अन्तर विद्यालय नृत्य प्रतियोगितामा उत्कृष्ट पाँच छानिंदै

३५ लाखको अक्षयकोष बनाइने

  सरलपाटी सम्वाददाता

 699 पटक हेरिएको


इलाम।अपाङ्ग बालबालिकाको हितमा अक्षयकोष बनाउने उद्देश्यले इलाममा भइरहेको अन्तर विद्यालय नृत्य प्रतियोगिता सिजन २ को दोस्रो अडिसन विहीबार बरबोटेमा सम्पन्न भएको छ ।
बरबोटेका चार संस्थागत विद्यालयहरुका विद्यार्थीहरुले अडिसनमा सहभागिता जनाएका थिए । वडा कार्यालयमा सम्पन्न अडिसनबाट चार विद्यालयका उत्कृष्ट जना पाँच छानिएको छ । यसअघि सदरमुकाममा १८ विद्यालयका विद्यार्थीहरुलाई सहभागी गराएर अडिसन गरिएको थियो । सो अडिसनबाट पनि प्रत्येक विद्यालयका उत्कृष्ट पाँच जना छनौट गरिएको थियो ।
पहिलो चरणमा संस्थागत विद्यालयहरुको अडिसन सकिएपछि सरकारी विद्यालयहरुको हुने आयोजक देवेन गहना गृहका प्रोप्राइटर देवेन्द्र शंकरले बताए । अडिसनमा जिल्लाका एक सय १० विद्यालयको सहभागी रहने छ । इलाम सदरमुकाम, बरबोटे, नेपालटार, राँके, मंगलबारे, दानाबारी, चुलाचुली र रोङको कोलबुङ्गमा अडिसन गरेर विद्यार्थीहरु छनौट गरिने पनि आयोजक शंकरले बताए । उत्कृष्ट पाँच छानेपछि तीन दिनको प्रशिक्षण दिएर प्रत्येक विद्यालयको एक एक जना उत्कृष्ट विद्यार्थी छनौट गरिने र त्यसबाट टप ट्वान्टी छनौट गरिने आयोजकले जनाएको छ । टप ट्वान्टीलाई १५ दिन बन्द प्रशिक्षणमा राखेपछि उनीहरु मध्येबाट पहिलो, दोस्रो र तेस्रो विजेता छानिने छन् । टप ट्वान्टीहरुलाई सहभागी गराएर दार्जिलिङ्ग, झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गमा च्यारिटी सोहरु गरिने पनि आयोजकले जनाएको छ ।
प्रथम हुनेलाई नगद ३० हजारसहित विभिन्न अवसर र गिफ्टहरु दिइनेछ । दोस्रो हुनेलाई नगद २० हजार र तेस्रो हुनेलाई १० नगदसहित अन्य पुरस्कार र छात्रवृत्तिहरु प्रदान गरिने छ । प्रतियोगिताको फाइनल मंसीरमा गरिने पनि आयोजकले जनाएको छ ।
देवेन गहना गृहको आयोजना र युनिभर्सल डान्स सेन्टरको विशेष सहयोगमा आयोजना भयरहेको प्रतियोगिताको बरबोटेमा भएको अडिशनको उद्घाटन इलाम नगरपालिकाका प्रवक्ता ठाकूर श्रेष्ठ र अमर माध्यमिक विद्यालयका अध्यक्ष गोविन्द पौडेलले गरेका थिए । देवेन गहना गृहका प्रोपाइटर देवेन्द्र शंकरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, अपाङ्ग एकता संघका कोषाध्यक्ष कमल साम्पाङ्गलगायतले बोलेका थिए । कार्यक्रममा अमर माविका प्रअ सोमनाथ निरौला, विब्ल्याँटे प्रहरी विटका असई सुवास निरौला, र वौद्दिक अपाङ्ग स्रोत कक्षाका शिक्षक दिनमणि भट्राईको पनि उपस्थिति रहेको थियो ।
३५ लाखको अक्षयकोष बनाइने
प्रतियोगिताबाट संकलन भएको रकम मध्येबाट खर्च कटाएर ३५ लाख बराबरको अपाङ्ग बालबालिकाहरुका लागि अक्षयकोष स्थापना गरिने भएको छ ।
नेपाल लाइफ इन्स्युरेन्सले पाँच लाख बराबरको सहयोग प्रायोजन गरेको छ । सहभागी विद्यालयहरुलाई तीन हजार र सहभागी विद्यार्थीहरुलाई एक सयका दरले प्रवेश शुल्क लिइएको छ । प्रायोजक, प्रवेश शुल्क, अन्य शुल्क र दाताहरुलाई सहयोग लिएर अक्षयकोष निर्माण गरिने आयोजक शंकरले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार