ऐतिहासिक पुस्तक मकैको खेती र सुब्बा कृष्णलाल

  पद्मप्रसाद शर्मा

 2638 पटक हेरिएको


कृष्णलाल अधिकारीले मकैको खेती नामक पुस्तक लेखे ,उनका विरोधीहरुले राणाहरुलाई चुक्लि लगाएर कृष्णलाललाई एक्ल्याए । राणाहरु अरुका कुरा पनि आफूलाई जे लाग्यो त्यहि त्यो पनि मनपरि गर्ने गर्दथे । त्यहि मनपरीको परिणाम हो मकै पर्व नामक पुस्तक जफत हुनु र जलाइनु अनि लेखक कृष्णलाललाई जेल सजाय दिनु । कृष्णलालको जेलमै मृत्यू हुनु ।
कृष्णलाल अधिकारी तत्कालिन पूर्व दुई नम्वर र हालको रामेछाप जिल्लाको तिपलुङ गा.वि.स.कठजोर भन्ने स्थानमा वि.सं.१९४४माघ २४गतेका दिन जन्मिएका थिए । कृष्णलालले घरमा अध्ययन गरेर क्षमता वृद्धि गरेका थिए । सानै उमेर देखि तिखो बुद्धिका कृष्णलालले घरमै अध्ययन गरेरक्षमता वृद्धि गरेका थिए । त्यसैले राणाहरुको दरवारमा नौसिन्दा(नौसिन्दा फारसी शब्द हो जसको अर्थ तल्लो स्तरको कर्मचारी भन्ने हुन्छ । त्यतिबेला तल्लो स्तरको कर्मचारीलाई नौसिन्दा भनेर बुझिन्थ्यो ) जागिरदारका रुपमा रहेर काम आरम्भ गरेका थिए । जागिरे अवस्थामा उनले एक पछि अर्को कौशलता देखाउन सकेकाले सुब्बा पद पाउन सफल भए । (सुब्बा भन्नु तत्कालिन अवस्थामा कार्यालय प्रमुख वा उच्चओहदाको कर्मचारीका रुपमा चिनिन्थ्यो )कृष्णलाल काममा अति छरितो भएको हुनाले उनी राणाहरुको प्यारो पनि थिए भनिन्छ । तर उनको कौशलता र क्षमतामा अति डाह गर्नेहरु पनि त्यहि दरवारमा थिए । उनको मानमर्दनका लागि केहि व्यक्तिहरु लामो समयदेखि दाउँ हेरेर लागिपरेका रहेछन । कृष्णलालले जव मकैको खेती नामक पुस्तक लेखेर प्रकाशित गरे त्यस पछि राणाहरुलाई चुक्लि लगाए । १९७७साउन ११गतेका दिन उनको नाममा मुद्दा प¥यो र सोहि महिनाको १७गतेका दिन महाराज श्री ३ चन्द्रशमशेरले फैसला सुनाए । पुस्तक एकहजार प्रति प्रकाशित भएका थिए त्यसमध्य भेटिए र ती ९९९प्रति पुस्तक जफत भए र कृष्णलाललाई जेल सजाए हुने भयो । कृष्णलाललाई पुस्तक लेखे वापतमा माफि माग्न लगाइयो तर आफूले कुनै कसुर नगरेको भन्दै कृष्णलालले माफि मागेनन् । आखिर उनलाई फैसला अनुसार जेलमा हाले र उनको निधन पनि जेलमा हुन पुग्यो । कृष्णलाल अधिकारी नेपालका प्रथम साहित्यिक सहिद हुन पुगे ।
रामेछापलाई तिन लालको जिल्ला भन्ने गरिन्छ । पहिलो कृष्णलाल ,दोश्रो गंगालाल र तेश्रो पुष्पलाल । तीन लाल मध्यका पहिलो लाल थिए सबैका अगुवा लाल कृष्णलाल । कृष्णलालले मकैको खेती नाम दिएर पुस्तक प्रकाशन गरे तर राणाहरुले जफत गरेर जलाए पछि कृष्णलाललाई यसबाट पन्छाउनका लागि सुब्बा राममणिका नामबाट कृषि –शिक्षवली प्रथम भाग नाम दिएर १९७७साल १२महिना४गते पुस्तक प्रकाशन गरेका थिए । त्यस पुस्तकलाई गोरखा भाषा प्रकाशिनी समितिले प्रकाशन गरेको थियो । कृष्णलालको पुस्तक मकैको खेतीका वारेमा लेखिएको थियो तर उनका विरोधिहरुले चुक्लि लगाएर उनलाई मुद्दा चलाउन लगाएका थिए । कृष्णलाललाई पुस्तकका वारेमा सोधखोज गर्न पक्रेर लगे पछि पहिले काठमाडौं र पछि देशभर यसका वारेमा सनसनी फैलियो । मकैको खेती नामक पुस्तक प्रकाशनमा सघाउने सबैलाई कुनै न कुनै सजाय भयो । कसैको जागिर चट भयो त कसैलाई जरिवाना गरियो । एक प्रति पुस्तक रहस्यमा रहेकाले राणाहरुले कृष्णलाललाई थप ३वर्ष जेल सजाय सुनाएका थिए । यो सबैलाई जोडेर मकै पर्व पनि भन्ने गरिन्छ । मकैपर्वले देशमा हलचल ल्याएको हो । कृष्णलाल भनेपछि मकै पर्व र मकै पर्व भने पछि कृष्णलाल एकै साथ बुझिन लाग्यो ।अहिले पनि यसका वारेमा चर्चा चलिरन्छ र चल्नु पनि आवश्यक छ । किनकि यस्ता कुराले हरेक समयको सरकारका वारेमा जान्न समेत सहयोग मिल्दछ । यस्तै क्रुर सरकारको चपेटामा परेका हुन साहित्कार कृष्णसेन इच्छुक पनि । स्वतन्त्रता दिलाउने भनेको नेपाली काँग्रेसको शेरबहादुर देउपाको नेतृत्वको सरकारले कृष्णसेन इच्छुकको ज्यान लिएको थियो । यसको मूल्यांकन भविश्यले अवश्य पनि गर्दै रहने छ ।
कृष्णललाको पुस्तक मकैको खेती २०६८सालमा प्रकाशित(दोश्रो संस्करण)भएको छ । जसलाई दोश्रो संस्करण भनिएको त छैन । यस पुस्तकलाई जगदीश घिमिरेले सम्पादन गर्नु भएको छ भने जगदम्वा प्रकाशन पाटनढोका ललितपुरले प्रकाशन गरेको छ । पुस्तक प्रकाशित भएको छ तर त्यसमा कृष्णलालको मकैको खेती प्रकाशन भएर जफत भए पछि त्यसको सात महिना पछि पुनर प्रकाशित भएको कुरा समेत उल्लेख छ । यसबाट पाठकमा केहि अलमल अवश्य पनि हुन्छ । २०६८मा प्रकाशित मकैकको खेती नामक पुस्तक जसमा ४५वटा शीर्षकहरु रहेका छन । पुस्तकमा रहेका शीर्षकहरुमा (पुस्तकमा रहेका शीर्षक जस्ताको तस्तै राखिएको छ )– मकैको खेतीगर्ने तरिका , जमिनको तयारी ,हलो जोत्ता हुने लाभ,मल ,गोवरको मल ,भेंडा बाख्राको मल ,हाडको मल ,हाडको चार प्रकारको मल, तयार गर्ने कायदा ,पहेंलो मल,कालीमाटीको मल , पतकरको मल,मल हाल्ने रीति ,ड्याङ पार्दा गर्ने कायदा साथको फायदा ,बाली हेर फेर गरी लाउने कायदा, बिउको साथमा धेरै किसिमका बालीहरु छर्ने कायदा ,मकैका किसिमहरु ,पहेंलो गाढा रङभएको ठूलो मकै ,पहेंलो सानो मकै ,शेतो सानो मकै ,शेतो ठूलो दानाको मकै(यी शीर्षकहरु पुस्तकमा रहेको हुनाले जस्ताको तस्तै राखिएको छ ) ,रातो दाना भएको मकै ,विलायती मकै ,विउ छान्ने कायदा , बिउ छर्नु रोप्नु भन्दा पहिलेको जाँच ,बिउ रोप्ने रीति ,मकै रोप्ने सामान्य रीति, मकै उखेली सार्ने रोप्ने कायदा ,अरु बस्तु मिलाई खेती गर्ने रीति ,पानीको आवश्यक्ता ,मकै गोडने कायदा ,माटो चढाउने दोह¥याउने ,मकै पाके पछि काटने भाँच्ने खाने रीति ,भलाद्मीले खाने मकैको रीति ,मकैका बोटहरुको बयान ,हेर विचार ,मकैमा लाग्ने रोगहरु , रोगहरु लाग्न फैलिन नपाउने उपाय ,धूले किराको औषधि ,खुम्ले कीराको औषधि ,धमीरा कीराको औषधि ,बाघे कीराको औषधि ,घून कीराको ओषधि ,मकैको खेतीमा विचार राख्ने अति उत्तम कुरा ,माटाको नाम गुण त्यसको वयान रहेका छन् ।
मकैको खेती जम्मा ७२ पेजमा प्रकाशित भएको छ । जसमा परिशिष्टले ३० पेज थपेको छ । परिशिष्ट १मा कमल दीक्षितको ऐतिहासिक खेती शीर्षकको दश पेज लामो लेख छ भने परिशिष्ट २मा कृष्णलालका साला साम्वभक्त शर्मा सुवेदी को ऐतिहासिक मकै पर्व शीर्षकको पाँच पेज लामो लेख छ । परिशिष्ट ३मा कृष्णलाल अधिकारी र मकैपर्व शीर्षकको डा. गणेश भण्डारीको सात पेज लामो लेख छ । परिशिष्ट चारमा मक्काकी खेतीको भित्रि पृष्ठको पातो छ भने परिशिष्ट पाँचमा मक्काका खेतीका पुस्तकका लेखक रामप्रसादले दिएको धन्यवादको पत्र छ । परिशिष्ट ६मा कृषि शिक्षावली प्रथम भागको आवरण चित्र छ । परिशिष्ट सातमा गाउँको विसकेटयात्रामा श्री चन्द्रकामधेनु चर्खाको प्रदर्शनीका वारेमा तयार पारिएको सानो लेख छ भने सोहि परिशिष्टमा इश्वर प्रार्थना भनेर गजल राखिएको छ । गजलमा महाराज चन्द्रशमशेरको प्रसस्ती गान गरिएको छ । परिशिष्टमा दिइएका कुराहरुमा कमल दीक्षितले कृष्णलालको मकै पर्वकै कुरा खोतल्न चाहेका छन । उनले सुब्बा राममणि आ.दी.को कुरा पनि उठाउन खोजेका छन । कमल दीक्षितले मकैको खेतीलाई राम्रोसंग खोतल्न चाहेका छन । साम्वभक्त सुवेदीले कृष्णलाल र उनको मकैको खेतीको वारेमा राम्रो चर्चा गरेका छन र उनी कृष्णलालका साला भएको नाताले पनि भोजराजका वारेमा केहि कुरा उजागर गरेकाछन । यसैगरी डा. गणेश भण्डारीले पनि मकैको खेती र कृष्णलालका वारेमा राम्रो जानकारी दिन खोजेका छन ।
पुस्तकका सम्पादक जगदीश घिमिरेले आमुख शिर्षक दिएर प्रकाशकीय लेखेका छन । उनको आमुख निकै मार्मिक छ । कृष्णलालका वारेमा निकै कुरा खोतल्न चाहेका छन । हो घिमिरेको यो लेखले पुस्तकका वारेमा निकै कुराको जानकारी दिन्छ ।पुस्तकको आवरण पृष्ठको पछिल्लो पेजमा साहिरत्यकार कृष्णलाल अधिकारीको नेल सहितको फोटो छ ।उक्त फोटो साम्वभक्त सुवेदीका छोरा एवं पूर्व मन्त्री नवराज सुवेदीबाट प्राप्त भएको कुरा पनि घिमिरेले उल्लेख गरेका छन । फोटोको वारेमा पुष्ट्याई दिंदै जगदीश घिमिरेले यसो भनेका छन “–यो तस्विर काजी हंसमान सिंहका पिता काजी एवं प्राज्ञ तुलसीमान सिंहले आफ्नै घरको झ्यालबाट गोप्य रुपमा खिचाएको हो जानकारहरु भन्छन त्यसवेला सिंह परिवारको घरवाट त्यस जेलको भित्रिभाग प्रत्यक्ष देखिन्थ्यो ।”यस ऐतिहासिक पुस्तक उपलव्ध गराएर सघाउनु हुने परम मित्र तिलक राम रेग्मी ज्यू प्रति आभार विसाउँदै मकैको खेतीको आवरण पृष्ठ भागमा रहेको सुब्बा कृष्णलालको एउटा कविताबाट विटमार्न चाहें ।
जो यस्तो छ – संसारमा कीर्ति छ धेर ठूलो । कीर्ति विना बन्दछ जीव धुलो ।।
संसार छोडे पनि हेर क्वै दिन । आउने यौटा जनतन्त्रको दिन ।।
म जेलबाट कविता रचेर । दिन्छु तिमिलाई पढेर हेर ।।
यो जीन्दगी मर्दछ एक वार । चिन्ता नलेउ अव वार वार ।।
धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार