निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो ।
हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो ।
उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका छन् । विसं २००३ मा काठमाडौँको आलापोटमा जन्मनुभएका धिमाल निधनअघिसम्म पनि नेपाली चलचित्र क्षेत्रको उन्ननयनमा चिन्तन गरिरहेका थिए ।
कात्तिक १६ गते शुक्रबार उनले राजधानीको उत्तरपूर्वी भेगका रमणीय स्थललाई समेटेर चलचित्र छायाङ्कान स्थल बनाउने विषयमा छलफल कार्यक्रम आयोजना गरेकाे प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले बताए ।
गोकर्णेश्वर महादेव मन्दिर, राष्ट्रिय शहीद स्मारक, तारेभीर, श्वेतवाराही, सुन्दरीजल, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी धाम, लोकतान्त्रिक शहीद उद्यान गागलफेदी, चिसापानी, गोल्सेभञ्ज्याङ, चौकीभञ्ज्याङ, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाङ्कन स्थल बनाउने निर्माता धिमालको सपना थियो ।
धिमालको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरमा प्रदेशसभा सदस्य फुयाँलले राष्ट्रिय झण्डा ओढाइ सम्मान प्रकट गरेका थिए । चलचित्र विकास बोर्ड, चलचित्र छायाँकार सङ्घलगायत संस्थाले पनि आ–आफ्ना झण्डा ओढाइ उहाँप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए ।
स्व धिमालका दुई छोरा र एक छोरी छन् । उनको अन्तिम इच्छा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलि हुने भएकाले त्यो पूरा गर्न लागिपर्ने प्रदेशसभा सदस्य फुयाँलले प्रतिबद्धता जनाए ।


441 पटक हेरिएको 









