प्रदेशका अर्थमन्त्री मौसमकाे चुलाचुलीमा रहरलाग्दो बंगुर फर्म (फाेटाे सहित)


इलाम । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले इलामको चुलाचुलीमा रहरलाग्दो रुपमा बंगुर पालन गरिरहेका छन् । मन्त्री मासम सहित परिवारको लगानीमा चलिरहेको फर्मकोआम्दानीबाट आफ्नो घर र पकेट खर्च चल्ने गरेको बताएका छन् । बंगुरपालनका लागि खोलिएको मिक्लाजुङ कृषि कम्पनी मन्त्री आङ्बोकी श्रीमती कुमारी लावतीको नाममा दर्ता छ ।
मन्त्री आङ्बोले आफू मन्त्री हुनुपूर्व बंगुर फर्मकै आम्दानीले घर चलाउने गरेको बताए । फर्ममा महिनाको सयदेखि एक सय २० वटासम्म पाठा उत्पादन हुन्छन् । ती पाठा ६ लाखसम्ममा बिक्ने हुँदा आफूहरूलाई महिनाको एकदेखि डेढ लाख नाफा हुने मन्त्री आङ्बोले बताए ।
‘बंगुर फर्मको आम्दानीले घर खर्च र मेरो व्यक्तिगत खर्चमा सघाउ पुगेको छ,’ उनले भने, ‘अहिले पनि सरकारी तलब सुविधाले पुग्दैन, त्यही आम्दानीबाट पकेट खर्च चलाउँछु ।’ राजनीतिक कार्यकर्ता कुनै न कुनै व्यवसायसँग जोडिनुपर्छ भन्ने मान्यताले बंगुर फर्म खोलेको उनले बताए । ‘हरेक राजनीतिक कार्यकर्ता आयस्रोतसँग जोडिनुपर्छ, अनि मात्र पारदर्शी हुन्छ,’ उनले भने, ‘नेता–कार्यकर्ताको आम्दानीको स्रोत देखिँदैन, तर राम्रौ लवाइखवाई हुन्छ, त्यो पैसा आउने बाटो त हुनुपर्या नि ।’


मन्त्री आङ्बोको परिवारले चलाएको बंगुर फर्म नाकाबन्दीको बेला झन्डै डुबेको थियो । त्यतिवेला पाठा नबिकेर खर्च बढेको मन्त्री आङ्बोले बताए । उनले भने, ‘त्यतिवेला ऋणपान गरेर बचाइयो, पार्टीको जिम्मेवारीका कारण पनि मेरो राम्रै सम्बन्ध थियो, कसैलाई लगानी गरिदेऊ, ऋण देऊ भन्दा पाइन्थ्यो, त्यसै गरेर भरथेग गरियो ।’
आर्थिक मामिलामन्त्री आङ्बोले आफ्नो फर्मको मासु मुख्यमन्त्री शेरधन राईसहित अन्य मन्त्रीलाई पनि खुवाएको बताए । बंगुर फर्मको रेखदेखमा निकै ध्यान दिने उनी मन्त्री भएपछि भने दुईपटक मात्रै आइपुगेको बताए । ‘मन्त्री भएपछि कामको निकै चाप हुन्छ, तर पनि दुईपटक त पुगिसकेँ, अब एकपटक मुख्यमन्त्रीलाई नै ल्याएर देखाउनु छ ।’
आर्थिक मामिलामन्त्री आङ्बोले कार्यकारी पदमा बसे पनि निजी व्यवसायमा राज्य स्रोतको दुरुपयोग हुन नदिने बताए । ‘सत्तामा हुँदा सरकारी स्रोतको दुरुपयोग हुन सक्ने पनि खतरा हुन्छ,’ उनले भने, ‘त्यसमा म सचेत छु, व्यावसायिक फर्मको नाममा सरकारी सम्पत्तिको दुरुपयोग गर्दिनँ ।’ मन्त्री आङ्बोले बंगुरपालन फर्मलाई नमुनाकै रूपमा सञ्चालन गर्ने बताए ।
पाँच वर्षअघि दुई करोड ५० लाख लगानीमा बंगुर फर्म खोलिएको थियो । भूकम्प र नाकाबन्दीमा पाठा नबिक्दा लगानी थप्नुपरेको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले बताए । बंगुर पालनमा अहिलेसम्ममा पाँच करोड रुपैयाँ लगानी भइसहेको बताइएको छ । अहिले फर्ममा बंगुरसँगै बँदेल पनि पालिएको छ । दुर्गन्ध नआउने गरी खोर बनाइएको छ । चुनमा खुट्टा डुबाएर मात्र फर्ममा पस्न पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार