
इलाम । इलामका गणेश घिमिरे र सुमन लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । दुई क्रियाशील पत्रकार घिमिरे २०७७ सालको पुरस्कारबाट र लावती २०७८ सालको पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरले १० हजार रुपैयाँको चेक, दोसल्ला र सम्मानपत्र प्रदान गरेर घिमिरे र लावतीलाई पुरस्कृत गरेका हुन् । इलामका स्वर्गीय पत्रकार आशिष राईको स्मृतिमा स्थापना गरिएको सो पुरस्कार १९ औं स्मृति दिवसमा आज नेपाल पत्रकार महासंघले वितरण गरेको छ ।
साविकको मेचीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्ने उदयीमान एवम् क्रियाशील पत्रकारलाई प्रत्येक वर्ष बैसाख १ गते प्रदान गरिदै आएको छ । यस पटकको पुरस्कार २ वर्षको एकै पटक वितरण गरिएको हो । गत वर्ष कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएकाले स्थगित गरिएको थियो ।
डेढ दशक देखि पत्रकारितामा क्रियाशील घिमिरे हाल नेपाल समाचार पत्र दैनिकका इलाम समाचारदाता एवम् रेडियो नेपालवाणी एफएम इलामका समाचार सम्पादक हुन् । त्यस्तै डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील लावती हाल इलामको माङसेबुङबाट प्रशारण भइरहेको रेडियो माङेबुङका स्टेशन प्रमुख हुन् । उनी हाम्रो बुलन्द आवाज पाक्षिक पत्रिका, सनसाइस पोस्टमा समेत आवद्ध हुँदै माङ्गेन्ना मासिक पत्रिकाको सम्पादकको कार्यभार समेत समालिसकेका छन् ।
रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको २०५९ साल वैसाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । सन्दकपुर गाउँपालिका (साविकको सुलुबुङ गाउँ विकास समिति ३) इलाममा जन्मेका राईको मृत्युपछि इलामका सक्रिय पत्रकारहरुले ‘आषिश स्मृति पत्रकारिता पुरस्कार’ कोष स्थापना गरी एक क्रियाशील पत्रकारलाई पुरस्कृत गरिदै आएको छ । युवा पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा २०६० सालमा पुरस्कार कोष स्थापना गरिएको थियो ।
यस अघि सो पुरस्कारबाट इलामका पत्रकार बेनुपराज भट्टराई, राजु शिवा, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, भीम चापागाईं, नमीन ढकाल, पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी, रमेश समदर्शी, ताप्लेजुङ्गका आनन्द गौतम, सीता निरौला, चन्द्र पन्दाक पुरस्कृत भई सकेका छन् ।
कार्यक्रममा पत्रकार महासंघ इलामका संस्थापक सभापति धर्म गौतमले स्वर्गीय पत्रकार राईले इलामको पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानकाबारे चर्चा गरे । यस्तै जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाल पत्रकार महासंघ इलामका पूर्व सभापति सोम सुसेली, पूर्व अध्यक्ष सटेन्द्र जवेगू, कोकिला ढकाल, नेपाल प्रहरीका इलाम प्रमुख नबिन राई, नेपाली कांग्रेसका सभापति हिमालय कर्माचार्य, नेकपा (माओवादी केन्द्र) इलामका प्रतिनिधि प्रकाश परियार, सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाई, गैरसरकारी संस्था महासंघका अध्यक्ष कमल नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भीम चापागाई गरे भने स्वागत उपाध्यक्ष ख्याम भुजेलले गरेका थिए ।