इलाम । इलामको सन्दकपुर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा वृद्धि गर्न ३० लाख रुपैयाँको कोष स्थापना गरेको छ । गाउँपालिकामा शिक्षक र शैक्षिक सामग्री अभाव भएमा कोषको रकम विद्यालयलाई दिइने र सो रकमको व्याजबाट विद्यालयले चलाउन पाउने निर्णय गरेको हो ।
गाउँपालिकामा शैक्षिक समाग्री, शिक्षक अभाव भएपछि बर्षेनी कोषको रकम बढाउने शर्तमा उक्त कोष स्थापना गरिएको गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले जानकारी दिए । ‘यो रकम अहिले ३० लाखको बनाइएको छ । अब अर्को वर्ष एक करोडको बनाउने लक्ष्य छ’खनालले भने, कुनै विद्यालयले शिक्षकको अभाव भएमा गाउँपालिकामा निवेदन गर्नुपर्छ त्यसपछि विद्यालयको अनुगमनपछि विद्यालयलाई आवश्यक रकम दिइन्छ ।’
उनका अनुसार सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई वडाध्यक्षको रोहवरमा दिने व्यवस्था छ । कोषको रकमलाई विद्यालयले आफै लगानी गर्नुपर्ने र व्याजबाट आएको आम्दानीलाई चलाउने व्यवस्था गरेको प्रवक्ता खनालले जानकारी दिए ।


767 पटक हेरिएको 






