दक्षिण कोरिया / इलाम जिल्ला सन्दकपूर गाउपालीका वडा न. २ फेमेगुरुकी क्यान्सर पीडित मिङ्मा लामा गुरुङलाई थप उपचारका लागि कोरियाबाट आर्थिक सहयोग गरिएको छ ।
गुरुङको विगत केही समय अघिदेखि बायाँ हातमा क्यान्सर भएको प्रमाणित भएपछि चिकित्सकहरुको सल्लाह अनुसार क्यान्सरको थप संक्रमण रोक्न उनको संक्रमित हात काटेर फाल्न पर्ने भएको छ ।
हातनै काटेर फाल्नु पर्ने र थप उपचारका लागि पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर भएकोले गुरुङका श्रीमान झलक गुरुङले आर्थिक सहयोगको याचना गरेका थिए ।
गुरुङको आर्थिक अवस्था कमजोर भएको र थप उपचारका लागि समस्या देखिएको जानकारी प्राप्त भएपछि रोजगारी लगायत विभिन्न कारणले कोरिया पुगेका इलामेली युवाहरुको साझा संस्था इलामेली समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला, कोषाध्यक्ष सुदिप फागो, मिलन बस्नेत,यामु राई लगायतको संयुक्त प्रयासमा एक अभियान मार्फत आर्थिक सहयोग संकलन गरि सहयोग पठाइएको अभियान संयोजक समाजका महासचिव बालकुमार राई बिकेनले जानकारी गराएका छन् ।
राईका अनुसार इलामेली लगायत कोरियावासी सहकर्मी तथा साथिहरु ४९ जना व्यक्तिबाट १२ लाख ५० हजार कोरियन वन अर्थात नेपाली १ लाख २७ हजार ७२ रुपैयाँ सहयोग संकलन भएको थियो ।
राजधानीस्थित काठमाडौ क्यानसर अस्पतालमा उपचाररत गुरुङलाई एक कार्यक्रमका बिच उक्त रकम पीडितलाई हस्तान्तरण गरी सकिएको संयोजक राईले बताएका छन्।
स्मरण रहोस् इलामेली समाज दक्षिण कोरियाले यस अघि पनि कोरियामै रहेका विभित्र पीडितहरु र नेपालमा समेत पीडित लगायत थुप्रै सामाजिक कामहरुमा आर्थिक सहयोग गर्दै आइरहेको छ ।