नेपाल धितोपत्र बोर्डको पछिल्लो व्यवस्था छ, सेयर आवेदन दिने हरेकलाई कम्तिमा १० कित्ता अनिवार्य दिनुपर्ने । शुरुमा केही आलोचना भए पनि यो नियम केही महिनायता कार्यान्वयनमा छ ।
गत १७ माघदेखि बुटवल पावर कम्पनीले एफपीओ (फर्दर पब्लिक अफरिङ) अर्थात् नयाँ सेयर निष्कासन गरेको छ ।
कम्पनीले ४० लाख ८१ हजार कित्ता सेयर बिक्री गर्दैछ । र, चार सय एक रुपैयाँ प्रिमियम दरसहित प्रतिकित्ता सेयर मूल्य पाँच सय एक रुपैयाँ तोकेको छ ।
उक्त कम्पनीको सेयरमा छिटोमा १९ माघ र ढिलोमा १५ फागुनसम्म बिक्री खुला हुनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल छ ।
कम्पनीको सेयरमा १० देखि २० हजार चार सय कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
न्यूनतम १० कित्ता उपलब्ध गराउनुपर्ने व्यवस्थाका कारण उक्त कम्पनीको सेयरमा आवेदन दिँदा ध्यान पुर्याउन जरुरी छ ।
पछिल्ला दिनमा एफपीओमा लगानीकर्ताहरुबाट परेको आवेदन संख्या हेरौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले २५ लाख कित्ता एफपीओ जारी गर्दा दुई लाख १७ हजार जनाको आवेदन आयो । प्रिमियर इन्स्योरेन्सको ६ लाख ५९ हजार कित्ता एफपीओमा एक लाख ३३ हजारले आवेदन दिए ।
यस्तै, नौ लाख ८३ हजार कित्ता एफपीओ जारी गरेको पोखरा फाइनान्समा ४९ हजारले आवेदन दिएका थिए ।
यस आधारमा औसतमा डेढ लाख जनाले एफपीओमा आवेदन दिने गरेको देखिन्छ ।
यदि बुटवल पावरमा डेढ लाखले मात्रै सेयर माग गरे भने प्रतिव्यक्ति ३० कित्ता सेयर पाउन मुस्किल देखिन्छ । धितोपत्र बोर्डको नियम पालना गर्दा १५ लाख कित्ता अनिवार्य छुट्याउनु पर्छ । त्यसपछि बाँकी हुन्छ, करिब २५ लाख ८० हजार कित्ता ।
एक सेयर बिक्री प्रबन्धकको भनाइमा यसअघिका उदाहरणहरु विश्लेषण गर्दा बाँकी रहने सेयर पनि सम्भव भएसम्म समानुपातिक रुपमा सबैलाई वितरण गर्नुपर्छ ।
उक्त कम्पनीको सेयरमा दुई लाखसम्म आवेदक निस्किए भने जनही २० कित्ता पाउने अवस्था बन्छ ।
यसअघिसम्म जति बढी रकमको आवेदन पर्यो, त्यति कम सेयर पर्ने सम्भावना रहन्थ्यो । अहिले भने जति बढी लगानीकर्ताले आवेदन दिए, त्यति कम सेयर पाइने सम्भावना हुन्छ ।
हुन त, धितोपत्र बोर्डले धेरैलाई धेरै कित्ता पर्ने वातावरण निर्माण गर्ने उद्देश्यले सेयर निष्कासनमा संस्थागत सहभागितामा रोक लगाएको छ । प्राकृतिक व्यक्तिहरुको सहभागिता कम र सबै सेयर बिक्री नभएमा मात्रै संस्थाहरुले बिक्री गर्न पाउने व्यवस्था छ ।
बुटवल पावरको एफपीओको कुरा गर्दा आवेदन दिँदा धेरै रकम नफसाउनु नै राम्रो हो । आवेदन दिने/नदिने निर्णय भने लगानीकर्तामै निर्भर रहन्छ । कम्पनीको दोस्रो बजारमा हाल ६ सय ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, क्रेडिट रेटिङ एजेन्सी ‘इक्रा नेपाल’ले उक्त कम्पनीको सेयरलाई ‘ग्रेड-थ्री’मा राखेको छ । यसको अर्थ बुटवल पावरको आधारभूत पक्ष औसत छ ।