देश नव–निर्माणको युगमा छ : पूर्वप्रधानमन्त्री खनाल

कर्मचारी व्यवस्थापनले समस्या : पूर्वसभामुख नेम्वाङ

  सरलपाटी संवाददाता

 639 पटक हेरिएको

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले देश नव–निर्माणको युगमा प्रवेश गरेको बताएका छन् ।
सोमबार नेकपा इलामले आयोजना गरेको चाडपर्व विशेष चियापान समारोह पछि सञ्चारकर्मीसँग कुरा गर्दे खनालले समृद्ध नेपाल र सुखी नेपाली बनाउने आफू र आफ्नो पार्टीले देखेको सपना साकार गराउने बाटोमा सरकार अघि बढेको बताएका हुन् ।
विद्युत, खानेपानी, कृषि, पूर्वाधारलगायतका क्षेत्रलाई विषेश जोड दिएर नेकपाको सरकारले काम शुरू गरेको बताए । यो सरकारले गरेका कतिपय काम धेरै राम्रा भएका र कतिपय काममा सरकारलाई सचेत गराएर अघि बढ्न सहयोग गर्ने आफ्नो पनि जिम्मेवारी रहेको भन्दै नेता खनालले आउँदो मंसिर महिना भित्र पार्टीको तल्लो तहसम्म एकताका कमिटि बन्ने बताए । उनले स्थायी कमिटि बैठक र सचिवालयको बैठक चाँडै बसेर दुईपार्टी बीचको एकताको प्रक्रिया तल्लो तहसम्म टुङ्गो लगाउने बताए ।
सञ्चारकर्मीको अर्को एक जिज्ञासामा नेता खनालले अहिले सरकार राष्ट्रिय र बहुमतको सरकार भएकाले अब सर्वदलीय, सर्वपक्षीय सरकारको सम्भावना कम रहेको स्पष्ट पारे । नेपाली कांग्रेस प्रतिपक्षमै रहने र मधेशी दलले गरेको समर्थन फिर्ता नहुने भएपनि सरकारलाई फरक नपर्ने पनि उनको भनाइ थियो ।
त्यसै अवसरमा नेकपा संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अहिले कर्मचारी व्यवस्थापनको समस्याले जनताले स्थानीय तहबाट सेवा लिन दुःख पाएकोमा आफूहरू चिन्तित रहेको बताए ।
जनतालाई दुःख दिने आफ्नो पार्टीको धारणा नभपनि नयाँ संरचना र नयाँ परिपाटीमा कर्मचारी व्यवस्थापन गर्न निकै कठिनाइ भइरहेको नेम्वाङको भनाइ थियो । आफ्नै निर्वाचन क्षेत्र आइपुगेका नेता नेम्वाङले अहिले भेडेटार–रवि–राँके सडक, दमक– चिसापानी सडक कालोपत्रे, , चुरे क्षेत्रको मदन भण्डारी राजमार्ग, फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण जस्ता काम निरन्तर भइरहेकोमा आफू अत्यन्तै खुशी रहेको बताए । उनले लारूम्वा, चुकिनाम्बा हुँदै पाँचथरको शिलौटी सम्मको क्षेत्रलाई सरकारले किराँत धार्मिक स्थलका रुपमा विकास गर्न गुरू योजना तयार गर्नु जिल्ला सुनाउने खुशीयोग्य विषय भएको बताए ।
चियापान समारोहमा एक नम्बर प्रदेशको प्रदेशसभा सदस्यहरू रामबहादुर राना, धिरेन शर्मा, खिनु लङ्वा, काजीमान कागतेसहित जिल्लाभरका स्थानीय तहका जनप्रतिनिधिसहितको सहभागिता थियो । कार्यक्रममा सहभागीलाई नेकपा इलामका अध्यक्ष भक्त केसीले स्वागत गरेका थिए । चियापान कार्यक्रममा बोलाएकाहरु हलमा नअटाएपछि बाहिरै केही बेर बसेर फर्केका थिए । चियापान कार्यक्रम अब्यवस्थित देखिन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार