बेलायत। फार्नबोरो स्थित सामुएल कोडी कलेज हलमा इलाम समाज बेलायतको नौवौ वार्षिक भेला भब्यताको साथमा मनाइएको छ ।
संस्थाका उपाध्यक्ष प्रमिला राईले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वास्थ्य र सुरक्षा सम्बन्धी महत्वपूर्ण जानकारी दिएपछि औपचारिक रुपमा संस्थाका अध्यक्ष गोपाल गिरीको सभापतित्वमा कार्यक्रम शुरु भएको थियो ।
उक्त कार्यक्रममा संस्थाका महासचिव टेक लोक्तामले सम्पूर्ण आगन्तुकहरुलाई आतिथ्यता गराएका थिए । अध्यक्ष गिरी र कार्यक्रमका प्रमुख अतिथी भाषाविद डाक्टर नवलकिशोर राईले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए !
संस्थाका उपाध्यक्ष कृष्ण देवानले स्वागत मन्त्यव्य ाखेका थिए । कार्यक्रममा विशेष अतिथिका रुपमा लोकप्रिय गायक दिपक लिम्बुलगायत छिमेकी जिल्लाका अध्यक्ष एवम् प्रतिनिधिहरुले पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा बेलायतवासी इलामे नानीहरुलाई सम्मान प्रदान गरिएको थियो । परदेशमा रहेर पनि नेपाली गीत, संगीत र साहित्यमा उल्लेखनीय योगदान दिदै आएका वरिष्ट संगीतकार मुकेश गजमेर, गीतकार निलम आङ्बुहाङ राई, गायक, संगीतकार एवं गीतकार चोक गुरुङ अनि कवि, गीतकार मुकेश राईलाई सम्मान गरिएको थियो । यसै गरेर यस बर्ष बेलायतमा हुने फूटबल प्रतियोगितामा गोर्खा कप र भेट्रान कपमा दोहोरो विजयी हात पारेर इलाम र इलामेहरुलाई गौरव प्रदान गरेको भन्दै इलाम समाज युके फुटबल टिमका कप्तान धनबहादुर राई र खेलाडीहरुलाई पनि सम्मान गरिएको थियो ।
साथै हाल संस्थाको विशिष्ट सदस्यता लिनु भएका सम्पूर्ण १३ जना विशिष्ट सदश्यहरुलाई पनि सम्मान गरिएको थियो । दोस्रो चरणको मनोरञ्जन कार्यक्रममा स्थानिय गायक चोक गुरुङ, मनिष राई र बिजय राईले राष्ट्रप्रेम र इलाम सम्झाउने गीतहरु प्रस्तुत गरेर कार्यक्रममा रोचकता प्रदान गरेका थिए भने नानीहरु एन्जेला राई र पियुष गुरुङको कुशल नृत्यले दर्शकहरु मन्त्रमुग्ध बनेका थिए ।
इलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरीले संस्थाले हालसम्म गरेको र आगामी दिनहरुमा गर्ने योजनाहरु प्रस्तुत थिए । यसै कार्यक्रममा इलाम समाज बेलायतले निर्माण गरेको महत्वकांक्षी वृत्तचित्र ‘इलाम हाम्रो पहिचान’ को डिभिडी एक एक प्रति सम्पूर्ण इलामे एवं अतिथिहरुलाई वितरण गरिएको थियो ।
सो कार्यक्रममा महासचिव टेक लोक्तामले औपचारिक कार्यक्रम संचालन गरेका थिए भने मनोरन्जनको कार्यक्रम चोक गुरुङ्ले गरेका थिए ।