पूजनले ल्याए ‘जुनेली’ (फोटो फिचर)

  सरलपाटी सम्वाददाता

 852 पटक हेरिएको

फिक्कल (इलाम)इलामको फिक्कलका गायक तथा संगीतकार पूजन प्रधानले आफ्नो छैटौं एल्बम ‘जुनेली’ बजारका ल्याएका छन् । शनिबार सूर्याेदय नगरपालिकाको दोभान होटलमा आयोजित समारोहमा प्रधानको जुनेली संगीतकार गणेश रसिकलगायत कलाकारहरूले संयुक्त रूपमा विमोचन गरे ।
एल्बम विमोचन गर्दै रसिकले प्रधानका गीतले सबैको मन छुने बताए । ‘प्रधानका गीत मैले निकै गहिरिएर सुनेको रहेनछु, साँच्चीकै कर्णप्रिय गीत रहेछन्,’ विमोचन समारोहमा प्रधानले सिर्जना गरेका आधा दर्जनभन्दा बढी गीत सुनेपछि रसिकले भने, ‘प्रधान इलामे माटोका निकै राम्रो संगीत सर्जक हुनुहुन्छ ।’ नेपाल संगीत प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य–सचिवसमेत रहेका रसिकले कला सिर्जना गर्ने विषयमा कसैले सरकारले मुख ताक्न नहुने बताए । ‘सरकारले यो पो गरिदेला भनेर आस ग¥यो भने संगीत र कला सिर्जना हुँदैन । साहित्य, संगीत, कला सिर्जना गर्ने हामी आफैंले हो ।’
विमोचन समारोहमा गायक कुबेर राई, भूपेन्द्र राई, लेखु विवश, रगुन गुरुङ, चन्दनकिशोर लिम्बू र कमल राईलगायतले पूजनले रचेका र संगीत भरेका गीत प्रस्तुत गरे । भारत मिरिककी गायिका भावना थापाले पनि आफ्नो गीत सुनाइन् । समारोहमा संगीतकारहरू मानसिंह थुलुङ, राम दियालीलगायत सूर्याेदय नगरपालिकाका विभिन्न क्षेत्रका अग्रजहरूको सहभागिता थियो ।

जुनेलीमा लोकाधुनिक ८ गीत समेटिएका छन् । विमोचन समारोहमा गायक प्रधानले ‘देशको माया राखी छातीभरी, जति सामु पर्न खोज्छु, परपर हुन्छ्यौ र ओरालो बग्ने खोलानाला’ बोलका गीत गाए । गायक कुबेर राईले पूजनले सिर्जना गरेको ‘विश्वास गर आफूलाई’ र अर्का गायक भूपेन्द्र राईले ‘कति राम्रो फूल फुल्यो’ गीत गाए । २०१९ सालमा सूर्याेदय नगरपालिकामा जन्मेका पूजनले २०४२ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गरेका थिए । उनले अढाई सय गीतमा स्वर, संगीत भरेका छन् । उनका माइबेनी, कोसिस, परिकल्पना, रिप्लाई र चिनो एल्बम यसअघि बजारमा आइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार