दक्षिण कोरीया । रोजगारी,शिक्षा,व्यापार लगायत विभिन्न पेशामा दक्षिण कोरियामा रहेका इलामेली युवाहरुको एक मात्र साझा सामाजिक संस्था इलामेली समाज दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण इलामेलीहरुको तथ्यांक संकलन गर्ने भएको छ ।
रोजगारीका लागि नेपाली युवाहरुको लागि आकर्षक गन्तव्यको रुपमा रहेको कोरियामा रोजगारी, व्यापार, शिक्षा,वैवाहिक सम्बन्ध लगायत विभिन्न पेशामा आवद्ध करिब ५० हजारको हाराहारीमा नेपालीहरु रहेको अनुमान गरिएको छ ।
विषेश गरि कोरियाको विभिन्न चाडपर्वमा गरिने कार्यक्रमहरुमा देखिएको उल्लेख्य उपस्थितिले पनि नेपालीहरु अत्यधिक रहेको अनुमान गर्न सकिन्छ । पछिल्लो समय कोरियामा रहेका विभिन्न क्षेत्रीय संघसंस्थाहरुले आफ्नो जिल्लाबाट कोरिया प्रवेश गरेका व्यक्तिहरुको वास्तविक संख्या पत्ता लगाउने उदेश्यले तथ्यांक संकलन गरिरहेका छन् ।
यसै क्रममा करिब ७ बर्ष अघि केही युवाहरुको अग्रसरतामा स्थापित इलामेली समाज दक्षिण कोरियाले पनि कोरियामा रहेका इलामेलीहरुको वास्तविक तथ्यांक बटुल्ने काम सुरुवात गरेको छ । इलामेलीहरुको एकता,सद्भाव र सहकार्य नै तथ्यांक बटुल्नुको मुख्य उदेश्य भएको समाजका सचिब उपेन्द्र निरौलाले जनाएका छन् । निरौलाका अनुसा, इलामेलीहरु कति संख्यामा कुन स्थानबाट र कहाँ कुन पेशामा आवद्ध छन् सबै विवरण संकलन गरिनेछ ।
प्रवासमा रहने नेपालीहरुको लागि परिवार पछि सबै भन्दा नजिकको आवस्यक व्यक्ति भनेको नै साथी वा सहकर्मी हुन् त्यसैले एक अर्कामा नजिक रहन वा संगठित हुन पाएको खण्डमा जो कोहिलाई भै परि आउने समस्याको समाधान निस्कन सक्छ । पछिल्लो समय कोरियामा रहेका नेपालीहरुलाई रोजगारदाता कम्पनी र सहकर्मीहरुबाट हुने विभिन्न किसिमका हिंसाबाट उत्पन्न तनावका कारण आत्महत्या र डिप्रेसनको सिकार बनिरहेको अवस्थामा यो विवरण संकलनको अभियानले केही राहत मिल्नसक्ने अनुमान गरिएको छ ।
व्यक्तिको नेपालको ठेगाना,सम्पर्क नम्बर र कोरियामा रहेको मोबाइल नम्बर समेतको जानकारी हुने भएकोले कसैलाई कुनै समस्या परे सहज रुपमा सम्पर्क हुनेछ र आवस्यक सहयोगको लागि समाजले सक्दो कोसिस गर्नेछ । त्यसैले कोरियामा रहेका सबै इलामेलीहरुले यो विवरणलाई भरेर आफ्ना चिनजानका सबैलाई जानकारी गराईदिनको लागि कोरियावासी सम्पूर्ण इलामेलीहरुलाई समाजले हार्दिक आव्हान गरेको छ ।
स्मरण रहोस्,समाजले कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछि इलाम नगरपालिका र सुर्योदय नगरपालिकाका अति विपन्न परिवारलाई केही समय अघि आवश्यक खाद्यान्न समेत उपलब्ध गराएको थियो भने कोरियामा विभिन्न कारणले पिडित इलामेली लगायत नेपालीहरु र नेपालमै रहेका दैवीप्रकोप पिडित,बिरामी लगायत थुप्रै सामाजिक कामहरुमा विभिन्न अभियान मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ ।


936 पटक हेरिएको 






