राज्यले नै गर्यो बालविकासका शिक्षकहरुको शोषण

बालविकासका शिक्षकहरुलाई स्थानीय सरकार प्रमुखहरुबाट पनि उपेक्षा

  सरलपाटी सम्वाददाता

 739 पटक हेरिएको


शिक्षा ऐन नौं संशोधनले बालविकास केन्द्रलाई विद्यालय संरचनामा गाभेपनि बालविकासका शिक्षकहरुलाई अत्यन्त न्यून मात्र तलबमा काम गर्न बाध्य पारिएको छ ।
न्यून सेवा सुविधामा काम गर्दै आएका बालविकासका शिक्षकहरुले सेवा सुविधाको माग गरेका छन् ।
सदरमुकाममा शिक्षकहरुको दुई दिने भेलाले राज्यले आफूहरुलाई विभेद र श्रम शोषण गरेको भन्दै सेवा सुविधा वृद्धि गर्न माग गरेका हुन् । बालविकास केन्द्रहरुलाई विद्यालय संरचनामा गाभिएपछि बालविकासका शिक्षकहरुले पनि अन्य शिक्षक सो सरह विद्यालयमा काम गर्दै आएका छन् । सरकारले प्रावि तहका शिक्षकहरुलाई न्यूनतम् २२ हजार एक सय ७० तलब, दुई हजार महङ्गी भत्ता र १० हजार पोशाक भत्ता उपलब्ध गराउँदै आएको छ । तर, एउटै विद्यालयमा शिक्षक गर्ने बालविकासका शिक्षकहरुलाई भने मासिक छ हजार रुपैंयाँ मात्र दिंदै आएको छ । श्रमिकलाई दिने ज्यालाभन्दा कम तलब दिएको भन्दै उनीहरुले सेवासुविधा बढाउन माग गरेका हुन् ।
२० वर्षदेखि बालविकासमा कार्यरत शिक्षकहरुको भविष्य अन्यौलमा रहेको छ । सरकारको व्यवहारले आफूहरुलाई शिक्षक भन्नसमेत लाजमर्दो अवस्था रहेको गोर्खे आधारभूत विद्यालयमा रहेको बालविकास केन्द्रकी शिक्षक तुला राई बताउँछिन् । बालविकासका शिक्षकहरुको सरकार स्वयम्ले श्रम शोषण गरिरहेको उनले बताइन् । ‘शिक्षक सो सरह सेवा सुविधा दिइनु पर्छ ’ उनले भनिन्, ‘हाम्रो श्रम, योग्यता, क्षमता र लगनशीलताको सरकारले मूल्याकंन गर्नु पर्छ ।’
सरकारी कर्मचारीहरु मध्ये सबैभन्दा शोषित कर्मचारी बालविकासका शिक्षकहरु भइरहेकाले सरकारले उचित व्यवस्था गर्नुपर्ने अर्की शिक्षक धनकुमारी तामाङ्गको छ । ‘हाम्रो श्रम शोषण र अपमान भएको छ हामी शिक्षक संघ संगठनहरुसँग समन्वय गरेर आन्दोलनमा जाने तयारी गरिरहेका छौं ।’ उनले भनिन् । केन्द्र सरकारले बालविकास केन्द्रका शिक्षकहरुको सेवा सुविधा नतोकेसम्म स्थानीय सरकारले भएपनि सेवा सुविधा उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ । जिल्लामा चार सय ८१ बालविकास केन्द्रहरु रहेका छन् । त्यत्तिकै संख्यामा बालविकासका शिक्षकहरु पनि कार्यरत रहेका छन् ।
बालविकासका शिक्षकहरुको जिल्ला संगठन
बालविकास केन्द्रका शिक्षकहरुको सोमबार र मंगलबार भएको सदरमुकामको भेलाले धनकुमारी तामाङ्गको अध्यक्षतामा बालविकास शिक्षक संगठन पनि गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कोपिला चौलागाईं, सचिवमा तुला राई, सहसचिवमा उमा राई र कोषाध्यक्षमा इन्द्रकला थापा रहेका छन् । यसरीनै सदस्यहरुमा प्रविना मगर र रञ्जु राई रहेका छन् । सबै स्थानीय तहहरुबाट प्रतिनिधित्व हुने गरेर अन्य सदस्यहरु छनौट गरिने बताइएको छ ।
बालविकासका शिक्षकहरुलाई स्थानीय सरकार प्रमुखहरुबाट पनि उपेक्षा
न्यून सेवा सुविधा लिएर बालबालिका जस्तो संवेदनशील क्षेत्रको जिम्मेवारी लिइरहेका बालविकास केन्द्रका शिक्षकहरुले आफ्ना समस्या र गुनासो सुनाउन जिल्लाका १० तहकै प्रमुखहरुलाई मंगलबार सदरमुकामको भेलामा निम्तो गरेका थिए । तर, स्थानीय तहका मेयर र अध्यक्षहरुको प्राथमिकता उनीहरुमा परेन । एकै जना प्रमुख पनि उनीहरुको कार्यक्रममा उपस्थित भएनन् । सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष शोभा पराजुली मात्र उपस्थित भइन् । अरु कुनै पनि तहका प्रमुख उपप्रमुख उपस्थित भएनन् । विभिन्न व्यस्तता र कारण देखाएर उनीहरु उपस्थित भएनन् ।
स्थानीय सरकारका प्रमुखहरुसँग ठूलो अपेक्षा लिएर निम्तो गरेका उनीहरुले कोही उपस्थित नभएपछि चित्त दुःखाए । ‘केन्द्र सरकारले त हाम्रो उपेक्षा गरिरहेकै छ, हामीले भोट दिएर जिताएका स्थानीय सरकारका प्रमुखहरुले पनि उपेक्षा गर्दा हामीलाई चित्त दुःखेको छ ।’ संगठनकी सचिव तुला राईले दुःखेसो पोखिन्, ‘एक हप्ताअघिनै पत्राचार गरेका थियौं कोही आउनु भएन, शिक्षा कार्यालयबाट समेत आउनु भएन ।’ भेलामा जिल्लाका एक ८० शिक्षकहरु भेला भएका थिए ।
हाल मुलुकभर कूल ३६ हजार ५६८ बालविकास केन्द्र छन् । यसमध्ये समुदायमा ३० हजार ४४८ र निजी क्षेत्रमा ६ हजार १३० केन्द्र सञ्चालित छन् । सामुदायिक विकास केन्द्रमा ३६ हजार ५६८ सहजकर्ता शिक्षक कार्यरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार