
जिल्लामाको उर्जा उत्पादनमा क्षमता थप्दै सात दशमलव आठ मेगावाटको सुपरमाई जलविद्युत् आयोजना परीक्षण गर्ने तयारीमा लागेको छ । इलाम नगरपालिका–५ बरबोटे र वडा–२ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको आयोजनाले यही असोज भित्रै परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।
२०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएपनि दुईवर्ष अगावै आयोजना सम्पन्न हुने चरणमा रहेको सुपरमाई जलविद्युत आयोजनाका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिए । आयोजनाको निर्माणको ठेक्का भने भूगोल इन्फास्ट्रक्चर कम्पनीले लिएको छ ।
विद्युत उत्पादनका लागि तीन हजार दुई सय ३५ मिटर लामो र दुई दशमलव तीन मिटर ब्यास भएको हेडरेस पाइप मार्फत माईखोलाको पानी फर्काइएको छ । तीन सय मिटर लामो पेनस्टक पाइपबाट ल्याइएको पानीले विद्युतगृहमा जडित दुई वटा ३९ सय किलोवाट क्षमताको होरिजेन्टल एक्सिस भएको फ्रान्सिस टर्वाइनहरु सञ्चालन हुने र यहाँ जडान गरिएका दुईवटा वटा ‘थ्री फेज ए.सी सिनक्रोनस’ जेनेरेटर मार्फत ७८ सय किलोवाट विद्युत उत्पादन गरिने अध्यक्ष कार्कीले बताए । आयोजनावाट बार्षिक सरदर४७ .३९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन जनाइएको छ । आयोजना सम्पन्न भएपछि यसले उत्पादन गरेको उर्जा शक्ति काबेली कोरिडोरमा जोडिने बताइएको छ ।
आयोजनाका लागि सानिमा बैक लिमिटेड, सिद्घार्थ बैक लिमिटेड, सेञ्चुरी कमर्सियल बैक लिमिटेड र ज्योति विकास बैक लिमिटेडको एक अर्व दश करोड र सञ्चालकहरूबाट ४० करोड गरि एक अर्व ५० करोडको लगानीमा रहेको छ ।
इलामकै सिद्धिखोलामा पनि सिद्धिखोला जलविद्युत आयोजनाको काम शुरू भएको छ । रोङ गाउँपालिकाको रम्याङ फेदीमा बाँध बाँधेर सलकफुर फेदीमा पावर हाउस निर्माण गर्ने योजना रहेको निर्माणकर्ता मैनाचूली निर्माण सेवा प्रालिले जनाएको छ । कूल १ अर्व ८३ करोड लगानी रहने आयोजनाकालागि एक अर्व २७ करोड रूपैयाँ प्राइम कमर्सियल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले आधा–आधा लगानी गर्ने सम्झौता भइसकेको लगानीकर्ता मदन अधिकारीले जानकारी दिए । ‘एक्सेस रोड बनिसक्यो, साइड क्याम्प’ बन्दैछ, अधिकारीले भने–दशैं लगतै टरवाइन पाइपको एल्सी खोलिने छ र तिहार पछिदेखि आयोजनाको थप काम अघि बढ्ने छ ।
लगानीकर्ताहरू ५० देखि एक सय जनाले भित्रका एक लाख देखि ३ करोड रूपैयाँ सम्म लगानी गरेको अधिकारीको भनाइ छ । ०७७ साउन मसान्त सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट दश मेगावाट विद्युत उत्पादन हुने र पावर हाउसबाट १६ किलोमिटर ट्रान्समिसन लाइन भएर फिक्कलस्थित विद्युत प्राधिकरण सव– स्टेशनमा जडान गरिने बताइएको छ ।
सिद्धिखोला सँगै जिल्लामा अन्य आयोजनाहरू पनि धमाधम निर्माण भइरहेका छन् । इलामकै सुम्बेकमा ९.१ मेगावाटको सगरमाथा जलविद्युत् आयोजना निर्माण सुरु हुन लाग्दैछ । काम सुरु गर्न अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ । पुवाखोलामा ४ मेगावाटको पुवाखोला–२, माइबेनीमा ९.२ मेगावाटका आयोजना पनि काम सुरु गर्ने तयारीमा छन् । जिल्लामा सानिमा माई, पञ्चकन्या, हिमाल दोलखा, पुवाखोला, पुवाखोला–१ र जोगमाई आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । क्यासकेडसहितका चार आयोजनाले दुई वर्षयतामात्रै उत्पादन सुरु गरेका थिए ।

फोटो: माइखोलास्थित बरबोटे र सुम्बेकबीच दुधाङ बेंसीमा परिक्षणकालागि अन्तिम चरणमा रहेको सुपरमाई जलविद्युत आयोजना ।
तस्विर सौजन्य: मिलन मुखिया ।


2933 पटक हेरिएको 






