हवाई मार्गबाट नेपाल आउने विदेशी दैनिक दुई सय मात्र

नेपाल आउने विदेशी नागरिकको संख्या ह्वात्तै घट्यो

  सरलपाटी सम्वाददाता

 707 पटक हेरिएको

काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपाल आउने विदेशी नागरिकको संख्या ह्वात्तै घटेको छ। अध्यागमन विभागका अनुसार सोमबार १ सय ९३ जना विदेशी मात्र हवाई मार्गबाट नेपाल आएका थिए। नेपालीको संख्या भने २ हजार २० थियो।

त्यसअघि आइतबार २ सय ४४ जना मात्र विदेशी हवाई मार्गबाट नेपाल आएका थिए। नेपालीको संख्या २ हजार २ सय ६० थियो। कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले विदेशी नागरिकलाई सम्बन्धित देशबाट जारी भएको ‘हेल्थ सर्टिफिकेट’ अनिवार्य गरेको छ।

कोरोनाको बढी संक्रमण भएका विभिन्न ८ देशका नागरिकलाई भने ‘अनअराइभल भिसा’ दिन बन्द गरिसकेको छ। ती देशका नागरिकले नेपाल आउनै पर्ने अवस्था भए सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगमा हेल्थ सर्टिफिकेट पेश गरेर प्रोसेस अगाडि बढाउन सक्ने सरकारले व्यवस्था गरेको छ।

त्रिभुवन विमानस्थल प्रशासनले विदेशबाट आउने नागरिकमा कोरोनाको आशंका देखिए सिधै अस्पताल पठाउने गरेको छ। अस्पतालको परिक्षणमा सम्भावना देखिए उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरिन्छ।

हालसम्म नेपालमा एक जनामा मात्र कोरोना संक्रमण भेटिएको छ जो निको भइसकेका छन्। ती व्यक्ति चीनबाट फर्किएका नेपाली थिए। त्रिभुवन विमानस्थलले विदेशबाट आउने नेपालीलाई ‘होम क्वारेन्टाइन’ र विदेशी नागरिकलाई ‘सेल्फ क्वारेन्टाइन’मा बस्न सुझाव दिएको छ।

अध्यागमन विभागका अनुसार मार्च महिनाको सुरुको १४ दिनमा २४ हजार १ सय ५० जना विदेशी हवाई मार्गबाट नेपाल भित्रिएका छन्। यसमा अमेरिकीको संख्या २ हजार चार सय ७८ छ। चीनका एक हजार चार सय ४ जना नागरिक भित्रिएका छन्।

भारतबाट चार हजार २ सय ९४, दक्षिण कोरियाबाट २ सय २८, जापानबाट चार सय १५, जर्मनीबाट १ हजार ३ सय ४९ र स्पेनबाट २ सय ८३ जना त्यहाँका नागरिक हवाई मार्गबाट मार्च महिनाको सुरुको १४ दिनमा नेपाल भित्रिएको पाइएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नेपाल भित्रने पर्यटकको संख्या नियमितरुपमा घट्दो छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार