दश बुँदाबारे माधव नेपालको यस्तो आयो प्रतिक्रिया

  सरलपाटी सम्वाददाता

 682 पटक हेरिएको

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा आफ्नो अडान यथावत रहेको बताएका छन् ।

नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका २३ जना सांसद विचाराधीन मुद्धामा निवेदक रहेको भन्दै पुरानो अडानबाट दायाँबायाँ नगरिने बताए ।

नेता नेपालले भनेका छन्, ‘हिजो राति नेकपा ९एमाले०को आन्तरिक एकता सम्बन्धमा कार्यदलस्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ ।’

‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर फिर्ता लिएको जस्तो दोहोरो अर्थ लाग्ने अभिव्यक्ति दिएको भन्दै नेता नेपालले आपत्ति जनाएका छन् ।

सल्लाहकार थापाले फेसबुकमा लेखेका छन्, ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६ – २३ . १२३ मात्र, सर्वोच्चद्वारा न परमादेश न पुनःस्थापना ! मच्चियो मच्चियो । जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’

नेपाल समूहका नेता विजय पौडेलले पनि दश बुँदे सहमतिको विरोध गरेका छन् । आइतबार नेपाली रेडियो नेटवर्कसँगको अन्तार्वार्ताका क्रममा उनले दुई पटक संसद विघटन गरेर प्रतिगमत गर्ने कार्यलाई समर्थन गरेको भन्दै दश बुँदाको विरोध गरे । पौडेलले दश बुँदाले असन्तुष्ट समूहका मागलाई सम्बोधन गर्न नसकेको बताए ।

नेपालको तर्फबाट कार्यदलमा रहेका सदस्य रघुजी पन्तले दश बुँदाको सहमतिमा हस्ताक्षर नगरेको आफूले सूचना पाएको समेत नेता पौडेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार