रामप्रसाद ढुंगेल । २१ माघ, अबुधाबी । झापाली समाज यूएईले माघ १९ गते शुक्रबार यूएईको राजधानी अबुधाबीमा नि:शुल्क स्वास्थ्य शिविरसहित वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
अबुधाबीको लाइफ केयर हस्पिटलको सहयोगमा सम्पन्न शिविरमा तीन सयभन्दा बढी नेपालीहरुले स्वास्थ्य परीक्षण गरेका छन् ।
संस्थामा आवद्ध सदस्यहरु बीच एकता, सहयोग र सहकार्य बढाउने उद्देश्यले बर्सेनी आयोजना भइरहेको यसपालिको वनभोजमा मिर्गौला रोगबाट पीडित झापाली पत्रकार माया पकवालका लागि करिब ३० हजार रुपैयाँ संकलन भएको छ ।
उक्त रकम नेपाल पत्रकार महासंघ यूएई शाखामार्फत पीडित पत्रकार पकवालसमक्ष हस्तान्तरण गरिने वनभोज ब्यबस्थापन समितिका संयोजक हिमाल अधिकारीले जानकारी दिएका छन् ।
समाजको क्षेत्रीय समिति अबुधाबी र युवा, खेलकुद तथा संस्कृति बिभागको अग्रसरतामा अबुधाबीको रमणीय खालिफा पार्कमा आयोजित वनभोजमा झापाली समाज आवद्ध र अन्य संघसंस्थाका गरि करिब ६ सय नेपाली तथा अन्य देशका नागरिकहरु समेत सहभागी थिए ।
यूएईका विभिन्न प्रान्तमा रहेका सदस्यहरुलाई एउटै थलोमा भेला गरी एकआपसमा घुलमिल तथा सम्बन्ध सुदृढीकरणका निम्ति फलदायी हुने विश्वासका साथ वनभोज कार्यक्रमको आयोजना गरिएको झापाली समाजका केन्द्रीय सचिव जगत लुइटेलले बताए ।
वनभोजमा साबियामा रहेको नाङ्लो रेस्टुरेन्टबाट स्वादिष्ट नेपाली परिकारको ब्यवस्था गरिएको थियो । परदेशी भूमिमा नेपाली स्वाद लिंदै पूर्ण सांगीतिक मनोरञ्जन प्राप्त भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।
वैदेशिक रोजगारीका क्रममा झापा जिल्लाबाट यूएई आएका तीन सय बढी आजीवन सदस्य आवद्ध झापाली समाज सामाजिक क्रियाकलापका हिसाबले यूएईकै ठूलो सामाजिक संस्था मध्येको एक हो ।
खेलकुदमय र संगीतमय वनभोज
वनभोज कार्यक्रमलाई रोचक तथा पूर्ण सहभागी मैत्री बनाउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिताहरुका साथमा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा खुला इन्ट्री प्रणालीबाट हाडिफोर म्युजिकल चेयर, भाले जुधाई , बेलुन फुटाई तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।
हाडिफोर प्रतियोगितामा दुबईका हेलेन राउत विजयी भएका छन् । त्यस्तै म्युजिकल चेयरको पुरस्कार सावित्रा शिवाकोटीले जितिन । यसैगरी निकै प्रतिस्पर्धात्मक रहेको बेलुन फुटाई प्रतियोगीतामा मिना तामाङ विजयी भइन ।
यस्तै भाले जुधाई प्रतियोगितामा जमल हुसैन विजयी बने । नृत्य तर्फको प्रथम पुरस्कार झरना राईले जितिन भने दोस्रो पुरस्कार विक्रम मगरले हात पारे यसैगरी मनोज र अंकिताको जोडीले तेस्रो पुरस्कर जिते ।
सान्त्वना पुरस्कार दीपा मगरले प्राप्त गरिन । समाजका विभिन्न क्षेत्रीय समितिहरुले प्रतियोगितामा विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
३ सय बढीको निःशुल्क स्वास्थ परीक्षण
झापाली समाजको वनभोजमा सहकार्य गर्दै लाईफकेयर अस्पताल अबुधाबीले वनभोज स्थलमै ३ सय बढीको नि: शुल्क स्वास्थ परिक्षण गरेको छ ।
लाईफलाईन अस्पताल मुसाफाका मार्केटिङ एक्ज्युकेटिभ रंजिना गुरुङको नेतृत्वको टोलिले वनभोजमा उपस्थित नेपालीहरुको निःशुल्क स्वास्थ परिक्षण गरेको थियो ।
प्रवासमा आफ्नै देशका दाजुभाई , दिदिबहिनीहरुको सेवा गर्न पाउँदा निकै खुसी लागेको रंजिनाले बताइन । उनले सबैलाई स्वास्थ जस्तो संवेदनशील विषयलाई हेल चक्राई गर्न नहुने बताउँदै सबैलाई व्यक्तिगत सरसफाई र स्वास्थमा सजग रहन सुझाव दिइन् ।
वनभोजको सफलताका लागि यूएई को ख्यातिप्राप्त एक्सचेञ्ज कम्पनी यूएई एक्सचेञ्जले आकर्षक पुरस्कारको ब्यबस्था गरेको थियो । त्यसरी नै नमस्ते किचन, नेपाली प्रवासी बचत तथा लगानी कोषले वनभोजमा प्रायोजकका रुपमा सहकार्य गरेको आयोजक समितिका संयोजक तथा झापाली समाज युएई, अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष हिमाल अधिकारीले जानकारी दिएका छन् ।
वनभोजको सफलताका लागि करिब तीन सय किलोमिटर लामो बस यात्रा गरेर फुजेराबाट काशिनाथ कार्किको नेतृत्वमा २५ जना, राकबाट खगेन्द्र बुढाथोकीको नेतृत्वमा ५० जना सहभागी थिए ।
त्यसरि अबुधाबिबाट उल्लेख्य उपस्थिति रहेको झापाली वनभोजमा दुबईबाट ६६ जना, सारजाबाट ३५ जना, अलएनबाट २८ जनाले सहभागिता जनाएको समाजका केन्द्रीय सदस्य सेशराज न्यौपानेले जानकारी दिएका छन् ।
वनभोजमा सहभागी झापाली समाज फुजेरा क्षेत्रीय समितिका अध्यक्ष काशीनाथ कार्कीले नि:शुल्क स्वास्थ्य शिविर र पत्रकार माया पकवाललाई आर्थिक राहत जुटाउन सफल यो वनभोजको सबल पक्ष रहेको र अन्य सामाजिक संस्थाहरुलाई पनि आफ्ना कार्यक्रमलाई समाज उपयोगी बनाउन सुझाव दिएका छन् ।