
इलाम सदरमुकामस्थित इलाम नगरपालिका वडा नं.७ को हालको बसपार्क भएको ठाउँमा निर्माण हुने बहुतले मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हलको डिपिआर तयार भएको छ ।
करिब नौ महीना लगाएर डिपिआर तयार गरिएकोे भवन जमिनको सतहदेखि चार तले निर्माण हुने जनाइएको छ ।
भवनका ‘अन्डर ग्राउन्ड’ सतहमा सवारी पार्किङस्थल निर्माण गरिने छ । डिपिआर तयार गर्ने संस्था स्टेन्थ इन्जिनियरिङ कम्पनीका सुनिल लम्सालका अनुसार जमिनको सतहमा ४७ वटा सवारी पार्किङ गर्न सकिने गरी निर्माण छ भने त्यसमाथिको तलामा १३ सवारी एकै साथ पार्किङ गर्न सकिने गरि भवन निर्माण गरिने जनाइएको छ ।
यस्तै, भवनको जमिनमाथिको पहिलो तलामा १६ वटा सवारी पार्किङ गर्ने गरी निर्माण गरिने छ भने दोस्रो तला र तेस्रो तलामा सिनेमा हल निर्माण गरिने छ । जम्मा २३ करोड २५ लाख लागतमा निर्माण हुने अनुमान गरिएको भवन दुई वर्षमा सक्किने गरि निर्माण सुरु गरिने जनाइएको छ । देशकै नमूना पार्किङस्थलका रूपमा निर्माण गरिने यो भवन संघीय सरकारको योजनाअनुसार निर्माण गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए । प्रदेश नं.१ सरकारले इलाम नगरपालिकालाई नमूना सडकका रूपमा विकास गर्ने कार्यक्रम रहेकाले पार्किङ भवनको नाम समेत ‘मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हल’ भवन राखिएको बस्नेतको भनाइ छ ।
भवन निर्माणपछि २० जनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने छ भने इलाम बजारमा पार्किङस्थलको समस्या पनि हट्ने अनुमान गरिएको छ । बजार क्षेत्रभित्रै बन्ने यो पार्किङस्थल ग्रामीण तथा सहरी क्षेत्रबाट इलाम बजार पस्ने सवारीका लागि बढी उपयोगी हुने अनुमान गरिएको छ ।
ग्राउन्ड तहदेखि पाँच तलामा निर्माण गरिने यस भवनमा माथिल्ला तहमा आवतजावत गर्नका लागि ‘लिफ्ट’ को समेत व्यवस्था गर्ने योजना बनाइदै रहेको इलाम नगरपालिकाका इन्ञ्जिनियर दीपक गुरागाईंले जानकारी दिए ।
भवनभित्रै शौचालयको समेत रहने गरि निर्माण हुन लागेको यो भवनको सञ्चालन न्यूनतम लागत यसै भवनमा प्रदर्शन हुने चलचित्रबाटै उठ्ने अनुमान गरिएको छ ।