इलाम । लापोन्मुक लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्नका लागि इलामको रोङ गाउँपालिकाले २० बर्षे रणनीतिक कार्य योजना निर्माण गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्य योजना बनाएको हो ।
गाउँपालिकाका अध्यक्ष शमसेर राईले योजनाभित्र लेप्चाको रहनसहन, बसोबासलाई प्राथमिकतालाई मुख्य आधार बनाएको जानकारी दिनुभयो ।‘लेप्चा भनेको हाम्रो संस्कृति हो । यसका बारेमा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सकियो भने पर्यटकीय दृष्टिले समेत हामीलाई माथि उठ्न सहज हुन्छ ।’ उहाँले शमसेर राईका अनुसार लेप्चा समुदायको संस्कृति र लिपी बचाउनका लागि आफूहरुले योजना निर्माण गरेको जानकारी दिनुभयो ।
गाउँपालिकाले रणनीतिक कार्ययोजनामा आगामी ५ बर्षभित्रमा लेप्चा समुदायको परम्परागत सामग्री राख्नका लागि संग्रालय निर्माण गरिने भएको छ । रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राईका अनुसार एक बर्षभित्रमा लेप्चाको पुरातात्विक महत्वको बारेमा अनुसन्धान गर्ने र बाँकी ४ बर्षमा भौतिक निर्माण सक्ने योजना रहेको छ । ‘लेप्चाको सामग्री मात्रै राखेर संग्रालय बनाउने काम त सहज छ तर हामी त्यो भन्दा व्यापक तरिकाले निर्माण गर्ने छौँ’ राईले भन्नुभयो, ‘संग्रालय बनाउँदा उनीहरुको परम्परा नमर्ने र कस्तो बस्तु प्रयोग गर्दा सहज हुन्छ त्यसका बारेमा बिज्ञ टोलीसित छलफल गरेर हामी संग्रालय निर्माणमा लाग्ने छौं’
२० बर्षे योजनामा बार्षिक कार्यतालिका निर्माण गर्ने र प्रदेश सरकारसित पनि आर्थिक क्षेत्रमा सहयोग माग्ने राईको भनाई छ । उहाँका अनुसार गाउँपालिकाले लेप्चा समुदायका खाद्यन्नको प्रबद्र्धन गर्नका लागि ‘सामुदायिक होमस्टे’ समेत निर्माण गर्ने भएको छ । गाउँपालिका अध्यक्षले भन्नुभयो, ‘लेप्चा सामुदायका खाद्यन्नका माध्यमबाट पर्यटन प्रबद्र्धनका लागि उनीहरुका आफ्नै हातबाट बनाएका खाद्यान्न मात्रै समेटिएको होमस्टे निर्माण गर्ने योजना छ ।’
जनगणना २०६८ का अनुसार लाप्चा समुदायको कूल जनसंख्या तीन हजार चार सय ४५ रहेको छ । उनीहरूमध्ये तीन हजार दुई सय ६४ जना ग्रामीण अनि एक सय ८१ जना शहरी क्षेत्रमा बस्छन् ।