काठमाडौं । अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्वडाक्टर ल्यारी नास्सारले २ सय वर्षभन्दा बढी जेल सजायँ भोग्ने भएका छन् । सोमबार थप ४० देखि १२५ वर्षको जेल सजायँ सुनाइएपछि नास्सारले समग्रमा २ सय वर्ष बढी जेलमा बिताउनुपर्ने भएको हो ।
यसअघि गत डिसेम्बरमा अदालतले बालयौन दुराचारको आरोपमा ६० वर्ष र मिसिगन स्टेट विश्वविद्यालयका विद्यार्थीहरुमाथि गरेको यौन उत्पीडनको मुद्दामा १७५ वर्ष जेल सजायँ सुनाएको थियो ।
उनीमाथि लागेका आरोपको सोमबार अन्तिम सुनुवाईको फैसला गर्दै न्यायाधीश जेनिस कनिङ्घमले सुनुवाइको अन्त्य भए पनि नास्सारले दिएको भावनात्मक पीडाको अन्त्य नभएको बताएकी बीबीसीले लेखेको छ ।
नास्सारविरुद्ध दुई सय भन्दा बढी महिलाले अदालतमा बयान दिएका छन् । सोमबार सुनवाईको क्रममा नास्सारले आफूलाई पछुतो लागेको बताएका थिए ।