस्त हुनुभयो कि ?अथवा के पर्यो ! फोनसम्म लागिदिए त ढुक्कले बस्थ्यौं ! कतै हामी दुई जना मात्र छुटेनौं ? जस्ता शंकामा हामी रुमलियौं । भनेकै समयमा हामी पुगेका थियौं, छोडेर त नजानु पर्ने भन्ने गन्थन गर्दैगर्दा मीरा दिदीले सम्झाउनुभयो मैले नागरिकता भुलेँछु । अबफेरी अर्कोफसाद आइपर्यो । अरुकुनै परिचयपत्र पनि मेरोसाथमा रहेनछ त्यसदिन । अब काँकरभिट्टाबाटै फर्किनु पर्ने पो हो कि भन्ने तनाबले मेरो मन पोल्न थाल्यो । किनभने सिक्किम सरकारले नागरिकता बिना सिक्किम छिर्न दिदैन भन्नेकुरा मलाई थाह थियो । तर जहाँ समस्या त्यहाँ समाधान भने झैं विकल्प खोज्ने क्रममा एउटा उपाय त निस्किहाल्यो । घरमा फोन गरेर म्यासेन्जरमा पठाउन लगाएपछि केही सहज त भयो तर उता राधेश्याम दाईको फोन अझै पनि स्वीचअफ नै भनिरहँदा हामी झन छक्कपर्यौं । त्यसपछि मैले खगिन्द्रा खुशीलाई फोन गरेँ । वहाँ पनि एक्लै आउँदै गरेको र कसैसँग सम्पर्क नभएको जानकारी वहाँबाट पनि पायौं । भरे मात्रै थाहाँ भयो वहाँहरू बिर्तामोडमै एउटा सानो कार्यक्रममा अल्मलिनु भएछ । करिब १२ बजेतिर बल्ल सबैजना आइपुग्नुभयो । जहाँ अनेसास केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, अनेसास केन्द्रका बरिष्ट उपाध्यक्ष तथा नेपाल च्याप्टर अध्यक्ष राधेश्याम लेकाली, डा.गार्गी शर्मा लगायत मेचीदेखी महाँकाली र अमेरिका, अष्ट्रेलिया, जापान लगायत विभिन्न मुलुकबाट आउनुभएका करिब ७० जना स्रष्टाहरूको उपस्थिति थियो । त्यही टोलीमा हामी पनि मिसियौं र करिब ३ बजे सिलिगुढी पुग्यौं । भोक प्यास र यात्राको थकान सबैमा थियो । सिलिगुढीमा लतिका जोशी, मुक्ति बराल, शरद क्षेत्री लगायत साहित्यिक व्यक्तित्वहरूले गर्नुभएको स्वागतले ती सबै कुरा बिर्सियौं र हार्दिकता साट्यौं ।
हाम्रो यात्रा फेरी अघि बड्यो । मेरा लागि सिलिगुढीदेखि उता विल्कुलै नयाँ ठाउँको यात्रा भएकोले निकै उत्सुक थिएँ म । यसैपनि नयाँ ठाउँ घुम्न रुचाउने मान्छे नयाँ हावापानी नयाँ प्रकृति र नयाँ संस्कृतिको बारेमा जन्न खुब लालायित हुन्छु म । त्यसमाथि त्यो त साहित्यिक जमघट थियो । अर्को कुरा ९५ प्रतिशत भन्दामाथि नारीहरूको उपस्थितिले झनै रमाइलो र आनन्ददायक । कोही नाच्ने, कोही गाउने, कोही काव्य गोष्ठी गर्ने । त्यो खुशी सम्झदा नारीहरूमा कति जोस जाँगर, उत्साह र प्रतिभा लुकेको हुँदोरहेछ भन्ने देखियो । यदि त्यस्को उचित समयमा यथेष्ट सदुपयोग गर्ने अवसर पाउनु हो भने नारी कहाँ पुग्दैनथे र के गर्दैनथे होला । तर जताततै बन्धनले हरेक नारी बाँधिएकै कारण कुवाको भ्यागुतो बनेर अझै पनि बसिरहन बाध्य छन् । त्यो सम्मेलन महिला साहित्य सम्मेलन भएका कारण पनि यति धेरै महिलाहरूको उपस्थिति रहेको थियो । त्यसबेला मलाई ४ वर्ष अगाडिको याद झल्झली आयो । २०७१ सालको जेठमा नइले आयोजना गरेको विश्व नारी नेपाली साहित्य सम्मेलन, काठमाण्डौंमा यस्तै गरी नारीहरूको कुम्भमेला भएको थियो । जहाँ नेपालका मेचीदेखि महाकालीसम्मका र विश्वका २० राष्ट्रका साहित्यक दुतहरूको भव्य उपस्थितिमा साहित्यिक महायज्ञ सम्पन्न भएको थियो । नारीहरूको त्यति ठूलो संख्यामा उपस्थिति भएको शायदै त्यो नेपालकै पहिलो कार्यक्रम थियो ।
सिलिगुढीबाट हामीलाई लतिका दिदीले नेतृत्व गर्दै बाटाका विभन्न कुरा र स्थानहरूको जानकारी गराउँदै लानुभयो । सबैलाई नाच्ने, गाउने, रमाउने धुन थियो । म पनि ताली बजाएर सहभागिता जनाउँदै थिएँ तर मेरो मन भने भित्रको भन्दा झ्यालबाट बाहिर देखिने प्राकृतिक दृश्य भीरपहरा र जंगलसँग रमाइरहेको थियो । अर्कातिर कलकल बगिरहेको टिष्टा नदी नजिकै देख्न पाउँदा त्यो पानीलाई एकपटक छुन पाएपनि हुन्थ्यो भन्ने चाहना मनमा लागिरहेको थियो । तर त्यसबेला संभव थिएन । किन कि रात पर्न लागेको र हामीले सिक्किम पुग्नै पर्ने थियो । टिष्टा नदीको पानीलाई देख्दा म निकै प्रभावित भएकी थिएँ । कसरी यो पानी हरियो भयो होला भन्ने प्रश्न मनमा उठेपनि यस्को जवाफ कसैले दिएन । टिष्टा नदीसँग हामी नेपालीहरूको एउटा विशेष सम्बन्ध, विशेष आत्मियता छ । किनकि एकताका नेपालको सिमाना टिष्टा नदीसम्म पुगेको थियो र आजसम्म पनि यसै टिष्टा नदीले सिञ्चित र संरक्षित गरेको भुभाग सिक्किमसम्म हाम्रा नेपाली दाजुभाई दिदीबहिनीहरू आफ्नो छुट्टै पहिचान बनाएर नेपालको मायाँ छातीभरि बोकेर बसेका छन् । धन्य टिष्टा तिम्रो कञ्चन पानीले नेपालको मायाँ सँधै भरी सङ्लो बनाएर राखोस् । यस्तै भावनामा डुब्दाडुब्दै बाघपुल पुगियो । टिष्टा नदीमाथि बनेको बाघपुल दाँया पट्टि बाग्राकोट जलपाइगुडी हुँदै भुटान जानेबाटो रहेछ र बाँया पट्टि सिक्किम । भुटान जाने बाटो देख्ता मलाई बरबर दमन गरेर लखेटिएका ती शरणर्थीको याद आयो । जो आफ्नो नेपालीपन, भाषा र संस्कृति जोगाउनकै लागि त्यहाँका सम्पत्ति, घरजग्गा सारा छोडेर यहि बाटो भएर नेपाल भित्रिएका थिए होला । भुटानसँग हाम्रो सिमाना नजोडिएपनि नजिकको छिमेकी मुलुक भने पक्कै हो । तर त्यहाँका नेपाली प्रति गरेको त्यो व्यवहार सम्झेर मलाई खल्लो लागिरह्यो । किनकि पहिला आपतको समयमा सिमा रक्षार्थ भनेर नेपालीलाई लगिएको थियो रे तर पछि गएर नेपाली माथि गरेको त्यो व्यवहारमा भुटानको स्वार्थीपन प्रष्टै देखिन्छ । यी भावनामा डुब्दै टिष्टाको किनारैकिनार जाँदा करिब ६ बजे हामी पश्चिम बंगाल र सिक्किमको सिमाना रम्फु पुग्यौं । रम्फुमा हाम्रो टोलीलाई राजकीय स्वागतमा मन्त्रोच्चारण सहित नेपाली सँस्कृति झल्किने रातो टीका र खादाद्दारा स्वागत गरिएको थियो । केही बेरको विश्राम र चियानास्ता पछि हामी फेरी त्यहाँबाट गन्तब्य तर्फ लागेर करिब ८ बजे बेलुकी गान्तोक पुगेका थियौं ।
भोलि पल्ट अर्थात १० गते(२४मार्च२०१८) सिक्किम मनिपाल इन्स्टिच्युट अफ मेडिकल साइन्सको अत्याधुनिक हलमा पहिलो दिनको कार्यक्रम शुरुभयो । सिक्किम राज्यकी विभागीय मन्त्री तुलसीदेवी राईको अध्यक्षता एवं भारतकी प्रथम महिला सभामुख तथा पूर्व विधानसभा अध्यक्ष र पूर्वमन्त्री समेत रहेकी कलावती सुब्बाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा सिक्किम विश्वविद्यालय नेपाली विभागकी प्रा.डा. पुष्ष्पा शर्मा, डा.कविता लामा, पदम विश्वकर्मा (अमेरिका), राधेश्याम लेकाली, अनेसास महिला समिति संयोजक भारती गौतम, अष्ट्रेलिया, जापान, अमेरिका लगायत भारतका सिलिगुढी, दार्जिलिङ सिक्किम आदि स्थानबाट आउनु भएका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । सो कार्यक्रमको अग्रभागमा आसिन व्यक्तित्वहरूको विचार सुन्न हामी उत्सुक थियौं । नभन्दै हामी सबैको उत्सुकता मेटाउँदै प्रमुख अतिथि कलावती सुब्बाले सिक्किममा नारीहरूलाई उपलव्ध हकहित र अधिकारका बारेमा बताइरहँदा हामी निकै प्रभावित बनेका थियौं । भारतीय साहित्य अकादमीद्दारा पुरस्कृत स्रष्टालाई मासिक पेन्सन दिने व्यवस्था, महिलालाई ६ महिना सुत्केरी विदा दिने व्यवस्था, पुरुषले पेन्सन लिने तथा जग्गा किन्ने वा बेच्ने बेलामा श्रीमतीको अनिवार्य उपस्थिति हुनुपर्ने जस्ता विभिन्न सुविधा र अधिकारका कुरा उनले जानकारी गराएकी थिइन् । त्यस्तै तुलसीदेवी राईका विचारले पनि हामी निकै प्रभावित बनेका थियौं । उनले अबका नारीहरूले आफ्नो हक अधिकार र विकाशका लागि सचेत रहेर आफैं अघि बड्नुपर्ने, आफ्नो कामको सधैं सम्मान गर्नुपर्ने साथै शिक्षा, साहित्य, सँस्कृति आदिको विकास हुनलाई देशको राजनैतिक स्थिरता प्रमुख हुनाले नेतृत्व दरो नभएमा कुनै पनि कुराको विकास हुनै नसक्ने भन्ने विचार उनले राखेकी थिइन् । कार्यक्रमको दोस्रो सत्रमा कार्यपत्रमाथि टिप्पणी र प्यानल डिस्कशन हुँदै विश्वकाव्य गोष्ठिमार्फत कार्यक्रम समापन भएको थियो । बेलुकी सिक्किम विधानसभाका पूर्वसभामुख के.एन. राईले आयोजना गर्नुभएको रात्रिभोज(होटल टासी देलक)मा सहभागी हुने अवसर मिलेको थियो ।
दोस्रो दिनको कार्यक्रम सिक्किम राज्यका मुख्यमन्त्री पवन चाम्लिङको गरिमामय उपस्थतिमा सम्पन्न भएको थियो । पवन चाम्लिङका विचारहरूबाट पनि हामी निकै नै प्रभावित बनेका थियौं । नारी उत्थान विकास र समृद्धिको पक्षमा आफू सधैँ रहेको बताउँदै उनले रामायणले नारी, पुरुष, गुरु, मित्र, वा दुश्मन कस्ताकस्ता हुनुपर्छ भन्ने आदर्श सिकाएको विचार व्यक्त गरे । त्यस्तै हालको समाजले नारीलाई जीउँदो बस्तुको रूपमा मात्रै हेर्ने गरेको, हाम्रो समाज कस्तो हुनुपर्छ भनेर सोच्नुको सट्टा पुरानै मान्यताको पछि दौडिरहेको भन्दै “सत्यलाई स्वीकारौं” भन्ने बुद्धको उक्तिको उनले स्मरण गरेका थिए । धर्म परम्परा आदिबाट पनि राम्रा नराम्रा कुराहरू छुट्याएर लिन सक्नुपर्ने, जात र धर्मका कुरा झिकेर समाज भाँड्न नहुने, शिक्षामा विभेद भएमा देशको विकास हुन नसक्ने हुँदा शिक्षालाई राजनीतिकरण नगरेर मानवीकरण गरिनुपर्ने, प्रजातन्त्रको सदुपयोग गर्नका लागि अधिकार लिनेले जिम्मेवारी पनि वहन गर्न सक्नुपर्ने, विचारमा मतभेद हुन्छ त्यसलाई संवादका माध्यमले तार्किक समाज बनाउनुपर्ने, अरुका कुरामा विस्वास गरिहाल्ने भन्दा पनि सत्यको खोजी गरिनुपर्ने एवं वौद्धिक रूपमा मान्छे स्वतन्त्र नभै देश बन्न नसक्ने जस्ता महत्वपूर्ण र प्रेरणादायी विचारहरू उनले राखेका थिए । ज्ञानको कुनै जेन्डर नहुने हुँदा नारी पुरुष दुवैमा समान ज्ञान बाँड्नु पर्ने, छोरीलाई कन्या दान र दाइजोको सट्टा पुरुषजतिनै अधिकार र अंश दिनु पर्छ भन्ने उनको विचार सुन्दा हामीलाई ३ घण्टा बितेको कुनै पत्तो भएन । अन्त्यमा उनले नेपालमा अग्र्यानिक मिसन आओस्, नेपालको कृषि अग्र्र्यानिक कृषि बनोस्, र नेपाल विश्वको प्रथम अग्र्यानिक देश बन्न सकोस् भन्ने कामना सन्देश नेपालका लागि पठाए । पवन चाम्लिङले भनेझैं मलाई पनि हाम्रो नेपाललाई अग्र्र्यानिक कृषि र अग्र्र्यानिक देशको रूपमा विकास गर्ने कल्पनाले मन पोलिरह्यो । वास्तवमै एउटा प्रजातान्त्रिक नेतामा हुनुपर्ने गुण मैले उनका विचारमा पाएँ । उनले बोलेका रामायण महाभारत, गीता दर्शनका कुरा, विज्ञानका कुरा, ग्रीस र प्लेटोका कुरा, अमेरिका, रुस र सिरिया युद्धका कुरा अथवा राजनीति, सँस्कृति वा नारी, पुरुषका कुरा, धर्म वा परम्पराका कुरा वा अधिकार र स्वातन्त्रताका कुरा चाहे जुनै प्रसंगमा पनि उनको अध्ययनशील चिन्तन भल्किन्थ्यो । त्यहाँ न त कुनै जात, पक्ष, धर्म वा पार्टीप्रति विरोध, गाली आदि थियो न कुनै इष्र्या । त्यो त स्वस्थ प्रेरणामूलक अभिव्यक्ति थियो । उनले विद्यार्थी भाईबहिनीहरूलाई लक्षित गरेर अत्यन्तै गहिरो अध्ययन चिन्तन र आधुनिक डिजिटल प्रविधिको सदुपयोग गर्ने निर्देशन दिएका थिए । उनले विशेषगरी नारी (छात्रा) हरूलाई सम्बोधन गर्दै प्राचिन युगबाट हामीले फड्को मारिसकेको हुनाले अबका नारीले लाजमानेर खुम्चिएर बस्ने होइन, सासुको समक्ष छोरोलाई आफैं प्रेम प्रस्ताव राख्न र आफ्नै घरमा भित्र्याउन सक्नुपर्छ भनेका थिए । यसको मतलब अबका नारीले परनिर्भरता र हिनताबोधलाई त्यागेर आत्मनिर्भर बन्न सक्नुपर्छ भन्ने सन्देश थियो । यी विचारहरू सुनिरहँदा मैले आफ्नो देशका नेताहरूमा पनि पवन चाम्लिङहरू खोजेकी थिएँ । त्यस्तै अध्ययनशील गहिरा चिन्तन् र विचारहरू खोजेकी थिएँ । साच्चै मैले नेपालमा सिक्किम खोजेकी थिएँ । तर यहाँ त केवल इष्र्या, अरुप्रतिको गाली र विना चिन्तनको खाक्रोपन मात्र भेटेर म पिरोलिएँ । यस्ता व्यभहारले कसरी होला नेपालको विकास जहाँको सरकार दैनिक लाखौं झरझराउँदा युवा शक्तिका मलिला र उर्जावान पसिना विदेशी माटोतर्फ पठाइरहेको छ ।
वास्तवमा मैले सिक्किममा नेपाल देखेँ । त्यहाँको सँस्कार, सँस्कृति रहनसहन सम्पूर्ण कुरामा मैले नेपाल भेटेँ । किनभने करिव ३ हजार जाति २५ हजार उपजाति, आफ्नै भाषाभाषी, धर्म, सँस्कृति आदि रहेको बहुलवादी वहुलजातीय समाज भएर पनि त्यहाँ सबैले सबैको सम्मान गर्ने, परिश्रममा विश्वास गर्दै आत्मनिर्भर बन्ने साथै नेपाली भाषालाई सम्मान गर्दै यहि भाषाका माध्यमले त्यहाँको सामाजिक सहिष्णुता र मेल रहेको मैले पाएँ । शीतल र स्वस्थ हावापानी, शान्त र सफा शहर, गरिबीमुक्त र अग्यर्र्ननिक स्टेटको रूपमा परिचित सिक्किममा खानाका परिकार, प्रयोग गर्ने सामान लगायत सबैकुरा अग्र्यानिक रहेको देख्ता खुशी र इष्र्या पनि लाग्यो कि यस्ता स्वस्थ र अग्र्र्यानिक परिकार उत्पादन गर्न हामी किन सक्दैनौं ? कार्यक्रममा अतिथिलाई लगाइदिने व्याजसम्म पनि मकैको खोसेलाबाट बनाएको एकदमै आकर्षक व्याज देखेर म निकै प्रभावित भएँ । त्यसो त हाम्रै नेपाली खानाका परिकारहरू ढकने, सेलरोटी देखि लिएर मकैको भात, कोदोको ढिडो, तोङ्बा त्यस्तै गरी सिस्नु, निघुँरो आदि अग्र्यानिक सागसब्जी कति स्वादिष्ट थिए । किन चाहियो र केमिकल युक्त परिकारहरू । त्यतिबेला मलाई, हाम्रा समान्य कार्यक्रमहरूमा पनि महङ्गो मूल्य तिरेर बजारका परिकार मगाउने बानीप्रति लाज लागेर आयो । आफ्नै गाउँघरमा उत्पादित ताजा सागसब्जी छाडेर बासी तरकारी किन्छौं र आफूलाई सभ्य ठान्छौं हामी । यी हाम्रा संकुचित सोच र आफ्नो कामको सम्मान नगर्ने बानीप्रति दुःख लागेर आयो । अर्को कुरा हाम्रा नेपाली बजारहरूमा हिन्दी सिनेमा र गीतहरू बढी चलिरहेका हुन्छन् । गाडीतिर हिड्दा हिन्दी, पप र ¥याप गीतहरूले कानै थोत्रा पारिदिन्छन् । तर त्यहाँ त सिक्किम सरकारले गाडीहरूमा समेत हिन्दी गीत बजाउन दिदैन रे भन्ने सुनियो हुन पनि हामीले त्यति लामो यात्राभरि नारायण गोपाल, अरुणा लामा लगायत नेपाली कलाकारहरूका सदाबहार नेपाली गीतहरूबाट भरपुर मनोरञ्जन लियौं । भारतीय भूमिमा पुगेर यसरी नेपाली गीतहरू सुन्न पाउँदा गर्वले छाती फुल्यो । आँखा रसाए, अपार आनन्दले आफ्नो मातृभूमिको पलपल स्पर्श गरिरहेझैं अनुभूति भयो । त्यहाँका नेपालीहरूको शिष्टता, इमान्दारीता र मृदु व्यवहारबाट हामी प्रभावित बन्यौं । त्यसो त अत्यन्त मिलनसार र सहयोगी जीविका अश्रु दिदीको आत्मीयतालाई म कहिल्यै बिर्सन्न । तेस्रोदिन सिक्किम स्थित विधिवत स्थापना गरिएको चारधाम(रामेश्वर, द्धारका, बद्रीनाथ, जगन्नाथ) को दर्शन गरेर मनभरि सिक्किमको सम्झना बोकेर हामी फर्कियौं ।


1413 पटक हेरिएको 








