
घरेलु तथा साना उद्योग विकास समिति नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेर घरेलु तथा साना उद्योग गठन आदेश २०२१ अनुसार गठन भई स्थापना भएको हो ।
२०४९ सालबाट यो समितिलाई देशका ४८ वटा जिल्लाहरुमा बिस्तार गरी उद्योग प्रर्वद्धन तथा उद्योग प्रशासन सम्बन्धी कार्यहरु गर्दै आएको छ । उद्योग दर्ता, खारेजी, नामसारी, ठाउँसारी, पुँजी वृद्धि, जस्ता प्रशासनिक कार्य लगायत बाणिज्य प्रशासन सम्बन्धी काम समेत गर्दै आएको घरेलु तथा साना उद्योग विकास समिति को कार्यालयले उद्यमशीलता विकास, सीप विकास तालिम तथा प्राविधिक परामर्शको कार्यहरुमा अमूल्य योगदान दिदै आएको छ । घरेलु तथा साना उद्योग विकास समिति गठन आदेश २०२१ बमोजिम गठित समिति मा ४८ जिल्ला तथा केन्द्रमा स्थायी तथा करार कर्मचारी समेत गरी करिव ४०० कर्मचारी कार्यरत छन् । यस समितिको उल्लेखनिय कार्य क्षेत्र तथा नतिजा भएतापनि नयाँ संरचना मा देश रुपान्तरण भइरहँदा यसको कार्यक्षेत्र र अस्तित्व धरापमा परेको छ । विगत लामो समयदेखि देशको उद्योग क्षेत्रमा टेवा पु¥याउँदै आएको घरेलु तथा साना उद्योग विकास समिति नयाँ स्थानीय संरचनामा समायोजन हुने क्रममा अन्योलमा परेको छ ।
उद्योग मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कुनै काम नभएको र अवको नयाँ संरचनामा यस समितिको काम नभएको अर्थ मा उद्योग मन्त्रालयले यस समितिलाई खारेजी प्रकृयामा अगाडि बढाएको बेला यस समितिको दीर्घकालीन प्रभाव र समितिको कर्मचारीको पहलमा हाल यस घरेलु तथा साना उद्योग विकास समिति गठन आदेश खारेजी भई हाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरि प्रदेश सरकार अन्तर्गत रहि साविक कै जिल्लाहरुमा कार्यालय रहि काम काज गर्ने भनी व्यवस्था भएको छ ।
नयाँ आ.व. २०७५÷०७६ लागेर २ महिना समय बितेर गईसक्दा पनि कार्यालयको नाम के रहने ? कहाँ कार्यालय रहेर कार्य गर्ने र बजेट तथा कार्यक्रम नआउँदा बार्षिक कार्यक्रमहरु तर्जुमा गर्न कठिनाई भएको र कार्यालयको दैनिक कामकाज गर्न समेत अन्यौल भएको छ । सेवाग्राहीलाई दिईने प्रमाणपत्र तथा पत्रहरुमा साविक बमोजिमकै कार्यालयको नाम लेखी कामकाज हुँदै आईरहेको छ तर घरेलु तथा साना उद्योग विकास समिति गठन आदेश खारेज भए सँगै उक्त कार्यालयको नाम प्रयोग गदौ भविस्यमा सेवाग्राहीलाई बाधा अवरोध हुन सक्ने कुरामा कुनै दुई मत देखिदैन । इलाम जिल्ला को सवालमा इलाम जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति २०४९ साल देखि बिस्तार भई मुख्य शाखा कार्यालयको रुपमा कार्य गर्दै आईरहेको छ । इलाम जिल्लामा २०४९ साल देखि स्थापना भई हालसम्म उद्योगको विकास र प्रवद्र्दनको क्षेत्रमा उल्लेखिनिय योगदान पु¥याउँदै आएकोमा हाल नयाँ राज्यको नयाँ संरचना र स्थानीय तहगत कार्यालय समायोजन को प्रकृयाको अन्यौलता मा इलाम जिल्ला घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय ले दैनिक कार्यालयको कामकाज मा धेरै असहजता भोग्नु परेको छ । हुनतः देशको यो आमुल परिवर्तन र रुपान्तरणको आवस्थामा धेरै कार्यालय तथा कर्मचारीहरु अन्यौलमा त परेका ने छन तापनि उद्योग को क्षेत्रमा कार्य गर्ने घरेलु उद्योग समिति स्थानीय तहमा समायोजन गर्न छुट्टै नीति नियम र कर्मचारीको आवश्यकता पर्ने भएको हुँदा हतारमा समायोजनको प्रक्रियामा लाग धेरै गाह्रो देखिन्छ । देशको आर्थिक उन्नतिको प्रमुख मेरुदण्डको रुपमा रहेको उद्योगको क्षेत्रलाई सुधार र विकास गर्न आवश्यक भूमिका खेल्ने घरेलु विकास समिति केवल एक कार्यालय मात्र नभएर लाखौ उद्यमीहरुको भविस्य तथा जिम्मेवारी बोकेको एक जिम्मेवार कार्यालय हो । यस कार्यालयमा साना साना लघु उद्यमदेखि लिएर ५ करोड पुँजी सम्म भएको साना उद्योगहरु ले दर्ता गरी अनुमति प्राप्त गरी देशलाई राजस्व संकलन मा सहयोग गर्दै औद्योगिक क्रान्ति गराउन लागि परिरहेको छ ।
घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाम को तथ्यांक हेर्दा घरेलु तथा साना उद्योग विकास कार्यक्रम, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम तथा भगत सर्वजित सिव विकास कार्यक्रम अन्तर्गत आ.व. ०४९÷५० देखि हालसम्म करिव ८ हजार युवा युवतीलाई धेरै प्रकारको सीप विकास तालिमहरु प्रदान गरी तिनीहरुमध्ये ६० प्रतिशतलाई रोजगार बनाईसकेको अवस्था छ । हरेक बर्ष जिल्लाका विभिन्न क्षेत्रका लघु तथा साना उद्यमीहरुलाई उद्योग व्यवस्थापन सम्बन्धी सल्लाह सुझाव र प्राविधिक परामर्श दिने कार्यहरु भईरहेको छ । भने उद्यमीहरुलाई उपयुक्त प्रविधि हस्तान्तरण गरी उद्यमीहरुलाई सहयोग गरिरहेको छ ।
इलाम एक पर्यटकीय जिल्ला भएको कारण यहाँ पर्यटन उद्योगहरुको प्रवद्धन गर्न अत्यावश्यक भएकोमा घरेलु समिति इलामले त्यो क्षेत्रमा टरिष्ट गाईड, होमस्टे तथा होटल व्यवस्थापन जस्ता सीप विकास तालिमहरु प्रदान गरेको छ ।
धेरै भन्दा धेरै कच्चापदार्थहरु पाईने यस इलाम जिल्लामा बिशेषत आठ ‘अ’ हरुको जिल्ला भनेर चिनिने भएको कारण ति कच्चापदार्थहरुमा आधारित उद्योग व्यावसायलाई बिशेष मान्यता दिईएको छ भने उद्योग व्यासाय गर्न जागरुक गराउने तथा उद्योग स्थापना गरी सञ्चालन गर्न सहजता दिलाउन उद्यमशीलता विकास तालिम जस्ता तालिमहरुले युवाहरुको उद्यमशील भावना विकासमा टेवा पु¥याउने कार्य यस कार्यालयले गर्दै आएको छ ।
कार्यालयको तथ्याङ्क हेर्दा जिल्लामा हरेक बर्ष उद्योग तथा बाणिज्य फर्म दर्ता प्रकृया दिनानुदिन बढदो प्रक्रियामा अगाडि बढेको देखिन्छ ।
कार्यालय स्थापना देखि हालसम्म इलाम जिल्लामा ३५०० भन्दा बढी उद्योग तथा ११०० भन्दा बढी बाणिज्य फर्म दर्ता भई सञ्चालनमा आएको छ ।
देशको आर्थिक तथा सामाजिक विकास गर्न सर्वप्रथम स्थानीय तहबाट नै त्यहाँ भएको श्रोत तथा साधनहरु अधिकतम प्रयोग र सम्भाव्य उद्यमको पहिचान गरी एक घर, एक उद्यम अभियान आडि बढाउन आवश्यक छ । त्यही क्षेत्रमा नेपाल सरकार उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तरगत नेपाल सरकारको एक अंगको रुपमा कार्यरत घरेलु तथा साना उद्योग विकास समिति लाई खारेजी हैन यसलाई अझ राम्रो र व्यवस्थित तरिकाले अगाडि बढाउन आजको आवश्यकता रहेको देखिन्छ । देशको नयाँ सरकार र नव सरोकारवाला निर्वाचित प्रतिनिधिहरुको यस क्षेत्रमा ध्यानाकर्षण जाओस ।


1695 पटक हेरिएको 








