इलाम।विदेशी मुद्रा आर्जनको प्रमुख नगदे बाली मानिने चियाको यो वर्षको टिपाइ सुरु भएको छ । चियाको ‘फस्ट फ्लस’ सबैभन्दा गुणस्तरीय र विदेशी मुद्रा आर्जनको प्रमुख मानिन्छ । यो सिजनको चियाले वर्षैभर उत्पादन हुने चियाको गुरणस्तर तथा मुल्य निर्धारण गर्ने हुँदा उद्योगीहरूले पनि प्रशोधनमा भने निकै ध्यान दिने गरेका छन् ।
यो सिजनको चिया प्रशोधन गर्न पनि उत्तिकै ध्यान दिइयो र गुणस्तरीयता कायम राख्न सकियो भने त्यसले किसान, उद्योगी र उपभोक्तालाई समेत फाइदा पुग्ने कञ्चनजंघा अर्गानिक चिया प्रशोधन उद्योग सञ्चालन गर्दै आएकी इलाम साँखेजुङकी सञ्चालक मिलनकुमारी खत्रीले बताइन् ।
कञ्चनजंघा अर्गानिक चिया प्रशोधन उद्योगले गत चैत सात गतेदेखि यो वर्षको प्रशोधन शुरू गरेको छ । गतवर्ष २० टन तयारी चिया उत्पादन गरेको उद्योगले उत्पादनको ५० प्रतिशत चिया विदेश निर्यात गरेको खत्री बताउँछिन् । उद्योगमा चिया बिक्री गर्ने प्रायः सबै किसानको चिया अर्गानिक प्रमाणिकरण भइसकेकाले यो वर्ष तेस्रो मुलुकका नयाँ–नयाँ व्यापारीहरूबाट चियाको माग उच्च रहेको खत्रीले जानकारी दिइन् । ‘ फस्ट फ्लसलाई उत्पादन गर्छौं, सेम्पलिङ गर्छौं र तेस्रो मुलुक पठाउनेमै जोड दिन्छौं,’ खत्रीले भनिन् ‘अहिले देखि आगामी जेठ महिना सम्मको चियाले वर्षै भर उत्पादन हुने चियाको गुणस्तर र मुल्य धान्ने हुँदा पनि यही सिजनलाई बढी ध्यान दिनुपर्छ ।’
अर्गानिक प्रमाणिकरण भइसकेको चमैताको तीनजुरे चिया कारखानाले पनि यो वर्षको चिया प्रशोधन गर्ने तयारी गरेको छ । तीनजुरे चिया सहकारी संस्थाद्वारा सञ्चालित कारखानामा सोमबार–मंगलबारदेखि प्रशोधन शुरू गरिने संस्थाका सचिव सोम शर्माले बताए । ‘गतवर्ष उत्पादन भएको सबै चिया विदेश निकासी भयो’, शर्माले भने ‘यो वर्ष पनि भारतका व्यापारी आएका छन्, तर अर्गानिक प्रमाणिकरण भएकाले भारतलाई भन्दा तेस्रो मुलुकका व्यापारीलाईनै प्राथमिकता दिनु राम्रो हुन्छ, त्यसैले फस्ट फ्लसलाई राम्रो र गुणस्तरीय बनाउनेमा लागिपरेका छौं ।’
इलाम टी प्रोडुर्सस् प्रालिले पनि आफ्नो पञ्चकन्या र अन्तु दुवै स्थानका कारखानाबाट प्रशोधन सुरु गरेको छ । पहिलो पटक साढे आठसय किलो चिया प्रशोधा गरिएको प्रोडुर्सस पञ्चकन्याका लेखापाल हेमचन्द्र चापागाईंले बताए । यो वर्ष पहिलो टिपाइको उत्पादन राम्रो भएको छ, चापागाईंले भने,‘मौसमले साथ दियोभने चिया उत्पादन राम्रो हुन्छ । बगानमा मुना राम्रो सँग पलाउन थालेको छ । जिल्लाका सबैजसो चियाका ठूला तथा साना उद्योगहरू फस्ट फ्लसको चिया प्रशोधनको तयारीमा छन् । साँखेजुङको हिमालयन सांग्रिला, माइपोखरीको जसवीरे चिया प्रशोधन उद्योग, सूर्योदयका गोर्खा टिस्टेट, स्मलटीलगायतका ठूला प्रशोधन उद्योगले एक–दुई दिन भित्र चियाको प्रशोधन सुरु हुने जनाएका छन्


740 पटक हेरिएको 








